२० श्रावण २०७८, बुधबार
राज्य संरचना

संघीयता : सोच्नै पर्ने तीतामीठा वास्तविकता

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार १७:४३


हाल संघीय राज्य संरचना एकदमै विवादमा परेको छ । अधिकांश सचेत वा पठित नागरिकहरू संघीयता बारेमा नकारात्मक वा विरोधी टिप्पणी गरिरहेका छन् । उनीहरूको तर्कमा आधार र यथार्थ छ । विवेकबाट होइन आवेगको आधारमा लागु भएको संघीय राज्य संरचनालाई जाँच्न प्रस्तुत तथ्यमाथि ध्यान दिनु उचित सम्झेर यो विवरण तयार पारिएको हो ।

विश्वमा संविधानसभा निर्वाचन गराउने १७ औँ मुलुकमा नेपाल सूचीकृत र संघात्मक राज्य प्रणाली अपनाउने २९ औँ मुलुक भयो । सबै संघीयतामा लोकतन्त्र हुँदैन र सबै लोकतन्त्रमा संघीयता हुँदैन । संघीयता सबैतिर सफल भएको छैन– चेकोस्लोभाकिया, सोसलिस्ट रिपब्लिक अफ युगोस्लाभिया, युगाण्डा, क्यामरून एकात्मक राज्य व्यवस्थामा फर्किए । सोभियत संघ, युगोस्लाभिया, बोलिभिया, नाइजेरियामा संघीयता सफल भएको होइन ।

विभिन्नताका बीच अभिन्नतामा बाँधिएको नेपाली समाज । हिमाली हुन् वा मधेसी, ब्राम्हण हुन् वा क्षेत्री, मगर, दलित, राई–लिम्बू वा तामाङ,–गुरूङ् एकअर्कालाई पारिवारिक रुपको साइनो लगाउने, भेट हुँदा खाए–नखाएको सोध्ने, छिमेकमा आगो र पानी मागेर काम चलाएर बसेका हामी नेपाली । साल–नालदेखि ब्रम्हनालसम्म गाँसिएको अन्तर्जातीय भाईचारा सम्बन्ध, सामाजिक सद्भाव र राष्ट्रिय एकता मौलिक र विशिष्ट छ; आकृति र संस्कृति फरक छ, प्रकृति एकै छ । संघीयताले यसलाई मलजल नगर्ने भयो, ग्यारेन्टी !

नेपाली संरचना र आगमन 

तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये १४ जिल्लामात्र एउटा जातको प्रमुखता देखिन्छ । क्षेत्रीको नौ जिल्ला, मगर, थारु, तामाङ्, नेवार र गुरुङकाे एक–एक जिल्लामा बहुमत रहेको छ । क्षेत्री २१ जिल्लामा, बाहुन १० जिल्लामा, नेवार ३, लिम्बू ३, राई ६, गुरुङ् ४, मगर तथा तामाङ् ७—७, थारु ४, यादव ५ जिल्लामा प्रमुख जातिको रुपमा रहेका छन् । (तथ्याङ्क साभार : प्रा. भीमप्रसाद सुवेदी) ।

हामी सबै नेपाली कहिँ न कहिँबाट ढिलो–चाँडो यहाँ आएर बसोबास गरेका हौँ । मानवशास्त्रीहरू भन्छन्, मगर इशापूर्व २३०० मा, आर्यहरू इसापूर्व १५०० मा, सन्थाल दोस्रो शताब्दीमा, दनुवार चौथो शताब्दीमा, तामाङ् छैठौ शताब्दीमा, दुसाद सातौँ शताब्दीमा, किराँत तथा मुसहर १३ औँ शताब्दीमा, शेर्पा सन् १४४० मा, मुसलमान सत्रौँ शताब्दीमा, थकाली १६८८ मा, थामी सत्रौँ शताब्दीमा, मारवाडी १८९४ मा, (तथ्याङ्क साभार : सौरभ) वर्तमान नेपालमा बसोबास गरेका हुन् । नेपाली काँग्रेसको त्रिवेणी (नवलपरासी) महासमिति बैठक ०६८ ले नेपाल एकीकरण हुँदा अस्तित्वमा भएका सबै नेपाली जातिहरूलाई आदिवासी परिभाषित गर्यो ।

संघीयता अधिकारका आधारमा होइन कर्तब्यका आधारमा हुँदामात्र सुखद हुनसक्छ । कर्तब्य भन्नाले, संघीय संरचनाका तीन मूख्य पूर्वशर्त क. अन्तरप्रदेश द्वन्द्व वा वैमनस्यता आउन नदिने बलियो संयन्त्र, ख. सबल केन्द्र र अधिकतम विकेन्द्रीकरण, र ग. राष्ट्रिय एकताको स्पष्ट आधार बनाउनमा जोड ।

भारतले स्वतन्त्रता (सन् १९४७) सँगसँगै संघीय संरचना अपनाए पनि अझै काम टुङ्गिसकेको छैन । १९५७ मा असमबाट नागाल्याण्ड, १९६० मा बम्बै राज्यबाट महाराष्ट्र र गुजरात, १९६६ मा पञ्जावबाट हरियाणा, १९७२ मा असमबाटै अरुणाचल, मेघालय र मिजोरम, २००० मा मध्यप्रदेशबाट छत्तीसगढ, उत्तरप्रदेशबाट उत्तराञ्चल र बिहारबाट झारखण्ड राज्य बने । सबभन्दा पछिल्लो राज्य दक्षिणको तेलाङ्गना । ‘गोर्खा’ राज्यको माग र आन्दोलन चालु ।


वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?