२० श्रावण २०७८, बुधबार

सिरहामा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व संकलन

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार ११:३३


४ साउन, लहान । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व संकलन गरेको हो ।

रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजश्व संकलन गर्न नसके पनि अरु महिनामा बढी राजस्व संकलन भएको छ ।

सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख साहले बताए । कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिए ।

यस्तै यातायात व्यवस्था कार्यालय लहानले आव २०७७/०७८ मा रु। ४३ करोड ७८ लाख १५८ राजस्व संकलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व संकलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिए ।

संकलन भएको राजस्वमध्ये रु एक करोड ७० लाख ३३ हजार ५७४ सङ्घीय सरकारको खातामा र रु ४२ करोड आठ लाख ३९ हजार ५८४ प्रदेश सरकारको खातामा जमा गरिएको कार्यालय प्रमुख भट्टराईले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?