कांग्रेसलाई लाग्यो महाधिवेशनः देउवामा बढ्यो सकस
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार १९:१७:१७
७ असार, काठमाडौं । नेपाली कांग्रेसले बाध्यतावश नै भएपनि चौधौं महाधिवेशन गर्ने भएपछि नेतृत्व हत्याउन रस्साकस्सी भएको छ । त्यसमा पनि संस्थापन पक्षकै मारामारीले अबको प्रतिस्पर्धा रोचक र पेचिलो हुने देखिएको छ ।
भदौ १६ – १९ गतेसम्मका लागि महाधिवेशन मिति तय भएलगत्तै पार्टी सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । उमेर चार बीसे वयमा पुुग्न लागेका देउवा अर्काे चार वर्षका लागि सभापति बन्न तात्तिएका छन् । यस प्रयोजनका लागि उनले देशैभरिका आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई निवासमै बोलाएर सहयोगको याचना गर्न थालेका छन् ।
विगतमा सबैको साथ र समर्थन पाएका देउवा अहिले भने चेपुवामा छन् । उनकै सहयोद्धा नै अहिले बगावत गर्न उद्यत् भएको अवस्था छ ।उपसभापतिसमेत रहेका मधेसका प्रभावशाली नेता बिमलेन्द्र निधि देउवाका लागि भारी चुुनौतीको पहाड बनेका छन् । गएको महाधिवेशनमा आफूले देउवालाई निशर्त सहयोग गरेको र चौधौं महाधिवेशनमा देउवाले नै आफूलाई उम्मेदवार बनाउने वचन दिएको भन्दै चुनावी मैदानमा ओर्लिने उद्घोष गरेका छन् ।
उता, देउवा क्याम्पमै रहेका वयोबृद्ध नेता गोपालमान श्रेष्ठले समेत सभापतिमा उम्मेदवार बन्ने बताएका छन् । श्रेष्ठको उम्मेदवारीको चर्चा केवल बार्गेनिङ भएको धेरैलाई थाहा छ । तर निधिको अवस्था भने श्रेष्ठको जस्तो होइन । निधिको मधेश संगठनमा प्रभाव राम्रै छ । संस्थापन इतर पक्ष भने यतिबेला देउवा क्याम्पकै रमिता हेर्न व्यस्त छ । यद्यपि यो पक्षमा पनि आधा दर्जन बढी नेता सभापतिका आकांक्षी छन् । उनीहरुको छलफल पनि चलिरहेको छ । तर देउवा पक्षमा जस्तो अहिले नै मुखर भएर कोही मैदानमा ओर्लिएका छैनन् ।
बूढेसकालको आशक्ति
देउवा नेपाली कांग्रेसका सभापति मात्र होइनन्, बयोबृद्ध नेता समेत हुन् । झण्डै चार बीसको वयमा रहेका देउवाको सत्तालिप्साको चर्चा विगतदेखि नै चर्चित छ । अहिले पनि प्रतिपक्षी बेञ्चमा बसेपनि देउवालाई केपी ओलीको भाइ एमालेको भूमिकामा प्रस्तुुत भएको आरोप लागेकै छ । उनले यो उमेरमा पदका लागि यति धेरै आशक्ति देखाएकोमा उनकै सहकर्मीहरु चिढिएका छन् । त्यसैको एउटा प्रकरण हो निधिको विद्रोह । देउवा पदका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् भन्ने धेरैवटा दृष्टान्त छन् ।
बहुदल आएपछि सधैं शक्तिमा रहेका देउवा दुुई पटक त पार्टी सभापति नै भइसके । प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेस दुबै पार्टीको सभापति भइसके । चार चारपटक त प्रधानमन्त्री नै भइसके । यो अवधिमा देउवाले आफ्नो कौशल र क्षमता प्रदर्शन गरिसकेका छन् । त्यसैले अब उनले आराम गरेर पार्टीको अभिभावक बने राम्रो । तर मृत्युशैयामा नपुगुञ्जेल सत्तामा टाँसिने नेपाली राजनीतिको गज्जबको प्रवृत्ति छ । देउवा त्यसबाट पृथक हुने त कुरै भएन ।
निधिका तीन विकल्प
निधिले पार्टी भित्र वृहत्तर सहमति बने आफू बाधक नबन्ने प्रष्ट पारेका छन् । उनले सहमतिमा सभापति चयन भए आफू सहमत रहने बताउँदै आएका छन् । त्यसका लागि उनले तीन विकल्प दिएका छन् । पहिलो – अहिले सभापतिमा दाबी गर्ने सातजना नेताहरु एकैथलोमा बसेर छलफल गर्दा जसका नाममा सहमति जुट्छ उसैलाई बनाउँ । यसले कांग्रेस भित्रको एकतामा बल पुग्ने र कम्युनिष्टलाई बलियो झापड ख्वाउन सकिने उनको तर्क छ ।
यस्तै दोस्रो विकल्पमा निधिले राखेको प्रस्ताव हो– १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तीनै जना नेताहरुले मैदान छाड्नुुपर्छ । साथै, बाँकी चारजनालाई सहमतिमा पदको भागबण्डा गर्दा एकढिक्का भएको सन्देश समेत प्रवाहित हुनेछ । र, तेस्रो विकल्पमा निधिले राखेको प्रस्ताव यस्तो छ – आकाँक्षी चारजना दोस्रो पुस्ताका नेताहरु बसेर सहमति गर्ने । यी तीनवटै विकल्पमा जान आफू तयार रहेको उनको भनाई रहेको छ ।
संस्थापन इतरमा पनि भाँडभैलो
देउवा पक्षमा मात्र होइन, संस्थापन इतर पक्षमा पनि सभापतिका आकाँक्षीहरुको लुछाचुँडी उस्तै छ । डा. शशांक कोइराला र डा. शेखर कोइरालाका आफ्नै तर्क छन् । शेखर त सभापतिको उम्मेदवार बन्ने नाममा देश दौडाहामा निस्किसकेका हुुन् । उनले आफू एकपटकका लागि मात्रै सभापतिमा दाबी गर्ने उद्घोष नै गरेका छन् । साथै, उनले प्रधानमन्त्री पदमा आफ्नो चाहना नरहेको समेत प्रष्ट पारेका छन् ।
शशांकले पनि सभापतिमा आफूले मात्रै देउवालाई हराउन सक्ने तर्क गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्नो पक्षमा कसैको नाममा सहमति नजुटे आफू मैदानमा ओर्लने दाउमा रहेका छन् । प्रकाशमान सिंह र डा. रामशरण महतले पनि सभापतिमा उठ्ने चाहना गरेको देखिन्छ ।
सिटौला अन्योलमा
गत महाधिवेशनमा उम्मेदवार रहेका कृष्णप्रसाद सिटौलाले अन्तिम अवस्थामा देउवालाई साथ दिए । त्यसैले पौडेलले पराजय भोग्नु परेको थियो । तर गएको आम निर्वाचनमा सिटौला र देउवाबीच धेरै विषयमा मनमुुटाव भयो । त्यसैले सिटौला देउवासँग टाढिएका थिए । तर पछिल्लो अवस्थामा भने फेरि उनको हिमचिम देउवासँगै बढेको देखिन्छ । निधि टाढिएसँगै देउवा पनि सिटौलालाई साथ लिएर अगाडि बढ्न चाहन्छन् ।
यस प्रयोजनका लागि देउवा र सिटौलाबीच पटक पटक संवाद भएको छ । तर आफैं उम्मेदवार बन्ने कि देउवालाई सघाउने भन्नेमा उनी प्रष्ट भइसकेका छैनन । देउवाले राम्रै प्याकेजमा सहमति गरे सघाउने मनस्थितिमा छन् । त्यसका लागि उनले महाधिवेशन अगावै कार्यवाहक सभापतिको चाहना गरेका छन् । उक्त प्रस्ताव घुमाउरो पाराले सिटौलाले राखिसकेका छन् । तर देउवा भने यसबारे प्रष्ट दृष्टिकोण बनाउन सकिरहेका छैनन् । सिटौला कदाचित देउवासँग मिल्न गए भने गगन थापा र प्रदीप पौडेलले भने साथ नदिने बताइसकेका छन् । त्यसैले पनि उनी अन्योलमै रहेका छन् ।
निधिको आक्रोश
देउवालाई हरेक अवस्थामा साथ र सहयोग गरेका निधि अब भने आफ्नै बाटो लाग्ने भएका छन् । नेपाल विद्यार्थी संघदेखि नै देउवाका उत्तराधिकारीका रुपमा आएका निधिलाई देउवाले विस्तारै साथ नदिने संकेत दुई वर्ष अघिबाटै दिइसकेका थिए । निधि भन्दा डा. शशांकलाई साथ लिएर अगाडि बढ्ने देउवा रणनीति देखिएपछि आक्रोश बढेको थियो ।
अहिले त आफ्नो विकल्पमा सिटौलालाई बोक्न थालेको उनले देखेका छन् । साथै, हिजो देउवाले केही निकट नेताहरुसँग गरेको छलफलमा आफूले निधिलाई सभापतिको लागि कहिल्यै वचन नदिएको भन्दै कसैको इशारामा ( भारत ) यस्तो हर्कत गरेकोसम्म भन्न भ्याए । देउवाको यो भनाईले निधि थप आक्रोशित बनेका छन् । त्यसैले जस्तोसुकै मूल्य चुकाउनु परेपनि यसपाला सहमति नजुटेको अवस्थामा सभापतिमा लड्ने उनको अठोट देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार