७ आश्विन २०७८, बिहीबार

हालै आईपीओ बिक्री गरेको जीवन विकास लघुवित्तले गर्यो चौथो त्रैमासमा ६८ करोड मुनाफा, प्रतिशेयर आम्दानी कति ?

प्रकाशित मिति :  २१ श्रावण २०७८, बिहीबार १०:३४


२१ साउन, काठमाडौं । हालै आईपीओ बिक्री गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९७ प्रतिशत बढी हो।

सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.२९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३०२.६१ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ९.४६ प्रतिशत घटेको छ।

सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ७६ करोड १७ लाख रुपैयाँ छुट्याउँदा सञ्चालन मुनाफा घट्न पुगेको हो। यद्यपि, सो अवधिसम्ममा लघुवित्तले ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ जसले गर्दा नाफा बढ्न पुगेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको चुक्ता पूँजी ३३४.५७ प्रतिशत र जगेडा कोष १३७.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १९३.१७ प्रतिशत बढेको छ भने निक्षेप ४३.८८ प्रतिशत र कर्जा लगानी ९१.८७ प्रतिशत बढेको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी १३० रुपैयाँ ५३ पैसा घटेर ११३ रुपैयाँ ३४ पैसा पुगेको छ। यद्यपि लघुवित्तको यस्तो आम्दानी अन्य लघुवित्तको तुलनामा धेरै हो। लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१५ रुपैयाँ २२ पैसा रहेको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा