बेनी बजार कटानको उच्च जोखिममा
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १३:३३:२०
३ असार, म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मंगलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए ।
“तटबन्ध भत्काएर बजारतर्फ कटान शुरु गरेको छ”, उनले भने, “तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।” रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माण हुँदै आएको छ ।
तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो । बेनी–७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । तीसभन्दा बढी सरकारी कार्यालयका भवन छन् । गत शनिबार कुरीलाखर्क, महारानी थानदेखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मङ्गलाघाटमा रहेको वन डिभिजन, भू–संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका सातवटा भवनसँगै नर्सरीमा क्षति पु¥याएको थियो ।
जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कलाई बगरमा परिणत गरेको छ । बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएर बगर बनेको स्थानीयवासी रुद्र सुवेदीले बताए । माथिल्लो क्षेत्रमा पहिरो जाँदा मुख्य नदीमा बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको हो ।
पहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी बजारमा खानेपानी आपुर्ति बन्द भएको छ । बुधबार साँझदेखि म्याग्दीमा विद्युत्समेत अवरुद्ध भएको छ । बेनीदेखि ग्रामीण बस्ती, छिमेकी जिल्ला बागलुङ, पर्वत, मुस्ताङ र प्रदेश राजधानी पोखरा जोड्ने सडक अवरुद्ध भएको छ ।
बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रविधि प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट पर्खालको प्रविधि अपनाएको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गरिँदै आएको थियो ।
परियोजनाका इञ्जीनियर कृष्ण विश्वकर्माले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावियन पर्खाल लगाउने कम्पोजिट वालको प्रविधि सफल भएको बताए । “कम्पोजिट प्रविधिको पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन”, उनले भने, “आगामी वर्षको योजनामा पनि कम्पोजिट पर्खाल बनाउने डिजाइनका लागि प्रस्ताव गरेका छौँ ।”
यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा १०० मिटरभन्दा बढी कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । डिपिआरमा आरसिसी, मेसिनरी र ग्यावियन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ ।
खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको छ । मङ्गलाघाटतर्फ आरसिसी पर्खालमाथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावियन पर्खाल लगाइएको छ । कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन । अस्थायी प्रकृतिको ग्यावियन र पक्की आरसिसी पर्खाल दुवैले बाढी थेग्न नसकेपछि विकल्पमा कम्पोजिट पर्खाललाई प्राथमिकता दिइएको परियोजनाले जनाएको छ ।
एक सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो
केही दिनयताको निरन्तरको वर्षापछि म्याग्दीका विभिन्न ठाउँमा बाढी, पहिरो र कटानबाट प्रभावित १०० भन्दा बढी परिवार विस्थापित भएका छन् । नदी कटान, पहिरो र बाढीले घर भत्काएका, बगाएका र जोखिममा परेका जिल्लाका ८३ घर परिवारका ३४० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको विवरणमा समावेश नभएकासहित जिल्लाभर विस्थापित हुनेको परिवार सङ्ख्या १०० भन्दा बढी छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जिल्लाका सबै स्थानीय तह मनसुनजन्य प्रकोपबाट प्रभावित भएको र सडक यातायात ठप्प बनेको बताए । प्रहरीका अनुसार बेनी नगरपालिकाको बगरफाँट, सिंगा तातोपानी र घतानमा ४६ घरका १७९ जना विस्थापित भएका छन् ।
मङ्गला गाउँपालिकाको हाँडेभिरको एक घरका पाँच, मालिका गाउँपालिकाको वडा नं १, ४ र ६ को २० घरका ८५, अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का १० घरको ४२ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं २ र ४ को आठ घरका ३० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
यसैगरी धवलागिरि गाउँपालिकाको खोरियामा सडकबाट आएको बाढीले १४ घर विस्थापित भएका गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–२ मा नौ घर बाढी पहिरोले बगाएको र २० घर परिवार विस्थापित भएको वडासदस्य समबहादुर विकले बताए ।
यसैगरी रघुगङ्गा–८ का वडाध्यक्ष गमान छन्त्यालले चौरखानी गाउँका ३५ घरपरिवार विस्थापित भएको र घ्यासीखर्कमा रहेको स्वास्थ्य चौकी रघुगङ्गा नदीको कटानको जोखिममा परेको बताए।
भौगोलिक विकटताका सार्थ सडक र सञ्चार अवरुद्ध भएकाले खोरिया, रुम र कुइनेमङ्गलेमा प्रहरी पुगिसकेको छैन । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी जोखिमयुक्त बस्तीका मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न खटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार