Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

कविता: ‘बा फर बाकस’

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १८:२७


हेमन्त गिरी, जापान

‘बा फर बाकस’
हामीलाई लाग्थ्यो
मुगलानमा पैसाको बोट हुन्छ !
हिंड्दा हिंड्दैं बाटोमा सुन भेटिन्छ !!

बा छुट्टीमा आउँदा,
उनको बाकस अक्सर आधा हुँदा
हामीले नमज्जा मान्थ्यौं !

हामी जान्दैन्थ्यौं-
बाको बाकस हजार ठाउँमा
चुहिंदै आएको हुन्छ बाटोभरी…
अलिकति साहुको खातामा
अलिकति आफन्तको हातमा !
अलिकति सपनाको शहरमा

अनि

अलिकति सरकारको घरमा !!

कानेखुशी गर्थ्यौं-
कहाँ लुकाए बाले पैसा ?
कता दबाए सुन ?
किन ल्याएनन खेलौना बाले ?
किन ल्याएनन मिठाई ?

किन प्रत्येक पल्ट
आधा बाकस लिएर आउँछन यी ??

हामी भन्न मात्र सक्दैनथ्यौं-
यस्ता बा त बरु नआएकै जाती !!
नआए हुन्थ्यो भनेका बा
हिंजो फेरि आए !

बाकस पनि भरिएरै आयो !
फरक यत्ति हो-
यसपाली बा
बाकस भित्र आए !!

हामी केटाकेटीलाई के थाहा हुन्छ र
कुन बाकस भित्र के राखिन्छ भन्ने !
हामीलाई त यत्ति थाहा हुन्छ
बाकस भित्र खेलौना र मिठाई मात्र राखिन्छन !!

अब थाहा लाग्यो-
रहस्यका पोकाहरु लुकाई
आश्चर्यका पोकाहरु फुकाउने
दु:खका झिटीझाम्टी पिंधमा राखी
सुखका मिठाईहरु सिरानमा देखाउने

‘सकस’ को ‘स’ लाई
छाती भित्र बन्द गरेर
अग्रमोर्चामा आफू बसेपछि
बाहरु ‘बाकस’ बन्दा रहेछन !

‘पेन्डोराको बाकस’ झैं
प्रायः बन्द हुँदा रहेछन बाहरु !
जब खुल्छन… सकिंदा रहेछन !!

हेमन्त गिरीको फेसबुकबाट साभार…………

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?