आइतबार , असार ६, २०७८

अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा स्वास्थ्य सुरक्षाका सामग्री

अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा स्वास्थ्य सुरक्षाका सामग्री

२६ जेठ, गण्डकी । कास्कीको अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा–४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । संस्थाले मास्क, भाइजर, अक्सिमिटर, पीपीई, स्यानिटाइजर, थर्मलगन, ग्लोब्स, साबुन, स्प्रेबोटल र जनचेतनामूलक ब्यानरसहित रु ६२ हजार बराबरका सामग्री प्रदान गरेको हो ।

अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष भरतजङ्ग कुँवरले हेल्पलाइन स्थापनाले सर्वसाधारण लाभान्वित बनेको भन्दै संक्रमण देखिए पनि उच्च मनोबल राखेमा कोरोनालाई परास्त गर्न सकिने धारणा राखे । नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको बताउँदै पछिल्लो समय स्वास्थ्यअन्तर्गत कोभिड नियन्त्रणमा क्रियाशील बनेको जानकारी गराए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

हेल्पलाइन संयोजक विराज सुवेदीले हेल्पलाइन सञ्चालनमा अन्नपूर्णका जनता तथा विभिन्न संघसंस्थाको सहयोग प्राप्त भइरहेको बताउँदै संस्थाका गतिविधिमा स्थानीयवासीको उत्साहपूर्ण साथ र सहयोग रहेको उल्लेख गरे ।

हेल्पलाइन सहसंयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना संक्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नुका साथै संक्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण

वालिङ– कोभिड–१९ को संक्रमणदर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकालाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजन र ताइवान एलजेएम बुद्धिष्ट सोसाइटीको सहयोगमा नगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्री गरी रु १० लाखभन्दा बढीको सहयोग प्राप्त भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

कन्सन्ट्रेटर, पीपीई सेट, एन्टिजेन किट, फेसशिल्ड, अक्सिजन सेट, सर्जिकल मास्क, पञ्जासँगै समाजसेवी डा पवमान सुवेदीको व्यक्तिगत योगदानसहित रु १० लाख बराबरको स्वास्थ्य सामग्री नगरपालिकालाई मंगलबार हस्तान्तरण गरेको हो ।

“महामारीका रूपमा फैलिएको कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासँगै विभिन्न संघसंस्था तथा व्यक्तिले आफूखुशी सहयोग जुटाउनुभएको छ”, नगरप्रमुख खाँणले भने, “महामारी नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराइदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको छ ।”

विभिन्न संघसंस्था तथा व्यक्तिहरुले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र नगद सहयोग गरिरहेका नगरप्रमुख खाँणले बताए । दाताहरुले सहयोग गरेको प्रयोजनका आधारमा रकम खर्च गर्दै आएको बताउँदै नगरप्रमुख खाँणले भने, “यो महामारीका समयमा विभिन्न संघसंस्था तथा व्यक्तिगतरूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने, नगद सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गर्दछौँ ।”

नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेशन सेन्टरमा बिरामीलाई निःशुल्क उपचार, खाना तथा खाजाको व्यवस्थासमेत मिलाएको छ । त्यस्तै नपाले दुई स्वास्थ्यकर्मीको टोलीलाई औषधिसहित परीक्षणका लागि गाउँगाउँमा खटाएको छ । आवश्यकता हेरी गाउँमै पुगेर पनि एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय