११ कार्तिक २०७८, बिहीबार
कार्यकर्ता भेला

राष्ट्रिय राजनीति अहिले दुई ध्रुवमा विभाजित : ईश्वर पोखरेल

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार १७:१७


७ असोज, काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको गुटबन्दीले पार्टी विभाजन भएको आरोप लगाएका छन् । सुरुमा नेकपा र अहिले एमाले विभाजन यसकै सिलसिला भएको पोखरेलको भनाइ छ ।

कार्यकर्ता भेलालाई प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै पोखरेलले राजनीतिक स्थायित्वका लागि पार्टी एकता आवश्यक भए पनि एकता गर्दा धेरै कुरामा ध्यान दिन नसकिएको बताए ।

‘विचारको पक्ष, संगठन, नेतृत्व कमजोर भयो । अन्तरविरोधमा खेल्ने, प्यानलबन्दी सुरु गर्ने नेतृत्व प्रचण्डले माओवादीमा गरे । नेतृत्वमा कहिल्यै चुनिएनन्,’ उनले भने, ‘एमालेमा गुटबन्दी र प्यानलबन्दीको प्रतिनिधि माधव नेपाल बन्नुभयो । माओवादीको संगठनात्मक अराजकता र माधव नेपालको गुटबन्दीबाट एकता र गठजोठ भत्कियो ।’

पोखरेलले राष्ट्रिय राजनीति अहिले दुई ध्रुवमा विभाजित भएको बताए । ‘एउटा ओली नेतृत्वको एमाले हो । जसले आर्थिक विकास र समृद्धिको एजेन्डा बोकेर राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, सामाजिक समानता बोकेर, देश बनाउने सपना बोकेर उभिएको छ,’ उनले भने, ‘अर्को ध्रुव दलहरूको गठबन्धन हो । संविधान, कानुन, मूल्य मान्यता नमान्ने, सत्ताको स्वार्थमा केन्द्रीत भएर सबै आपराधिक गतिविधि गर्न तत्पर छ ।’

कुन ध्रुवमा उभिने फैसला गर्नुपर्ने अवस्था आएको छ । ‘ ओलीको पोलको वरिपरि गोलबन्द भएर आर्थिक समृद्धि, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता देश बनाउने सपना पूरा गर्नुपर्छ,’ उनले भने, ‘गठबन्धनको पोललाई समर्थन गर्न सकिँदैन । त्यसको विपक्षमा उभिनुपर्छ ।’


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा