नेपाली कम्युनिष्टहरुको आगामी रणनीति र कांग्रेसको नियति
इन्द्र रिजाल
साउन ८, २०७८ शुक्रबार २३:२४:१८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सुरक्षा तैनाथी बढाउने र झलनाथ खनालको औषधीको खर्च व्यहोर्ने समाचारले देउवाको चर्को आलोचना भईरहेको छ ।
नागरिकता ऐन संशोधन विधेयकलाई लिएर प्रम देउवालाई आलोचनाको भूमरीमा पार्ने अर्को तानावाना बुनिंदैछ । खोप चोरी हुन थालेको र खोपमा अनियमिता हुन थालेका समाचारहरु बाहिर आउन थालेका छन् । एमसीसी संसदमा प्रस्तुत हुना साथ प्रम देउवालाई देशद्रोहीको जस्तो गरी आलोचना हुने कुराको पूर्व सलवगाहट अनुभव हुन थालेको छ ।
सत्ता आरोहणको १५ दिनभित्रै बामवृत्तबाट प्रम देउवामाथि लगाउन थालिएका आरोपहरु:-
१. सार्वजनिक सवारीमा २८ प्रतिशत भाडा वृद्धि
२. गच्छेदारको धरौटी प्रकरण
३. विश्वासको मत दिने सांसदलाई घर
४. प्रचण्डलाई सुरुक्षाकर्मी थप
५. झलनाथ खनाललाई उपचार खर्च
६. बामदेव पत्नीलाई जापान भ्रमण
भविष्यमा बामपन्थी वृत्तबाट यो लिष्ट बढाउँदै चुनावका बेला चरमोकर्षमा पुर्याइने छाँटकाँट देखिदैछ । जशको पगरी आफूले गुथ्ने अनि अपजश जति प्रम देउवाको निधारमा दल्ने रणनीति अबको बाम राजनीतिको केन्द्रमा रहने स्पष्ट संकेतहरु आउन थालेका छन् ।
नेपाली कांग्रेसको काँधमा चढेर सत्ताको मोज लिंदै आफ्ना एजेण्डाहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईमार्फत लागु गर्ने, दरबारलाई देशभक्तिको झासा दिईरहने अनि जनमानसमा नेपाली कांग्रेसलाई देशद्रोहीको रुपमा चित्रण गर्ने २०४७ सालको अन्तरिम सरकारका बेलाको बाम रणनीति अबका १७ महिना बेस्सरी चल्ने देखिन्छ ।
यही बीच बामपन्थी राजनीतिमा शेरबहादुर देउवाको दानवीकरणमार्फत नेपाली कांग्रेसको तेजोवध तथा बृहत बाम एकताको आधार खडा गर्ने कार्य समानान्तर रुपमा सञ्चालन हुुने देखिन्छ । आगामी १७ महिना बामपन्थीहरुले आत्मचिन्तनका रुपमा बिताउने छन् । यस अवधिमा उनीहरु र उनीहरुका मन्त्रदाता तथा जिल्ला तहका नेताहरुले चुनावी परिणामका बारेमा दिव्यज्ञान प्रदान गर्नेछन् ।
त्यो दिव्यज्ञान भनेको बामपन्थीहरु नमिले खरानी घस्नुपर्छ भन्ने नै हो । नेपालको बाम राजनीतिमा प्रभुत्व राख्ने उपभोक्ता समूह, गैरसरकारी संस्थाहरु, क्रसर उद्योग र जग्गा कारोबारीहरुको चर्को दवावले पनि यस अवधिमा ठोस आकार ग्रहण गरिसकेको हुनेछ । नेपाली कांग्रेस सत्तामा एकलौटी रुपमा आएमा देशको साधनश्रोतको दोहनमा बामपन्थीहरुलाई पर्ने प्रभावका बारेमा ती स्वार्थ समूहले आँकडा प्रस्तुत गरिसकेपछि बाम एकता नेपालका कुनैपनि बामपन्थी नेताले चाहेर पनि रोक्न सक्ने देखिदैन् ।
यस अवधिमा इगो र स्वार्थका कारण बाझिएका बामपन्थी नेताहरुको मन पनि यही स्वार्थ समूहको समन्वयमा माझामाझ हुनेछ । दक्षिणलाई नागरिकता र पानी, उत्तरलाई खानी र ठेक्का तथा पश्चिमलाई धर्मपरिवर्तनमा छुट दिने नेपाली बामपन्थीहरुको विदेश नीतिका कारण विदेशी शक्तिहरुको पहिलो रोजाई पनि बृहत बाम एकता नै हुन जाने देखिन्छ ।
बाटो बिराएका केपी ओलीलाई साइजमा ल्याईसकेपछि अब नेपालका कुनैपनि बामपन्थीहरु अब बाटो बिराउने दिशामा पाइला चाल्न हिक्मत पनि गर्दैनन् भन्ने दक्षिणको निष्कर्ष छ । सत्ताच्युत हुने वखतमा भविष्यमा भोटको राजनीतिमा प्रयोग हुने अस्त्र चुच्चे नक्साका बारेमा केपी ओलीको रहस्यमय मौनता यही निष्कर्षको नतिजा हो । अब केपी ओली भारतविरोधी नारामा चुनाव लड्ने मानिसकतामा छैनन् ।
यी सबै परिस्थितिका माझ विश्वका चतुर नेताका उपमा पाएका नेपालका बामपन्थीहरुलाई आफू अलग अलग चुनावमा जाँदा सिलटिमुर खान्छौं अनि मिलेर जाँदा हस्तिनापुरको राज पाइन्छ भन्ने थाहा छैन र ? सिंहदरबारको नशाको मजा चाखीसकेका बामपन्थीहरु आफू अलग अलग चुनावमा जाँदाका घाटाका बारेमा अनभिज्ञ होलान् भनी कुन मुर्खले निष्कर्ष निकाल्न सक्ला र ? नेपालका बामपन्थीहरु त्यत्ति मुर्ख छैनन् कि चुनावमा फुटेर चुनाव लडी नेपाली कांग्रेसलाई एकलौटी सत्ता सुम्पिउन ।
बामपन्थीहरु फुटेर फेरी एकता गरि नेपाली कांग्रेसलाई सिलटिमुर खुवाएको पनि धेरै भएको छैन । केपी ओलीलाई सत्ताच्युत गरेर शेरबहादुरलाई प्रम बनाएका प्रचण्डले तिनै केपीसँग साँठगाँठ गरी नेपाली कांग्रेसको बिऊ खोज्नु जस्तो पारेको पाँच वर्ष पनि त भएको छैन ।नेपालमा बामपन्थीको ६० प्रतिशत हाराहारीमा जनमत छ । त्यो जनमतलाई वेबकुफ बनाई राज्यलक्ष्मीको अकँटक भोग गर्न पाइन्छ भने नेपालका जस्ता चलाक र चलायमान बामपन्थीहरुले फुटेर चुनाव लड्छन् भन्ने विश्लेषण कसैले गर्छ भने त्यसको विश्लेषणदेखि दया मान्नु पर्ने हुन्छ ।
२०६२ सालपछि नेपाली कांग्रेसको नियति नै यही हो । बामपन्थीहरुको सबलीकरण र आफ्नो दुर्बलीकरण । बामपन्थीलाई साथ लिनुपर्छ भन्ने गणेशमान, कृष्णप्रसादहरु बहुदलकालमा तिनै बामपन्थीहरुको असहयोगका कारण राजनीतिक रुपमा ओझेलमा परे । बामपन्थीहरुलाई साथमा लिएर पहिलो राष्टपति हुन्छु भन्ने गिरिजाप्रसादको मात्रै नभई कोइराला परिवारकै राजनीति तिनै बामपन्थीहरुले समाप्त पारे ।
बामपन्थीका लहलहैमा लागि संविधान जारी गरेमा राष्ट्रपति हुन्छु भन्ने लोभका परेका सुशील कोइराला बामपन्थीहरुकै असहयोगका कारण न प्रधानमन्त्री हुन पाए न राष्टपति नै । त्यही नयाँ सँविधान अनुसार भएको चुनावमा नेपाली कांग्रेस नराम्ररी पराजित भयो ।
अहिले कांग्रेसीहरु बामपन्थीहरुले मुलुक चलाउन सकेनन् र हामीलाई निम्ता दिए भन्दै आगामी चुनावमा जनता सबै कांग्रेस हुन्छन् भनी सपनाका महल बनाउन मस्त छन् । तर आफैले २०७२ सालमा सत्ताच्युत गरेका केपी र प्रचण्ड जसरी २०७४ सालमा मिलेर लडे झैं २०७९ मा फेरी केपी, प्रचण्ड मिलेरै चुनाव लडदैनन् भन्ने ग्यारेण्टी कसले दिने ?
त्यसैले कुरा प्रष्ट छ, अबका १७ महिना नेपालका बामपन्थीहरुले राज्यश्रोतको अँकटक दोहन गर्छन । शेरबहादुर देउवालाई अलोकप्रिय बनाउँछन् । अनि प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गर्नु भन्दा एकदिन अगाडि “एक बाम एक ठाम”को नीति अनुसार नेपालका सम्पूर्ण बामपन्थीहरुका साझा उम्मेदवारहरु मैदानमा उतार्छन् ।
फेरी पनि बामपन्थीहरु दुईतिहाई बहुमतमा, नेपाली कांग्रेस घुम्दैफिर्दै उही ५० देखि ६० सिटको हाराहारीमा । त्यतिबेला नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसीहरुको आँशु पुछ्न विज्ञप्ती निकाल्दै भन्नेछन् कि नेपाली कांग्रेसले आफू हारेर पनि लोकतन्त्र जोगायो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
सरकार र निजी क्षेत्रका दुई मुख : अर्थतन्त्रमा समस्या छ भनेर समाधान खोज्ने कि छैन भनेर ?
बैशाख ४, २०८१ मंगलबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार