७ आश्विन २०७८, बिहीबार
सदस्यता छानविन समिति

कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार १२:११


३० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिए । पौडेलकाअनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौंसहित काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन् । विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।

निर्वाचन समितिका एक सदस्यले सम्भवत् आज बेलुकीसम्म विवादित सबै २० जिल्लाको सदस्यता विवाद टुंगिने खबर पाएको जानकारी दिए । कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ । ५ असोजमा बाँकी २० जिल्लामा अधिवेशन गर्ने तयारी छ ।

कांग्रेसले १८ भदौमा देशभरका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न सकेको थिएन ।

कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको छ । परिवर्तित निर्वाचन कार्यतालिकाअनुसार पालिका तहमा ९ असोजमा अधिवेशन हुने छ । त्यसअघि नै सबै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा