७ आश्विन २०७८, बिहीबार

४ वर्षदेखि कालीगण्डकी लोकमार्गको पुल अलपत्र

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १५:१६


२९ भदौ, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल अलपत्र परेको हो ।

स्याङजाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुलेपनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अपुरै रहेको छ । प्राविधिकहरूको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो ।

२५ मिटर लम्बाइको लमाए खोला पुल ५ करोड ६४ लाख रुपैयाँमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।

कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले शुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले ३ वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकदारलाई जिम्मा लगाएर मुल ठेकदार सम्पर्क बिहीन भएको थियो । त्यसपछि पुलको काम अगाडी बढेको छैन । दुई ओटा खोलाको दोभानमा निर्माणाधीन पुलको जग वर्षेनी खोलाको बहाबले कटान गर्दै आएको छ ।

पुल निर्माण गर्न थालिएको जमिन पनि पहिरोले कटान हुँदै आएको स्थानीय गंगाराज शर्माले बताए । शर्माका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोला समेत समेट्ने गरि अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए ।

संघीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताएका थिए ।

व्यवसायी गौचनका अनुसार काम शुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उनका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै रिडिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्ने भनेपछि अन्योल थपिएको हो ।

०७५ मंसिरमा काम शुरु गरेका व्यावसायिले ०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको रड, सिमेन्टलगायत लाखौ मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् ।

यो पुलसँगै शुरु भएको मोदीखोलाको पुल गतवर्ष नै सम्पन्न भएर गाडी गुड्न शुरु भएका छन् । पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । कालीगण्डकी करिडोर अन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालोपत्रका लागि तयारी भइरहेको छ । पाङराङदेखि मोदीबेनीसम्म ट्रयाक मात्रै खोलिएको छ ।

मोदी बेनीदेखि अर्मादीसम्मको खण्ड अझै खुलेको छैन । गतवर्ष भीरबाट डोजर खसेपछि ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो । कालीगण्डकी करिडोरको मोदीबेनी–अर्मादी खण्ड खुलाउन सके ५५ किलोमिटर खण्ड पूरा हुने थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा