मंगलबार , असार १, २०७८

निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण

निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण

२६ जेठ, बीरगञ्ज । पर्सामा विगत दुई महिनादेखि प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी भइरहेको छ । कोरोना संक्रमण र निषेधाज्ञा (लकडाउन) को समयमा प्रहरीकै मिलेमतोमा पर्साको इनर्वा, भिस्वा जस्ता नाकाबाट हार्डवेयरका सामान, कपडा तथा नेपालबाट मदिरा, गिटी बालुवा तस्करी निर्वाध रुपमा हुने गरेको हो ।

राती राती चुरे दोहोन गरी गिटी बालुवा विहारतर्फ निकासी गर्ने र भारतबाट कपडा, भान्साका सामान तथा हार्डवेयरका सामानहरु भन्सार छली गरी नेपाल भित्र्याउने गरिएको हो । त्यसका लागि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख वेलबहादुर पाण्डेले सशस्त्र प्रहरीसँग सेटिङ गर्ने गरेको र साथै आफ्ना यूनिटहरुलाई पनि सहयोग गर्न निर्देशन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यी नाकाबाट तस्करी भएको सूचना प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहसम्म पुगेको भएपनि उनले यसविषयमा खासै चासो दिएका छैनन् ।किनकी उनी आफै सरुवा हुने बेला भएको र प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीकै पाण्डेलाई संरक्षण रहेकोले खास वास्ता नगरेको स्रोतको दावी छ ।

एसपी पाण्डेले सई सुवर्ण राणालाई घुमुवाको रुपमा खटाएका छन् । सई राणालाई उनले क्राइम टोली र टाइगर टोली दुवैको ईन्चार्ज बनाएका छन् । राणाको कमाण्डमा अहिले बीरगञ्जमा हबलदारको नेतृत्वमा ४ वटा छुट्टाछुट्टै टोली बनाएर जिल्लाभर घुमाइने गरेको छ । उनीहरुको काम सूचना संकलन र अपराध नियन्त्रण भन्दा पनि तस्करहरुसँग सेटिङ लाइन मिलाउनु र उठतीपुठतीमा संलग्न रहनु नै मुख्य रहेको बताइएको छ ।

राजकुमार महतो, दीपक साह, तमन्ना मंसुरी, निरु यादवले इनर्वा प्रहरी चौकीको सेटिङमा भन्सार पछाडिबाट तस्करी चलाइरहेको जानकारी प्रदेश प्रहरी कार्यालयसम्म पुगेको छ । हुण्डीको अवैध कारोबार पनि यो नाकाबाट हुने गरेको छ । त्यस्तै छपकैया नाकाबाट मुख्तार मियाँ, मदन यादव अर्थात रुन्चे मदनले प्रख्यात र मुन्ना मंसुरील छोकडा, मटर, हार्डवेयर, सटिङ सुटिङका कपडा र प्रतिबन्धित औषधीको तस्करी पनि सो नाकाबाट भैरहेको छ ।

तस्करीको भाषामा यसलाई नुनदेखि सुनसम्मको तस्करी भन्ने गरिन्छ । यी तस्करहरुले प्रत्येकले एक लाखदेखि माथि काम अनुसारको लाइन बाड्ने गरेका छन् । त्यस्तै बीरगंजको भिस्वाबाट पनि ठूलो तस्करी चलेको छ । औषधिजन्य लागुऔषधको तस्करी बीरगन्जबाटै भैरहेको छ । खासगरी अस्पताल र औषधि व्यवस्था विभागको सिफारिसमा मात्रै आउने औषधिजन्य लागुऔषधमा नेपाल प्रहरीले आँखा चिम्लिएको छ ।

मोटो रकम बुझाएर केन्द्रीय अनुसन्धान व्यूरोबाट पर्सा गएका एसपी पाण्डेले त्यहाँका व्यापारीहरुलाई भन्सार छली गर्न सहयोग गरिरहेको बताइएको छ । लकडाउनको बेलामा भन्सारमा कर्मचारीहरु नहुने तथा सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको सेटिङ मिलाएर उनले त्यहाँका व्यापारीहरुलाई करोडौं रुपैयाँ बराबरको सामान भन्सार पास गर्न लगाउने गरेको स्रोतको दावी छ ।

लकडाउनमा प्रहरीकै स्कटिङमा वीरगंजका बिभिन्न नाकाबाट रातिको समयमा तस्करी गराउन एसपी आफै खटिन थालेका छन् । उनले बीरगन्ज नाका नजिक राखिने सबै चेकप्वाइण्ट हटाएर प्रहरीको गाडी स्कटिङका लागि पठाउने गरेको स्रोतको दावी छ । ‘बीरगन्जका व्यापारीले ल्याउने सामानका लागि एसपी साहेब आफै खटिनुहुन्छ’, स्रोतले भन्यो ।

बीरगन्जका नामूद हुण्डीबर्ता अमित कुमार गुप्ताको समूहलाई उनले संरक्षण गरिरहेका छन् । गुप्ताको समूहले करोडौं करोड रुपैयाँको हुण्डी कारोबार गर्ने गरेका छन् । पर्सामा प्रहरीकै मिलेमतोमा धागो पनि तस्करी हुने गरेको छ । पर्साकै व्यापारीहरुले ल्याउने धागोमा प्रहरीको संरक्षण रहेको छ । अर्कोतर्फ लडकडाउको समयमा बीरगन्जका व्यापारीहरुले मार्वल, टायल लगायतका गाडीलाई निर्वाध छाडेवपात पर्सा प्रहरीलाई मासिक रुपमा रकम बुझाउने गरेको स्रोतको दावी छ ।

त्यस्तै सशस्त्रको बनजारी बीओपीको सेटिङमा तस्करी चलेको छ । हरेक दिन तीन ट्याक्टर मटर दिनेश रौनियारले भारत तस्करी गराईरहेका छन् । धेरै जसो सामानहरु ट्याक्टरबाट ल्याउने र लाने गरिएको छ । सशस्त्र प्रहरीको बनजारीस्थित बीओपीबाट खटिएका घुमुवाहरूले तस्करसँग रकम लिई ठूलो मात्रामा तस्करी संचालन गर्दै आईरहेका छन् ।

ती घुमुवाहरूलाई नेपाल प्रहरीका पर्सा प्रमुखको समेत साथ रहेकोले सशस्त्र प्रहरीका एसपीले उनीहरुलाई परिचालन गरेको स्रोतको दावी छ । अहिले भिस्वा नाकाबाट केराउ, मरिच, कपडा, हाडवेयरका सामानदेखि इलेक्ट्रोनिक सामानको ठूलो तस्करी भैरहेको छ । देख्दा सीमा बन्द भनिए पनि अहिले यो नाका तस्कर, र तस्करीको अखडा बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय