सोमबार , असार ७, २०७८

गोकर्णेश्वरका दुई केन्द्रबाट भेरोसेल खोप दिन शुरु

गोकर्णेश्वरका दुई केन्द्रबाट भेरोसेल खोप दिन शुरु

२५ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका दुई केन्द्रमा भेरोसेल खोप ६० देखि ६४ वर्षसम्मका वृद्धलाई दिन शुरु गरिएको छ । नगरपालिकाको वडा नं–४ स्थित सहयोगी माध्यमिक विद्यालय र वडा नं–६ स्थित चामुण्डा माध्यमिक विद्यालय परिसरमा ६० देखि ६४ वर्षसम्मकालाई खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए।

नगरपालिकामा हालसम्म पाँच हजार ४९० जना कोरोना संक्रमित भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि तीन हजार १४२ जना संक्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ जना संक्रमित भएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दोस्रो लहरले संक्रमित भएकामध्ये दुई हजार २६९ जना घर फर्केका छन् । ८२८ जना अहिले पनि सक्रिय संक्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ४५ जना नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ ।

गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो । कोरोनाबाट ७३ नगरवासीको निधन भएको छ । हालसम्म एण्टिजेन परीक्षण दुई हजार २० र पिसीआर विधिबाट चार ७०३ को परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ । यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ ।

अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एण्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ । चीन सरकारबाट अनुदानमा प्राप्त भेरोसील खोप आजदेखि देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई लगाइँदै छ । हिमाली क्षेत्रमा भने १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय