११ आश्विन २०७८, सोमबार
नयाँ नेतृत्व

ब्राह्मण समुदायबाट सेनामा भाग्यमानी जर्नेलको नेतृत्वः पूरा होला त परिवर्तनको अपेक्षा ?

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार ११:०६


१५ साउन, काठमाडौं । आउँदो साउन २६ गतेबाट नेपाली सेनाले नयाँ नेतृत्व पाउँदैछ । सेनाको परम्परा अनुसार अवकाश हुनु एक महिना अघि घर बिदा बसेर नयाँ प्रमुखलाई काम गर्न सहज बनाउने र जिम्मेवारी सिकाउने गरिन्छ । त्यही परम्परामा टेकेर प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २६ बाट बिदामा बसेपछि नयाँ प्रधानसेनापति प्रभुराम शर्माले जिम्मेवारी सम्हाल्नेछन् ।

हालका प्रधानसेनापति थापाले आफ्नो कार्यकालको १ हजार दिन पुगेको अवसरमा २३ जेठमा पत्रकार सम्मेलन गर्दै नेतृत्व हस्तान्तरणको प्रकृया शुरु भएको र आफू आजैबाट नयाँ नेतृत्वलाई जिम्मेवारी सिकाउने भनेर घोषणा गरेका थिए । त्यही दिन थापाले आफुपछिको नेपाली सेनाको कमाण्ड बालाधिकृत रथी प्रभुराम शर्माले गर्ने बताएका थिए । थापाको सिफारिसमा नै बालाधिकृत रथी शर्मालाई २६ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय सरकारले गरिसकेको छ ।

१२ साउन (मंगलबार) मा बसेको मन्त्रिपरिषदकाे बैठकले बालाधिकृत रथी शर्मालाई २६ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेपछि शर्मा नेपाली सेनाको इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधानसेनापति हुन लागेका हुन् । यसअघि राणा, थापा, बस्नेत, क्षेत्री, गुरुङमात्रै प्रधानसेनापति भएका थिए । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा नेपाली सेनाको ४४ औं प्रधानसेनापति हुनेछन् ।

सैनिक ऐन अनुसार सेनाप्रमुखको तीन वर्षे पदावधि पूरा गरेर प्रधानसेनापति थापा २४ भदौमा अनिवार्य अवकाश हुनेछन् । निकै शालिन र भद्र स्वभावका शर्मा आफ्नो जिम्मेवारीलाई सधै पहिलो प्राथमिकतामा राखेर काम गर्ने सैनिक अधिकारी हुन् ।

को हुन् नयाँ प्रधानसेनापति ?

भाग्यमा भएपछि कसैको केही लाग्दैन भन्ने नेपाली उखान शर्मालाई लागु हुन्छ । तत्कालिन प्रधानसेनापति छत्रमानसिंह गुरुङको पालामा नै महासेनानी रतीन्द्र खत्रीको म्याद थप नभएपछि उनकै ब्याची शर्मा भावी प्रधानसेनापति बन्ने निश्चित भएको थियो । यदि खत्रीको म्याद थपिएको भए शर्माकाे स्थानमा खत्री प्रधानसेनापति हुन्थे ।

नेपाली सेनाभित्र सहयोगी र मिलनसार जर्नेलका रुपमा परिचय बनाएका प्रभुराम शर्मा २०२० पुष २१ मा काठमाडौँमा जन्मेका हुन् । काठमाडौको सीतापाइला-छाउनी स्थायी ठेगाना भएका शर्माले पूरानो गोरख गणबाट सैनिक अधिकृतका रुपमा सेना प्रवेश गरेका थिए ।

३७ वर्ष लामो सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डामा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेको अनुभव उनमा रहेको छ । त्यसैगरी, पृतनापतिका रुपमा भने उनले हेटौडमा कमाण्ड सम्हालेका थिए । ‘उहाँ निकै भद्र हुनुहुन्छ सैनिकहरुको मर्म बुझने अधिकारी हो, अपेक्षा गरौं उहाँको समयमा सेनाले थप नयाँ उचाई प्राप्त गर्नेछ’, उनलाई नजिकबाट चिन्ने एक सैनिक अधिकारीले भने ।

२० बेसिकका सैनिक अधिकृत शर्मा अमेरिकाको नियर इस्ट साउथ एसिया सेन्टर (नेसा) र एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज (एपीसीएसएस)ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका थिए । त्यसका साथै थाइल्याण्ड तथा पाकिस्तानबाट उनले प्रतिरक्षा सम्बन्धी तालिमसमेत हासिल गरेका छन् । उनी बंगलादेशका सैन्य सहचारी समेत थिए  । अन्य जर्नेल जस्तो पब्लिक फिगर त होईनन् तर उनलाई ‘म्यान इन एक्सन’ टाईपको व्यक्तिका रुपमा सेनाभित्र रुचाइएका मान्छे हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन् । उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन् । उनी आफ्ना सहकर्मीहरुसँग घुलमिल हुने र सिपाहीहरुसँग समेत सौहार्दरुपमा प्रस्तुत हुने स्वभावको रहेको एक सैनिक अधिकारीले जानकारी दिए । सरल स्वभाव भएका शर्मा बाैद्धिक हिसाबले पनि अब्बल मानिन्छ । शर्माले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् । उनी भारतमा भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए ।

सेनामा युद्धकार्य महानिर्देशनालय (डीजीएमओ) प्रधानसेनापति बन्ने सबभन्दा महत्वपूर्ण खुड्किलो हो । सैन्य अपरेसन र सैनिक गुप्तचर संयन्त्र यही महानिर्देशनालय अन्तर्गत रहन्छन । (अहिले भने सैनिक गुप्तचर महानिर्देशनालय नै स्थापना भएको छ।) सामान्यतः प्रधानसेनापतिको लाइनमा रहेकाबाहेक अन्य जर्नेलले डीजीएमओकाे नेतृत्व गर्ने अवसर पाउँदैनन् । कतिपय त प्रधानसेनापति बन्नेले नै पनि यो अवसर पाउँदैनन् । छत्रमानसिंह गुरुङ, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापाले प्रधानसेनापति बन्नुअघि यो महानिर्देशनालयको नेतृत्व गर्न पाएनन् । तर, शर्मा पूरा अवधि डीजीएमओ प्रमुख (महानिर्देशक) भए । त्यसकारण शर्मा निकै भाग्यमानी जर्नेल  मानिन्छन् ।

नेतृत्वमा हुनुपर्ने मिसन

कुनै पनि अधिकारीहरुले कमाण्ड गर्ने बेलामा उसको भिजन र मिसनबारे संगठनमा स्पष्ट गराउनुपर्छ भनिन्छ । मिसन २०३० को भिजन लिएर अगाडी बढेका हालका प्रधानसेनापति थापाको कार्यकालमा केही सवल पक्षहरु भएता पनि उनी विवादबाट मुक्त भने रहेनन् । कोरोना भाइरस विरुद्धको खोप खरिदमा हात हालेपछि नेपाली सेना विवादमा तानिएको थियो । तर नेपाली सेनाले पछि खोप खरिद प्रक्रियाबाट हात झिकेको थियो ।

साथै तात्कालिन रक्षामन्त्रीसँगको चुलिदो विवादका कारण समेत नेपाली सेना विवादमा तानिएको थियो । सेनासँगको विवादकै कारण तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा सरेको थियो । जसका कारण शर्माका अगाडि बदलिएको परिस्थितिमा राजनीतिक नेतृत्वसँगको सम्बन्ध समधुर बनाएर अगाडि बढाउनुपर्ने चुनौती रहँदा रहँदै पनि नेपाली सेनालाई लागेको ठेकेदारी अभियोगलाई पनि विस्तारै विस्तारै मत्थर बनाउनुपर्ने मिसन देखिन्छ ।

अहिले काठमाडौं–तराई् मधेश द्रुतमार्गमा प्रधानसेनापति थापाले आफ्ना नातेदारको दबावमा प्रतिस्पर्धा बिना नै चिनियाँ कम्पनीलाई ठेक्का दिएको आरोप छ । द्रुतमार्गमा थापाले राम्रो फाइदा लिएको बताइएपनि त्यसको पुष्टि हुने आधार भने छैन । थापाले आफ्नो कार्यकालमा द्रुतमार्ग परियोजना पूरा गर्ने घोषणा गरेपनि खासै उपलब्धि हासिल गर्न सकेनन् ।

विवादमा रहेको राष्ट्रिय गौरवको परियोजनालाई शर्माले कुन रुपमा अघि बढाउन चाहेका छन् र कस्ता व्यक्तिलाई कमाण्ड दिन्छन भन्ने पनि हेर्न बाँकी नै रहेको छ । सैनिक संगठनभित्र सुशासनका नाममा सेनापतिले गरेका जथाभावी कारवाहीले सेनाभित्र काम गर्ने वातावरण बिग्रिएको छ । त्यसले सेनाको आन्तरिक एकतामा समेत असर पुग्ने काम भएको सेनाकै केही अधिकारीहरुले बताउँदै आएका छन् । सेनाभित्र विग्रिएको काम गर्ने वातावरणलाई शर्माले कसरी नियन्त्रणमा ल्याउँछन् भन्ने विषयप्रति समेत सबैको चासो रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा