११ आश्विन २०७८, सोमबार
सरकार

एआईजीको फूली लगाएको २५ दिनसम्म पनि जिम्मेवारीविहिन !

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार २१:०५


१९ साउन, काठमाडौं । सरकार परिवर्तनको प्रत्यक्ष असर नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्र परेको छ । सरकार परिवर्तनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गृहमन्त्री बालकृष्ण खाँडले हस्तक्षेप शुरु गर्दा कतिपय प्रहरी अधिकारीहरु जागिरे जीवनकै नमिठो अनूभूति गरिरहेका छन् ।

नेपाल प्रहरीमा भावी आईजीपीका रुपमा अगाडि आएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा अहिले जिम्मेवारीविहीन भएका छन् । अघिल्लो सरकारले दरबन्दी थप गर्दै पदस्थापन गरे पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएपछि थापा फूली लगाएको २५ दिन वित्दा पनि जिम्मेवारीविहीन भएका हुन् ।

नेपाल प्रहरीले एक वर्षको उपलब्धिमा दुई एआईजीको दरबन्दीलाई समेत सामेल गरेर बार्षिक कार्य प्रगति सार्वजनिक गरेको भएपनि एआईजी थापालाई भने अहिलेसम्म कुनै जिम्मेवारी दिएको छैन । अघिल्लो सरकारले उनलाई गत असार २४ गते एआईजीमा बढुवा निर्णय गरेको थियो ।

थापा २५ गते मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन भएका थिए । पदस्थापनसँगै बाँकी चार एआईजीको पनि सरुवा गरिएको थियो ।तर सर्वोच्च अदालतको फैसलाबाट असार २८ गते ओली सरकार विघटन भएर त्यसको भोलिपल्ट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए लगत्तै थापाको पदस्थापना अलपत्र पारिएको हो ।

गृहमन्त्रीमा पदबहाली गरेलगत्तै गृहमन्त्री बालकृष्ण खाँणले पूर्ववर्ती केपी ओली सरकारले गरेको प्रहरी सरुवा कार्यन्वयन नगराउन निर्देशन दिए । त्यसपछि आईजीपी शैलेश थापा आफैंले एआईजीहरुलाई फोन गरेर यथावत काम गर्न भनेका थिए । अरु एआईजीहरु यथास्थानमा काम गरिरहेका छन् तर थापा भने जिम्मेवारीविहीन भएका छन् ।

एआईजीहरु हरिबहादुर पाल महानगरीय प्रहरी कार्यालय, निरज शाही मानव श्रोत तथा प्रशासन विभाग, प्रद्युम्न कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठान र विश्वराज पोख्रेल अपराध अनुसन्धान तथा कार्य विभागमा कार्यरत छन् । आईजीपी थापाले आफ्नै सचिवालयमा हाजिर गराउन सक्ने भएपनि एआईजी थापालाई अहिलेसम्म हाजिर गराइएको छैन ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआईजी थापाले अहिलेसम्म पदस्थापन भएको स्थानमा हाजिर गर्न पाएका छैनन् । उनले प्रहरी प्रधान कार्यालयमा पनि हाजिर गरेका छैनन । उनी अहिले विदामा रहेका छन् । यसअघि ओली सरकारले पाललाई कार्य विभाग र निरज शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको थियो । यी हालै फुटाइएका विभाग हुन ।

पालले यसअघि दुवै विभाग एक हुँदा काम गरेका थिए । तर उनलाई मेट्रोबाट ७ महिनामै सरुवा निर्णय भएको थियो । आफूलाई अन्याय भएको भन्दै पालले आईजीपी थापासँग गुनासो गरेसँगै उनलाई मेट्रोमै राखिएको छ । अन्य एआईजीहरु पनि आ–आफ्नै कार्यालयमा हाजिर भएका थिए । दुई दिन अघि प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा भावी आईजीपीको दावी गर्ने विश्वराज पोखरेल र सहकुल थापा दुवै उपस्थित भएनन ।

प्रहरीमा अहिलेको अवस्था आउनुमा यसको सम्पूर्ण जिम्मेवारी आईजीपी र गृहसचिवले लिनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकारीहरु बताउँछन् । ‘प्रहरीमा राजनीतिकरण रोक्ने काम आईजीपीको हो, सके रोक्ने, नसके आत्मसमर्पण गर्ने होइन, डटेर सामना गर्ने हो ,जुन पोजिशन छ, यो बडो महत्वपूर्ण छ, आन्तरिक र राष्ट्रिय सुरक्षाका लागि, सरकार र प्रहरी संगठन आफ्नै लागि त्यो पोजिशन खरिदार सुब्बाको जस्तो होइन,’ ती अधिकारीले भने ।

उनका अनुसार सबै पदका आफ्नै जिम्मेवारी छन्, जिम्मा लिएपछि उसले गर्नैपर्छ । प्रधानमन्त्री र गृहमन्त्री त फेरिरहन्छन् , स्थायी दरबन्दीका दायित्व हुन्छन् । मन्त्रालयका सचिवको पनि जिम्मेवारी हुन्छन, सचिव पार्टीको पिए त होइन, गृहसचिवको काम संस्था बचाउने हो । त्यसकारण अहिलेको अवस्थमा आउनुमा सचिवनै बढी जिम्मेवार छन् ।

सरकारले थापालाई एआईजीमा बढुवा गर्नु पहिले आईजीपीका दाबेदार विश्वराज पोख्रेल मात्रै थिए । उनलाई पनि ओली सरकारले दरबन्दी थप गर्दै एआईजी बनाएको थियो । तर अन्तिममा त्यही सरकारले थापालाई अगाडि बढाएको थियो । एकै आर्थिक वर्षभित्र एआईजीमा बढुवा गरेकाले थापालाई आईजीपी बनाउने ओली पक्षको रणनीति रहेको कतिपयको अनुमान थियो ।

हाल बढुवा भएका थापा र पोखरेल एउटै ब्याची हुन । तर पोखरेल एसएसपीबाट थापा भन्दा अगाडि लागेका थिए । एआईजी पनि उनी ७ महिना पहिले भएका हुन् । सरकारले एआईजीमध्येबाट जसलाई पनि आईजीपी बनाउन सक्ने भएकाले थापालाई भावी आईजीका रुपमा अगाडि सारेको धेरैको अनुमान थियो । तर सत्ता फेरबदलसँगै प्रहरीका शक्ति पनि बदलिएका हुन् ।

आगामी वैशाख १९ गतेपछि पोखरेल र थापामध्ये एकजना आईजीपी हुन्छन । हालका आईजीपी थापासँगै तीन एआईजीसँगै अवकाशमा जानेछन् । १० महिनाका लागि हुने आईजीपीका लागि सहकुल पनि आएपछि पोखरेल पनि फस्टेड रहेका छन् । ‘जब थापा एआईजीमा बढुवा भए त्यसपछि पोखरेलपनि फस्टेड भए । कहिले अफिस आउने कहिले नआउने गरिरहेका थिए’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

ती अधिकारीका अनुसार अहिले सरकारको अवस्था बद्लिएपछि पोखरेलको भन्दा थापाको नै आईजीपी हुने बढी संभावना रहेको छ ।थापासँग सबै पक्ष मिलाएर लैजाने क्षमता रहेका कारण उनी आईजीपी हुने संभावना भएकाले पनि पोखरेल तनावमा परेका हुन् ।

मंसिरमा एआईजीको फूली लगाउने पोखरेल एक्ला दावेदार थिए । ‘पहिला एआईजी पोखरेलले सिंगल दरबन्दी ल्याएपछि उनी आईजीपीको दावेदार ठहरिए तर अहिले थापाले पनि आफ्ना लागि दरबन्दी ल्याएर पोखरेललाई चुनौति दिए’, एक प्रहरी अधिकारीले भने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा