११ आश्विन २०७८, सोमबार
राजनीति
जीवनशैली

देउवा : संसदीय राजनीतिका ‘नालायक नेता’

प्रकाशित मिति :  १४ भाद्र २०७८, सोमबार ०७:२२


देउवालाई पालेर कांग्रेसमा अर्को बीपी जन्मेलान् भन्ने अपेक्षा गर्नु विषवृक्ष रोपेर अमृतफलको आशा गर्नुजस्तै पटमूर्खता वा महा हास्याँस्पद
नेपाल राजनीतिज्ञ पीडित मुलुक हो र राजनीति नेता–पीडित, फोहोरी र दुर्गन्धित खेल हो । जनता आफ्नो पेशालाई भोजनालय र राजनीतिलाई शौचालय ठान्छन् । तर यो देशका कतिपय नेताहरू जनताले भनेको ‘शौचालय’लाई आफ्नो भोजनालय मान्छन् ।

त्यही ‘शौचालय-भोजनालय’ का एक भाग्यमानी खेलाडी नेता हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसको नाक–नक्सा भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वप्रमुख आलोक जोशीसँग यसरी मिल्छ कि जोशी रअको प्रमुख हुँदा भारतको अग्रणी अँग्रेजी दैनिक ‘द टाइम्स अफ इन्डिया’ नै कन्फ्युज्ड भएर देउवालाई रअको नयाँ चिफ भनी चिनाएको थियो (हे. तस्बीर) ।

हुन त, भारतीय मिडियाको के कुरा गर्नु ! एउटा भारतीय टीभी च्यानलको तल अर्को फोटो हेर्नु त, त्यसैबाट बुझिन्छ नेपालबारे भारतीय मिडियाको जानकारीको स्तर ! मिडिया नै यस्तो हालतमा छ भने सामान्य जनताले नेपालबारे के जानेका होलान् र !

कोरोना महामारीले अस्तब्यस्त पारेको, राजनीतिक कलह, फुट र अराजकताले ध्वस्त पारेको, तस्कर, कालोबजारिया तथा आर्थिक अपराधी अर्थतन्त्रमा हावी भएको, भ्रष्टाचारले शिथिल, दयनीय तथा कहालीलाग्दो अवस्थामा पुर्याएको, बिखण्डनकारी नियतले टाउको उठाएको, बाह्य खतरा बढ्दै गएको, गरिखाने युवाशक्ति बेरोजगार र आजित भएर विदेश पलायन भइरहेको जस्ता भयावह परिसूचकका बीच देशको सबभन्दा जेठो र प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशन गर्न गइरहेको छ ।

मानिसहरू कतिसम्म विश्लेषण गर्छन्– कटुसत्य के हो भने नेपाली राजनीतिमा सरकारको पूर्ण कार्यकाल कसैलाई जुरेन । आजसम्म सातवटा संविधान जारी भए, तर कुनै पनि संविधान यो राजनीतिलाई फापेन । र कुनै पनि पार्टीलाई वरिष्ठ नेता पद फापेन । कांग्रेसले गणेशमानजी र किसुनजीलाई वरिष्ठ नेता घोषणा गर्यो, तर उहाँहरूले पार्टी नै छोडेर हिँड्नुभयो । शेरबहादुर देउवा वरिष्ठ नेता भएको बेलामै उनले कांग्रेसलाई फुटाईदिए ।

एमालेले मोहनचन्द्र अधिकारीलाई वरिष्ठ नेता बनाएको थियो, उनले ‘याक’ चुरोटको खोलमा राजीनामा लेखेर पार्टीबाट हिँडे । राप्रपाले सूर्यबहादुर थापालाई वरिष्ठ नेता बनायो उनले पार्टी फोरेर ‘जनशक्ति’ नामको जनताबिहिन ‘पार्टी’ बनाइदिए । गजेन्द्रनारायण सिंह जीवितै हुँदा उनले रामजनम तिवारी (तिवारी बाबा) लाई सद्भावना पार्टीको वरिष्ठ नेता बनाएको थियो, तिवारीले पनि सद्भावना पार्टी फुटाएर हिँडे ।

एमाले फुटेर दुईफ्याक भईसक्यो, तर पनि त्यहाँ भुसको आगो छ । कांग्रेसभित्र परालको आगो छ । एमालेको ओली र नेपाल गुटको जस्तो जिल्लाजिल्लामा आपसी बोलचाल बन्द, पानी बाराबार, कुटाकुट, बहिष्कारका गतिविधि मुलुकको सबभन्दा जेठो र लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसभित्र त्यस्तो भने छैन । बरू यसमा लोकतान्त्रिक अभ्यासलाई उछिनेर बेढङ्गी राजनीतिक शैलीले बिगारेको छ । देउवा लोकतन्त्रको कुरा गर्नेमात्र हुन्, तर लोकतन्त्रवादी होइनन् ।

आजको कांग्रेसलाई बीपी तथा संस्थापक नेताहरूले तय गरेका विचारधारा र मार्गदर्शनबाट पूरै च्यूत बनाईएको छ । उहाँले बसालेका अनुकरणीय परिपाटी र संस्कारलाई पनि त्यस पार्टीले निर्ममताका साथ तोड्दै आएको छ । सत्तामा जान र पाएको सत्ता टिकाउन मर्यादाको बार धेरैपटक भाँचिसकेको छ । ०७४ मा भएका तीन तहका निर्वाचनमा त कांग्रेसको हुर्मत नै गुमाउने काम वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाका कारणले भयो । यसको क्षतिपूर्ति हुन त्यस पार्टीले अर्को बीपी कोइराला नै जन्माउनु पर्छ ।

तर देउवालाई पालेर अर्को बीपी जन्मेलान् भन्ने अपेक्षा गर्नु विषवृक्ष रोपेर अमृतफलको आशा गर्नुजस्तै पटमूर्खता वा महा हास्याँस्पद हुन्छ । आजको कांग्रेसमा त अर्को बीपी जन्माउने इच्छाशक्ति र सपना पनि मरिसकेको देखिन्छ । पार्टी दिशाविहिन र मति बिग्रेका मानिसहरूको निर्लज्ज स्वार्थी झुण्डको रुपमा देखापरेको छ । नेतृत्वको यो सबभन्दा ठूलो राजनीतिक दुर्दशा हो । नेपाली कांग्रेस र सत्तारुढ पूर्व नेकपामा नेतृत्वबाट निस्केको विषाक्त झोलले सारा राजनीतिक तथा सामाजिक सेरोफेरो नै दूषित हुनपुगेको छ ।

राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदा चारदलीय सरकारको नेतृत्व स्वयं देउवाको काँधमा थियो । मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्ग ठेक्कामा ६२ करोड रुपैयाँको भ्रष्टाचार विवादमा उनी प्रत्यक्ष मुछिएका थिए । पछिल्लो कालखण्डमा आउँदा, एयरबसका एकजोडी वाइडबडी जेट बिमान खरिदमा भएको चार अर्ब ५६ करोड ३४ लाख कमिशन काण्डको सनासो बोकेर प्रधानमन्त्रीको कुर्सीमा बिराजमान रहेका केपी ओलीले अख्तिरयारको पासो देखाएर सभापति देउवालाई आफ्नो लगाममा हदैसम्म हिंडाए ।

२०७४ को स्थानीय निर्वाचनमा प्रचण्डकी छोरीलाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन कांग्रेसको मञ्चबाट होइन, माओवादी झण्डाहरूको छायाँमुनि, आमसभाको मञ्चमा बसेर देउवाले माओवादीलाई भोट मागिदिएका थिए । कांग्रेस सभापति बसेको त्यो मञ्चमा कांग्रेसको एउटा झण्डा पनि राखिएको थिएन ।

देउवा चारपटक (२०५२, २०५८, २०५९ र २०७४) प्रधानमन्त्री भए । पहिलो प्रधानमन्त्रित्वकाल अत्यन्त विवादास्पद यस मानेमा भयो कि संसदीय ब्यवस्था खराब हो भन्नलाई उदाहरण खोजिरहको त्यो बेला उदाउँदो माओवादीका लागि घतलाग्दो उदाहरणको प्रतिक देउवा नै बनिदिए । दोस्रो कार्यकालमा मध्यावधि निर्वाचनको घोषणा गरेर उनले सर्वदलीय निर्णयका आधारमा घोषित मितिमा चुनाव नहुने भनी बाधा अड्काउ फुकाउ आदेशको सिफारिश लिएर दरबार पुगेका थिए । संविधानको बाधा–अडकाउ धारा लगाएर नै राजा ज्ञानेन्द्रले देउवालाई सत्ताबाट गलहत्याईदिए ।

बुझिनेगरी बोल्न नसक्ने, पार्टीका नीतिगत वा अन्य राजनीतिक मामिलामा भाषण गर्नुपर्दा माइक अगाडि ५-१० मिनेटभन्दा बढी टिक्न नसक्ने, जनताको हित हुने काम गर्नै नचाहने, पार्टीको मर्यादा राख्नुपर्नेमा वास्तै नगर्ने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पात्रलाई प्रधानमन्त्रीको रुपमा सिंगार्न के हेरेर रोजियो होला ? यही बुझ्नलायक छ । लगभग दुईतिहाई बहुमत पाएको एमाले–अध्यक्ष ओली मैमत्त, अहंकारी र ‘अतिजान्ने सर्वज्ञाता’ भईदिएपछिको दुष्परिणामले गर्दा सत्तामा यो दुर्दशा मौलाएको हो ।

निष्ठावान् कार्यकर्ताहरूका साहसमाथि उभिएर अलोकतान्त्रिक निर्णय गर्नुहँुदैन भन्ने न्यूनतम जिम्मेवारी नेतृत्वमा हुनु जरूरी हुन्छ । तर बिरालाको टाउकोमा सिंग–जुरो पलाउला, सभापति देउवामा कहिल्यै बुद्धिबंगारो पलाएन । यो पार्टीले आफ्नै नेताहरूबाट उद्धार पाएन भन्ने यसअघिको आम आलोचनालाई मेटाएर कांग्रेसमा कोर्श करेक्सन गर्ने जिम्मेवारी कोबाट सम्भव छ त ? देउवाबाट त झन् बर्वाद हुन्छ ।

नेपाली कांग्रेसभित्रको विग्रहको कारण सैद्धान्तिक होइन, पदीय हो र झगडाको मानसिकता बढ्दो व्यक्तिवादिता र तेह्रौं महाधिवेशनको चुनावी तिक्तता हो । त्यसैले यसका नेताहरू पेशेवर झगडियाजस्तो लडिरहन्छन्, मिल्न सक्दैनन् र फुट्न पनि सक्दैनन् । पार्टीमा अवसरका लागि पात्र चयन गर्नमा ‘राम्रा सबै हाम्रा’ होइन ‘हाम्रा सबै राम्रा’ को नियतमा काम गरिरहेका छन् र दुबै पक्षले यसलाई शक्तिको आशक्तिका साथ आफ्नो अहम्तुष्टी (इगो स्याटिस्फ्याक्सन) र शक्ति प्रदर्शनको विषय बनाईरहेका छन् ।

नेपालको संसदीय राजनीतिमा सरकार चलाउने प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्यो कि मध्यावधि चुनावको घोषणा गराइहाल्ने चलनलाई पछिल्लोपटक एमाले अध्यक्ष केपी ओलीले दुईपटक निरन्तरता दिए । गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा , सूर्यबहादुर थापा, ओली सबैले आफूलाई सत्तामा अप्ठ्याराे पर्नेबित्तिकै मध्यावधि घोषणा गरिहाले ।

मध्यावधि घोषणा नगरी राजीनामा दिने प्रधानमन्त्री त दुईजना मात्र हुन्, कृष्णप्रसाद भट्टराई र लोकेन्द्रबहादुर चन्द । अरू सबै एउटै ड्याङका मूला ! २०५२ साल जेठमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले गरेको मध्यावधि चुनाव घोषणालाई सर्बोच्च अदालतले उल्ट्याइदिएपछि सोही वर्ष देउवा राप्रपा र सद्भावना पार्टीसहितको नेपाली कांग्रेस नेतृत्वको मिलिजुली सरकार बन्यो, जसको प्रधानमन्त्री थिए देउवा ।

आजको नेपाली कांग्रेसलाई विगतका सबै भूल र कमी कमजोरी सच्याएर नयाँ गति र दिशा दिने आँटिलो नेता चाहिएको छ । त्यस्तो सकारात्मक आँट विशाल नेपाली कांग्रेसभित्र कुन व्यक्तिमा होला ! देउवालाई धेरैपटक अवसर मिल्यो, तर केही गर्न सकेनन् । कांग्रेसले उनको सभापतित्वमा लोकतन्त्रको नवयुग पाउने आशा गर्नुजस्तो राजनीतिक मुर्खता अरू के हुनसक्छ ! आशै नगरौँ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा