राजनीति र अन्य क्षेत्रमा नाता–सम्बन्ध
चन्द्रमणि गौतम
साउन २३, २०७८ शनिबार १८:५९:२८
नेपाली कांग्रेस
जननायक बीपी कोइराला, गिरिजाप्रसाद कोइराला आदि र पूर्वपार्टी सभापति स्व.सुशील कोइरालाका आमाहरू दिदी बैनी हुन् । बीपीकी आमा दिव्या जेठी, सुशीलकी आमा कुमुदिनीदेवी साहिँली । वरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मा बीपीका साढुभाई हुन् ।
कांग्रेसका संस्थापक नेता किसुनजी मामाका छोरा हुन् भने कम्युनिष्ट पार्टीबाट पञ्चायत प्रवेश गरेका पूर्वपरराष्ट्रमन्त्री (८२ वर्षको उमेरमा सगरमाथा चढ्न जाँदा आधार शिविरमै दिवङगत) शैलेन्द्रकुमार उपाध्याय फुपूका छोरा हुन् । स्व. मनमोहन अधिकारी तथा भरतमोहन अधिकारी बीपी कोइरालाका भानिजदाजु रामचन्द्र अधिकारीका छोराहरू हुन् । नेता स्व. महेन्द्रनारायण निधिका छोरा बिमलेन्द्र र सिन्धुलीबाट निर्वाचित पूर्वसांसद (स्व.) डा. ध्रुव शर्मा साढुभाई–साढुदाई हुन् ।
दुबैले बंगाली मूलका दिदीबैनी बिहा गरेका हुन् । रेडियो नेपाल (प्रजातन्त्र रेडियो नेपाल’ताका २००७) की पहिलो गायिका रानुदेवी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनी हुन् । राप्रपाका दिवंगत नेता रवीन्द्रनाथ शर्मा कांग्रेस नेतृ नोना कोइरालाका बैनी–ज्वाईँ हुन् । कांग्रेस नेता आमोदप्रसाद उपाध्याय पनि नोनाका नातेदार हुन् । अर्घाखाचीका सांसद पुष्पा भूसाल पुराना नेता काशीनाथ गौतमकी छोरी हुन् ।
दाजुभाईहरू— कांग्रेस केन्द्रीय कार्यालयका पूर्व मुख्यसचिव तथा लेखक जेठा दाजु हुन भने रामचन्द्र पोखरेल, योजना आयोगका पूर्व सदस्य डा. जगदीशचन्द्र पोखरेल भाई र गण्डकी प्रदेशका मूख्यमन्त्री (नवलपरासी कांग्रेसका पूर्वसभापति) कृष्णचन्द्र ‘नेपाली’ दाजुभाई हुन् । डा. जगदीश कांग्रेस नेता योगप्रसाद उपाध्यायकी छोरी उषालाई बिवाह गरेर ज्वाईँ बनेका हुन् । उनीहरू पुराना नेता गोबर्द्धन शर्माका छोराहरु हुन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी. जेठा दाजु हुन् भने नुवाकोट कांग्रेसका सभापति तथा संविधानसभाका सदस्य जगदीश्वरनरसिंह भाई, काठमाडौं नगरपञ्चायतमा कांग्रेसबाट जननिर्वाचित पूर्वप्रधानपञ्च हरिबोल भट्टराई र संविधानसभा सदस्य एवं कुशल अर्थविद मनमोहन भट्टराई दाजुभाई, डा. रामशरण महत दाजु र डा. प्रकाशशरण महत भाई हुन् ।
कांग्रेस नेता स्व. शिवबहादुर खड्का र कांग्रेस नेतृ मीना पाण्डे दाजुबैनी । मकवानपुर कांग्रेसका सभापति रामचन्द्र ‘माइकल’ र कांग्रेस केन्द्रीय सदस्य (पूर्व राज्यमन्त्री) डीना उपाध्याय दाजुबैनी । कांग्रेस पार्टीका बारेमा पीएचडी गर्ने यज्ञ अधिकारी र कांग्रेसकी महिला नेतृ उमा अधिकारी पूर्व पति–पत्नी । साहित्यकार केशवराज पिँडालीका छोरा पूर्वप्रधानन्यायाधीश तथा मानवअधिकार आयोगका पूर्वअध्यक्ष अनूपराज शर्मा र लेखक जैनेन्द्र जीवन (दाजुभाई) काका बडाबाका छोरा हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रबैंकका पूर्व गभर्नर डा. तिलक रावल सम्धी हुन् । नेपाली कांग्रेसका नेता, खर्बपति उद्योगी विनोद चौधरीका ससुरा हुन् प्रख्यात क्याटरिङ् व्यवसायी स्व.बी.एल. शर्मा । सर्वमान्य नेता गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह र कवि केदारमान ‘व्यथित’ की पत्नी मितिनी हुन् ।
पूर्वसभामुख तथा मानव अधिकारकर्मी दमन ढुङ्गाना ससुरा, पत्रकार, उपन्यासकार तथा नागरिक अगुवा नारायण वाग्ले ज्वाईँ हुन् । कांग्रेस नेताद्वय तनहुँका रामचन्द्र पौडेल र डडेलधूराका तारिणीदत्त चटौत सम्धी हुन् । कांग्रेस नेता अर्जुननरसिंह के.सी. र कांग्रेसका युवा नेता गगन थापा ससुरा–ज्वाईँ, गगनले अर्जुनकी माईली छोरी डा. अन्जनासँग बिवाह गरेका हुन् ।
एक महिनाअघि निधन भएका ट्रेड युनियन कांग्रेसका नेता रामजी कुँवर अर्जुनका माहिला बहिनी–ज्वाईँ हुन् । पूर्वसंविधानसभा सदस्य श्रीमती सुप्रभा घिमिरे राष्ट्र बैंकका पूर्व गभर्नर लक्ष्मीनाथ गौतमकी छोरी तथा प्रख्यात पेटरोग विशेषज्ञ डा. मधु घिमिरेकी भाउजु हुन् । दीपकुमार उपाध्याय पूर्वअख्तियार प्रमुख राधारमण उपाध्यायका भतिजा हुन् भने पूर्व परराष्ट्र सचिव राष्ट्रसंघका नेपाल प्रतिनिधि मधुरमण आचार्य दीपकुमारका बैनी–ज्वाईँ हुन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु, राणा प्रधानमन्त्री जुद्ध शम्शेरका अठारौँ छोरा विनोद शमशेर तथा जापानको लागि नेपाली राजदूत (राप्रपाकी नेतृ) प्रतिभा राणाकी छोरी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी पत्नी कोमल जुद्ध शमशेरकी नातिनी भएकीले आरजु कोमलकी फुपू नाता पर्छिन् । कांग्रेस नेता अमरराज कैनी (तनहूँ) ले प्रभालाई बिवाह गरेर पञ्चायतकालीन स्वास्थ्य सहायक मन्त्री विद्यादेवी देवकोटाका ज्वाईँ बनेका हुन् । नेता दिलबहादुर घर्ती (लमजुङ) स्व. नेतृ शैलजा आचार्यका बहिनीज्वाईँ हुन् । महेश आचार्य र साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितका छोरा विनोद दीक्षित साढुभाई–साढुदाई हुन् ।
कांग्रेस सहमहामन्त्री सुनिल थापाले प्रथम गर्भनर हिमालय शमशेर राणाकी छोरी, फाइन आर्टसँग सम्बन्धित संगीतालाई विवाह गरेका हुनाले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र बैँकर हिमालय शमशेर जबरा सम्धी हुन्। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी विवादास्पद व्यापारी सीताराम प्रसाईँका छोराले बिहे गरेको हुनाले प्रसाईँलाई माओवादीको बाईसीएलले समात्दा गिरिजाप्रसादले बाईसीएललाई ‘योङ क्रिमिनल लिग’ भनेका हुन् ।
यस्तो पनि नाता :
रामचन्द्र पौडेलकी फुपु डा. बाबुराम भट्टराईकी माइजु, पौडेलकी बहिनीको घर डा. भट्टराईको बुढामावली हो ।
अविवाहित : पूर्व कांग्रेस सभापति स्व. कृष्णप्रसाद भट्टराई, स्व. सुशील कोइराला, स्व. रामहरि जोशी, प्रदीप गिरि, पी. एल. सिंह, स्व. गोपाल पहाडी, मैयादेवी श्रेष्ठ, पुरुषोत्तम बस्नेत, फर्मुल्लाह मन्सूर, अम्बिका बस्नेत, सुशीला स्वाँर, कृष्णा अमात्य, जीवन डङ्गोल, कल्याणी रिजाल, सीता गुरूङ्, स्व. रामहरि ढुङ्गेल, गोविन्द भट्टराई र रामहरि खतिवडा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
वरिष्ठ नेता माधवकुमार नेपाल र पाल्पाका सभासद सोमप्रसाद पाण्डे सम्धी हुन् । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी पार्टीका प्रथम अध्यक्ष तथा पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीका भाई हुन् । उनी प्रचण्डनिकट मानिएका पूर्व एमाओवादीको उद्योग विभागका प्रमुख पोखराका हाइड्रो व्यवसायी कृष्णप्रसाद आचार्य सम्धी, व्यापारी आचार्यका छोरा सुदीपले भरतमोहनकी छोरी लिनासँग विवाह गरेका हुन् । सुदीप आचार्य हाल डिस होमका प्रमुख कार्यकारी अधिकृत तथा कामना विकास बैंकका अध्यक्ष छन् ।
पूर्व स्थानीयविकास मन्त्री राजेन्द्रप्रसाद पाण्डे र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे दाजुभाई हुन् । सुरेन्द्र पार्टी अध्यक्ष झलनाथ खनालका साढुभाई नाता पर्दछन् । अध्यक्ष झलनाथका बैनी–ज्वाईँ नाता पर्ने हुन् सुनसरीका पूर्वमन्त्री भीम आचार्य । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली सेनाका सेवानिवृत्त भई माओवादीमा पसेका पूर्वसांसद जर्नेल कुमार फुदोङ् ज्वाईँ–जेठान् हुन् । रघुवीर महासेठका जेठान् हुन् उद्योगी–व्यापारी तथा समाजसेवी उपेन्द्र महतो । मोदनाथ प्रश्रित र शान्ता मानवी मितदाजु र मितबैनी । शान्ताका दाजु र प्रश्रितले मित लगाएका हुन् ।
पारपाचुकेः प्राध्यापक, साहित्यकार तथा लेखक दिल साहनी र पूर्वमन्त्री राधा ज्ञवालीको बिहे भएर ०४२ सालमा सम्बन्ध टुटेको । कुनै जमानाका ‘राल्फाली’ कवि ‘मञ्जुल’ (मेघराज नेपाल) र पूर्व एमाले नेतृ तथा साहित्यकार कुन्ता शर्माबीच ०३० सालमा भएको बिहे ४० को दशकपछि विच्छेद भयो । मञ्जुलका भाई हुन् पूर्वएमाले नेता तथा लेखक प्रदीप नेपाल ।
माओवादी केन्द्र
माओवादीबाट संविधानसभा सदस्य भएका पूर्व अञ्चलाधीश सूर्यबहादुर सेन ओली (लेखकीय नाम ‘सुब सेन’) दाजु, गुल्मी कांग्रेसका पूर्व सभापति त्रैलोक्यप्रताप सेन ओली भाई । माओवादीविज्ञ (राजनीति विश्लेषक) मुमाराम खनाल माओवादी कमान्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’का भाई हुन् । केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाई हुन् । देव गुरूङ पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्माका बहिनी–ज्वाईँ हुन् ।
शक्तिबहादुर बस्नेत सूर्य सुवेदी ‘पथिक’ का जेठान हुन् । गोर्खा जेल तोडेर भाग्ने केन्द्रीय नेतृ उमा भुजेलका पति प्रज्वल श्रेष्ठ पूर्वमाओवादी रुपन्देही जिल्लाका नेता छन् । पूर्वमन्त्री कल्पना धमलाका पति पूर्वमाओवादीका लमजुङका जिल्ला इन्चार्ज देवेन्द्र पराजुली हुन् । बाबु ईश्वरी दाहालका छोरा पत्रकार महेश्वर दाहाल । मन्त्री तथा माओवादी नेतृ पम्फा भूसाल सानीआमाकी छोरी, सेवानिवृत्त राष्ट्रसंघका सहायक महासचिव कुलचन्द्र गौतम ठूलीआमाका छोरा हुन् ।
संविधानसभाका सदस्य भइसकेका पति–पत्नी केन्द्रीय नेताहरू:-
वर्षमान पुन र ओनसरी घर्ती (पूर्व सभामुख)
देव गुरुङ र यशोदा सुवेदी
हितमान शाक्य र अमृता थापा
राजकुमार श्रेष्ठ र देवी खड्का
सूर्यमान दोङ (तामाङ) र कुमारी मोक्तान
टेकेन्द्र भट्ट र रेणु चन्द
लीलामणि पोखरेल र शशी श्रेष्ठ
कुलप्रसाद केसी र तारा घर्ती
वाईसीएल नेता गणेशमान पुन रकमला रोका (छापामारबाट पहिलो मन्त्री)
कृष्णध्वज खड्का र रेखा शर्मा
पूर्व शान्तिमन्त्री विश्वनाथ साह र सीता पोखरेल
देवेन्द्र पौडेल र बलावती शर्मा
शक्तिबहादुर बस्नेत र सत्या पहाडी
माओवादी निकट शिक्षक नेता गुणराज लोहनी र सरला रेग्मी
सम्धी
पुष्पकमल दाहालकी छोरी रेणुको टीबी पाठकका छोरा अर्जुनसँग विवाह भएको हो । मोहन वैद्य ‘किरण’ की छोरी चेतनाको सभामुख अग्निप्रसाद सापकोटाका छोरा दीपकसँग, हरिबोल गजुरेलकी छोरी ज्योती झक्कुप्रसाद सुवेदीका छोरासँग तथा हितबहादुर तामाङ र कमानसिं लामा सम्धी हुन् ।
पारपाचुके
प्रचण्डपुत्र प्रकाशले पोस्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी प्रभा र पोखराकी सृजनालाई विवाह गरेर पारपाचुके गरेको थिए । पोलिटव्यूरो सदस्य विश्वभक्त दुलाल ‘आहुति’ ले पूर्वसभासद अञ्जना विसंखेलाई विवाह गरेर छोडेका हुन् । रामबहादुर थापा ‘बादल’ र पम्फा भूसालको चर्चित यौन सम्बन्धले औपचारिक बैबाहिक सम्बन्ध पाएन, तर पार्टीले कारवाही गरेको थियो । ।
अविवाहित
स्व.नरबहादुर कर्माचार्य, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, पम्फा भूसाल, गिरिराजमणि पोखरेल, पोब्युस स्वनाम साथी ।
जनता समाजवादी पाटी (जसपा( तथा मधेशवादीहरु:-
डा. बाबुराम भट्टराई र हिसिला यमी पति पत्नी हुन् । नेता महन्थ ठाकुर र पाँच नम्बर प्रदेशका पूर्व प्रमुख (पूर्वसचिव) उमाकान्त झा सम्धी हुन् । हिसिला यमी, लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी र थापाथली क्याम्पसकी प्रमुख चिरिकशोभा ताम्रकार दिदीबैनी, उनीहरू पुराना राजनीतिज्ञ धर्मरत्न ‘यमी’ (तुलाधर) का छोरीहरू हुन् । जसपामा विलय भएको तमलोपाबाट राज्यमन्त्री भइसकेकी काशीदेवी झा २०१८ सालमा नेपाली कांग्रेसको झन्डामुनी शहीद भएका दुर्गानन्द झाकी विधवा हुन् ।
मधेसवादी राजनीतिका नेता अभिषेकप्रताप साहाका पिता राप्रपाका नेता अजयप्रताप साहा हुन् । अजयप्रताप २०१६ सालको कांग्रेसको एकमना सरकारमा अर्थ उपमन्त्री भएका रामपतिप्रताप साहाका छोरा हुन् । सद्भावना (आनन्दीदेवी) की अध्यक्ष सरिता गिरि कांग्रेस नेता प्रदीप गिरिका भाई ई. लक्ष्मण गिरिबाट छुट्टिएकी पत्नी हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल र जसपाका नेता बृखेशचन्द्र लाल दाजुभाई हुन् ।
राप्रपा
राप्रपा महामन्त्री दीपक बोहोराकी गीतकार पत्नी उन्नती बोहरा ‘शीला’ पीएचडी गर्ने पहिलो लाहुरे बाग्लुङका हर्षबहादुर बुढा मगरकी छोरी हुन् । स्व. विद्यादेवी देवकोटा पुराना राजावादी नेता तथा साहित्यकार स्व. राजेश्वर देवकोटाकी काकी हुन् । राप्रपाका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठालाई पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीका छोरा रवीले बिहे गरेका हुनाले रायमाझी र थापा सम्धी हुन् ।
अन्य पार्टी
नेकपा (संयुक्त) का महामन्त्री तथा पूर्व वातावरण मन्त्री सुनिल मानन्धर सोही पार्टीका वरिष्ठ नेता विष्णुबहादुर मानन्धरका छोरा हुन् । एमालेबाट माले, राजावादी हुँदै एमाओवादी र फेरि भएका राधाकृष्ण मैनाली र नेकपा मालेका महासचिव सीपी मैनाली दाजुभाई हुन् ।
सेना तथा प्रहरी
पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवाल र अमेरिकामा बसोबास तथा फिजीमा पनि काम गरेका स्व. सुखदेव साह साढुदाई साढुभाई । कटवाललाई राजा वीरेन्द्र र रानी ऐश्वर्यले ओखलढुङ्गा–ठूलाछापबाट ल्याई धर्मपुत्रका रुपमा पाले–पढाए । माओवादीले सपत्नी हत्या गरेका सशस्त्र प्रहरीका संस्थापक आईजीपी कृष्णमोहन श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आईजीपी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष र राप्रपाका नेता ध्रुवबहादुर प्रधानका जेठान हुन् ।
पूर्वआईजीपी प्रदीप शमशेर राणा प्रधानमन्त्री देव शम्शेरका पनाति हुन् । पूर्व प्रधानसेनापति गौरव शमशेरका जेठाबा हुन् भने कांग्रेस नेता भरत शमशेर, माइलाबा (साहित्यकार) जगदीश शम्शेर र कान्छा बा ललितपुर कांग्रेसका पूर्व सभापति सागर शमशेर, उनी उच्च सैनिक अधिकारी आदित्य शम्शेरका छोरा हुन् । सागर शमशेरका छोरा उदयशमशेर राणा हाल कांग्रेसका नेता छन् ।
सेनाका पूर्व बलाधिकृत नेपालभूषण चन्द पुरानो राष्ट्रिय पञ्चायतका अध्यक्ष ललित चन्दका छोरा हुन्, निज ललित शहीद दशरथ चन्दका भतिजा हुन् । पत्नी हत्याको आरोप लागेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाकी गर्ल्फ्रन्ड तारा रेग्मी राससका अवकाशप्राप्त पत्रकार रमेश ‘तूफान’ की परित्यक्त पत्नी हुन् । तारा सिने निर्माता शिव रेग्मीकी बहिनी पनि हुन् ।
न्यायाधीश, कुटनीतिज्ञ, प्रशासक, अधिकारवादी, विज्ञ आदि
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की विमान अपहरणमा पनि संलग्न कांग्रेसका चर्चित नेता दुर्गा सुवेदीकी पत्नी हुन् । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा र साना किसान विकास बैँकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मा दाजुभाई । उनीहरू सर्वोच्च अदालतका पूर्वन्यायाधीश वासुदेव शर्माका पुत्र हुन् र वासुदेव बीपीका साढुदाई हुन् ।
‘होटल द्वारिकाज’ की मालिक अम्बिका श्रेष्ठका बडाबा हुन् नेपालका प्रथम प्रधानन्यायाधीश (बिसं २००९) हरिप्रसाद प्रधान । सर्वोच्च अदालतका न्यायाधीश बैद्यनाथ उपाध्याय र राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय दाजुभाई, यिनीहरू पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका भाईहरू हुन् ।
मानव अधिकारवादी नेता स्व. प्रकाश काफ्ले र प्रख्यात मृगौला विशेषज्ञ डा. ऋषिकुमार काफ्ले दाजुभाई हुन् । नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. दामोदर गजुरेल पूर्व एमाओवादी नेता हरिबोल गजुरेलका भाई हुन् । पूर्वइन्स्पेक्टर स्व. लक्ष्मण बोहोराबाट ‘कैलाश चिया’का बजार प्रतिनिधि रामप्रसाद चालिसेकी तेस्री पत्नी बन्न पुगेकी मायाकुमारी शर्मा (माओवादी कोटाबाट कतारका लागि राजदूत र पछि हटाइएकी ) की सौता तथा सहोदर दिदी ‘देवी’ की एक छोरी गीता पूर्वमाओवादी नेता (पूर्वमन्त्री) लेखराज भट्टका भाई गोकर्ण भट्टकी पत्नी भएकोले लेखराजको प्रयासमा मायाले राजदूत बन्न पाएकी थिइन् ।
पत्रकार, कलाकार, साहित्यकार इत्यादि
साहित्यकार तारानाथ शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र संचारकर्मी दुर्गानाथ शर्मा दाजुभाई हुन् । पहिले काठमाण्डु पोस्ट, कारोबार दैनिक र हाल बाह्रखरी अनलाईन पत्रिकाका सम्पादक प्रतीक प्रधान साहित्यकार (कथाकार) परशु प्रधानका छोरा हुन् । वरिष्ठ पत्रकार युवराज घिमिरे अर्जुननरसिंहका भाई, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी का साढेभाई हुन् । डा. केदार र युवराजले जुम्ल्याहा दिदी–बहिनी क्रमशः रेखा र रेणुलाई बिवाह गरेका हुन् ।
न्युरो चिकित्सक डा. वसन्त पन्त र हास्यकलाकार सन्तोष पन्त भाई र दाजु हुन् । मानसिक स्वास्थ्य विशेषज्ञ विश्वबन्धु शर्मा र डा. अरुणा उप्रती पति–पत्नी । साहित्यकार धुस्वाँ सायमीका छोरा हुन् मुटुरोग विशेषज्ञ अरूण सायमी । बीबीसी नेपाली सेवाबाट अवकाश प्राप्त सुमन खरेल गीतकार किरण खरेलका छोरा, गायक–गायिका कल्याण रिमाल तथा बिजु रिमालका ज्वाईँ सुमनले गायिका सीतुलाई बिहे गरेका हुन् । वीर अस्पतालका डाक्टर बुलन्द थापा जनकवि केशरी एवं गायक धर्मराज थापाका छोरा हुन् ।
एबीसी टेलिभिजन च्यानलका प्रबन्ध निर्देशक शुभशंकर कँडेल पूर्वशिक्षामन्त्री तथा माओवादी नेता दीनानाथ शर्माका छोरी–ज्वाईँ हुन् । लेखक ब्रजेश खनाल पुराना लेखक तथा ब्यंग्यकार श्रीधर खनालका छोरा हुन् । नायक राजेश हमाल फिल्म निर्देशक स्व. दीपक रायमाझीका भान्जा र डा.केशरजङ्ग रायमाझीका छोरीपट्टीका नाती हुन् ।
भाषासेवी कमलमणि दीक्षित (क.दी.) जलस्रोतविद पूर्वमन्त्री दीपक ज्ञवालीका मामा हुन् र दीपकका पिता पूर्वमहान्याधिवक्ता शम्भुप्रसाद ज्ञवालीले क.दी.की बहिनी बिहे गरेका हुन् । क.दी. र शिक्षाविद तथा समाजसेवी अंगुरबाबा जोशी सम्धी–सम्धीनी हुन् ।
गायक दीपक खरेल गीतकार, भजनकार तथा अन्य साहित्यका कृति लेख्नुका साथै निजकै नाममा पुरस्कार स्थापना गरिएकी भारती खरेल र चर्चित पूर्व प्रशासक चन्द्रिकानन्द खरेलका छोरा हुन् । सिने अभिनेता शिव श्रेष्ठ अर्का सिने कलाकार सुनिल थापा (राते काईँला) सम्धी हुन् । शिवका छोराले सुनिलीकी छोरी बिहे गरेका हुन् । पहिलेको टीभी हास्यश्रृङ्खला ‘मेरी बास्सै’ का पात्र सीताराम कट्टेल (धुर्मुस) का दाई हुन् पत्रकार ऋषि कट्टेल ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार