११ आश्विन २०७८, सोमबार
नेपाल प्रहरी

प्रहरी हेडक्वार्टरमा आईजीपीको कार्यक्रम, एआईजीद्वयको बहिष्कार

प्रकाशित मिति :  १७ श्रावण २०७८, आईतवार २२:२४


१७ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहभागी कार्यक्रमलाई दुई एआईजीले बहिष्कार गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह सुशोभित गर्ने कार्यक्रममा दुई एआईजी अनुपस्थित भएर बहिष्कार गरेका हुन् । प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार एआईजी विश्वराज पोखरेल र सहकुल थापा अनुपस्थित भएका हुन् ।

थापाले जिम्मेवारी नपाएर अनुपस्थित भएको बताइएपनि फूली लगाएका एआईजी भएकाले प्रहरी प्रधानकार्यालयमा हुने कार्यक्रममा अनिवार्य उपस्थित हुनुपर्ने हुन्छ । त्यस्तै एआईजी पोखरेल कार्य तथा अनुसन्धान विभाग प्रमुख पनि उपस्थित भएनन ।

उनी भावी आईजीपीको दावेदार रहेपनि उनी उपस्थित नहुनुलाई झन आश्चर्यजनक रुपमा हेरिएको छ । थापाको बढुवाभएपछि उनी पनि आईजीपीको प्रतिस्पर्धामा रहेका छन् ।

नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृतसहित ६१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका थिए ।

तर रोलक्रममा रहेका आईजीपीको दावी गर्नेहरु अनुपस्थित भएपनि नेपाल प्रहरीका कतै ३० वर्षे हटाउने खेल त शुरु भएको छैन भनेर आइतबार दिनभर चर्चा चलेको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा नेपाल सरकार मन्त्रिस्तरको २०७८ साउन १४ गतेको निर्णयअनुसार बढुवा भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँया देवी गुरूङ र नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णयअनुसार पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ जना प्रहरी अधिकृतहरु रहेका थिए ।

सुनसरी जिल्ला अदालतमा बलात्कारको मुद्धा कायमै रहेका बेला राणालाई डिआईजीमा बढुवा गरिएको हो । सो समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यवसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिए ।

नयाँ जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड–१९ को संक्रमणबाट आफू, परिवार र आमनागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत हुनुपर्नेमा उनले जोड दिए । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिको अवसरसम्म पु¥याउनका लागि घर परिवारको महत्वपूर्ण योगदान रहेकोले परिवारमा अमूल्य खुसी साटफेर गर्नुपर्ने चर्चा गर्दै घर परिवारलाई समेत नेपाल प्रहरीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा प्रहरी नायव महानिरीक्षक सौरभ राणाले पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । उनले पदोन्नतिले हर्ष र गौरव महसुस भएको र प्राप्त नयाँ जिम्मेवारीलाई थप उत्साह, ईमान्दारिता र सुझबुझका साथ उत्कृष्ट रूपमा बहन गर्न आफूहरू प्रतिवद्ध रहेको बताएका थिए । राणाको बढुवालाई लिएर संगठनभित्र व्यापक असन्तुष्टि रहेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा