२० श्रावण २०७८, बुधबार
प्रचण्ड रक्स
राजनीति

सरकार सञ्चालनमा सर्वदलीय संयन्त्र बनाउन प्रचण्डको दौडधुप

प्रकाशित मिति :  ५ श्रावण २०७८, मंगलवार २२:४३


५ साउन, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्वाभाविक दौडधुप शुरु भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बर्हिगमन र शेरबहादुर देउवाको सत्तारोहणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त हुने गरेका छन् ।

प्रचण्डले मंगलबार बिहानदेखि दिनभर जसो नै नेताहरु भेटघाट गर्ने र आफ्ना एजेण्डाहरु कार्यान्वयन गर्नमा जोड दिइरहेका छन् । प्रचण्डले मंगलबार बिहान प्रधानमन्त्री देउवासँग झन्डै एक घण्टा छलफल गरेका थिए ।

त्यसअघि उनले एमाले वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका थिए । अध्यक्ष यादवसँग भने उनले नेता नेपाल निवास कोटश्वरमा छलफल गरेका थिए ।

बिहान नेपाल निवास पुगेका प्रचण्ड त्यहाँबाट सिधै वालुवाटार गएका थिए । माओवादी अध्यक्ष प्रचण्डले यसरी दौडधुप गर्नुका पछाडि मूख्य कारण भनेको राज्य सञ्चालनमा आफ्नो पहुँच स्थापित गर्नु हो ।

उनले केपी ओलीको नेतृत्वमा सरकार हुँदा पनि सर्वदलीय संयन्त्रको प्रस्ताव गरेका थिए । तर ओलीले त्यसलाई ठाडै अस्वीकार गरेपछि प्रचण्ड चिसिए । अहिले प्रधानमन्त्री देउवालाई यही प्रस्ताव राखिरहेका छन् । उनले आफ्नै नेतृत्वमा सर्वदलीय संयन्त्रको प्रस्ताव गरिरहेको स्रोतको दावी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटस्थहरूका अनुसार उनले गठबन्धनका नेताहरूसँग सर्वदलीय संयन्त्रको प्रस्ताव गरहेका हुन् । साथै देउवा नेतृत्वको सरकार छिटोभन्दा छिटो पूर्ण होस् भन्ने पनि चाहिरहेका छन् ।

मंगलबारको छलफलमा मात्र होइन यसअघिका पटक–पटकका भेटवार्ताहरूमा पनि प्रचण्ड र नेता नेपालबीच अबको राजनीतिक रूपरेखाका विषयमा छलफलहरु भएका थिए । एमाले अध्यक्ष केपी ओलीले ‘कुनै पनि हालतमा ’गद्दार’ माधव नेपाललाई पार्टीभित्र स्थान नरहेको’ सार्वजनिक टिप्पणी गरिरहेका बेला स्वयं नेताका लागि पनि यो विषय त्यत्तिकै मत्वपूर्ण हुने भएकाले नेपाललाई पनि अटाउने गरी सर्वदलीय संयन्त्रको प्रस्ताव अघि सारिएको स्रोतको दावी छ ।

देउवाको नेतृत्वमा सरकार बनिसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सञ्चालन तथा कार्यका लागि प्राथमिकता निर्धारण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको खाँचो देखिरहेका भन्दै यसअघि ओली अस्वीकार गरेको विषयमा प्रचण्डले किन जोड गरिरहेका छन् भन्ने प्रश्न कांग्रेस वृत्तमा पनि उठेको छ ।

गठबन्धनको सरकार भएका हुनाले प्रधानमन्त्रीले मात्र क्याबिनेट मन्त्रीहरूको भार थेग्न नसक्ने र कतिपय महत्वपूर्ण कामहरु हुन नसक्ने भन्दै यस्तो संयन्त्रको बारेमा उनले छलफल गरेको स्रोतको दावी भएपनि प्रचण्ड आफै राज्यसंयन्त्रमाथि हावी हुन चाहिरहेका कारण उच्चस्तीय रानीतिक संयन्त्रको कुरा उठाएको आँकलन गर्न थालिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected]epalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?