११ कार्तिक २०७८, बिहीबार
विद्युतीय पासो

बर्दियामा बँदेललाई थापेको पासोमा परेर एकै घरका तीनकाे मृत्यु

प्रकाशित मिति :  २ आश्विन २०७८, शनिबार ०८:२०


२ असोज, काठमाडौं । बर्दियामा जंगली बँदेललाई थापेको पासोमा परेर एकै घरका तीन जनाको मृत्यु भएको छ भने, एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ‘एसपी’ ईश्वर कार्कीले नेपालबहस डटकमलाई दिएकाे जानकारी अनुसार बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदानाका एकै घरका तीन जनाकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा साेही ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारु रहेका छन् । गएराति करिव १० बजेतिर धान खेतमा लगाईएको करेन्ट पासोमा एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका शाही माथि घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए । प्रहरीका अनुसार खेती वन्यजन्तुबाट जाेगाउन आफूले पासो राखेको बयान दिएका छन् ।

बर्दियामा यसअघि धानबालीमा जंगली जनावरहरु जङ्गली हात्ती, बँदेल र जरायो लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा