११ कार्तिक २०७८, बिहीबार

कसैलाई खुसी पार्न लेखिएको रचनाले समाजको प्रतिनिधित्व गर्दैन : गोतामे

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार १७:३९


मीरा गोतामे पेशाले शिक्षक हुनुहुन्छ । समाजशास्त्रमा स्नातकोत्तर गोतामे साहित्यिक रचनामा पनि उत्तिकै रुची राख्नुहुन्छ । हाल काठमाडौं, पेप्सीकोला, टाउनप्लानिङमा बस्तै आउनुभएकी गोतामेले आफ्नो पहिलो कृति उपन्यास “निती” सार्वजनिक गर्नुभएको छ ।

गाेतामेका विभिन्न अंग्रेजी  लेखहरु “द हिमालयन टाइम्स” मा, नेपाली कथा तथा लेखरचनाहरु अनलाईन संस्करण साहित्यपोष्ट, इनेप्लिज, सेतोपाटी, नेपालनाम्चा र साहित्य सागरमा प्रकाशित हुने गरेका छन् । गोतामेसँग साहित्यिक गफगाफ र विचारवहस गर्ने क्रममा हाम्रा संवाददाता सन्तोष खड्काले गर्नुभएको कुराकानी :

साहित्य र महिला मनोविज्ञान (Women Psychology) को के–कस्तो सम्बन्ध हुन्छ ?
मलाई साहित्य भनेकै मनोविज्ञान हो जस्तो लाग्छ । कुनै निश्चित दृष्टिकोणबाट साहित्य लेखिएको हुन्छ । महिला पुरुष जसको दृष्टिकोणबाट लेखिएको हुन्छ, उसकै मनोविज्ञान साहित्यमा प्रस्तुत गरिएको हुन्छ ।

तपाईं महिलावादी (Feminism) लाई कसरी बुज्नुहुन्छ ?
मलाई महिलावादी भन्नाले महिलालाई केन्द्रमा राखेर महिलाका समस्याहरु, उसको मनोविज्ञान, उसमाथिका व्यवहारहरुको बुझाई नै हो भन्ने लाग्छ ।

एउटा लेखकको साहित्यिक जिन्दगी र वास्तविक जिन्दगीमा के फरक हुँदोरहेछ ?
साहित्यिक जीन्दगीमा कल्पना हावी हुन्छ, आफूलाई जस्तो मन लाग्यो त्यस्तै मोड दिन पाईन्छ । तर वास्तविक जीवनमा त्यस्तो सम्भव छैन । परिस्थिति अनुसार आफूले व्यवहार गर्नुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि साहित्यमा वास्तविकता र वास्तविकतामा साहित्य मिसाउने छुट चाँहि छ हामीलाई ।

लेखकलाई के कुराले सन्तुष्टि दिन्छ ? सृजना, नाम, पैसा वा अरु केही ?
पैसाको लागी लेखिनु त व्यवसाय हो, पेशा हो । जब पैसाको लागी लेखिन्छ, तब संबेदना मर्छ । संबेदनाहीन लेखरचनाहरुले हृदयलाई छुन सक्दैनन् । कसैलाई खुसी पार्न लेखिएको लेखरचनाले समाजको प्रतिनिधित्व गर्न सक्दैन । मैले आजसम्म लेखेका लेखरचनाबाट एक रुपिँया पनि लिएकी छैन तर प्रशस्त आत्मसन्तुष्टि भने मिलेको छ । मलाई आफ्नो सृजनाले नै सन्तुष्टि दिन्छ । सृजनासँगै नाम त आइ नै हाल्छ । राम्रा सृजनाहरुमा आफ्नो नाम पढ्न पाउँदा साह्रै गर्व लाग्नु स्वाभाविक हो ।

पुरुषको अनुभव महिला सर्जकले लेख्नु र महिलाको अनुभव नारी सर्जकले लेख्नुमा के फरक हुन्छ होला ? 
पुरुषको अनुभव महिला सर्जकले लेख्नु एउटा प्रयोग हो । यसमा पाठकहरु विश्वस्त हुन पनि सक्छन्, नहुन पनि सक्छन् । यस्तो प्रयोग म आफैंले पनि गरेकी छु । यो बढी कल्पनाशील नै लाग्छ । महिलाको अनुभव महिला सर्जकले नै गर्नु चाँहि बढी व्यवहारिक लाग्ने हुनाले धेरै पाठकहरु नतमस्तक हुन्छन् । महिलाका विषय महिलाले नै कलम उठाउँदा कल्पना पनि सत्य लाग्न सक्छन्, विश्वसनीय लाग्न सक्छन् ।

तपाईंले सिर्जनात्मक लेखनको लागि आख्यान नै किन रोज्नुभयो ?
आख्यान साहित्यको एउटा सजिलो माध्यम रहेछ । मैले आफ्नो विचारलाई बिषयवस्तु बनाएर उठान गर्ने यो एउटा सरल र उपयुक्त माध्यम झैं पाएँ । आफ्नो विचार र दृष्टिकोणलाई विभिन्न पात्र र संबादहरुद्वारा सबैको मनमा भिज्न सकिने शैली प्रयोग गरी बढीभन्दा बढी पाठकहरुसँग पुग्ने एउटा उत्तम माध्यम नै हो, आख्यान । म आफूलाई काव्यमा ढाल्न अझै मिहेनत गर्नुपर्ने देख्छु ।

नेपाली साहित्यमा यौन मनोविज्ञानको बारेमा किन खुलेर लेखिदैन ?
नेपाली साहित्यमा यौन मनोविज्ञानका बारेमा खुलेर लेख्न अझै केहि समय कुर्नुपर्ने जस्तो लाग्छ । समाज जस्तो छ, साहित्य त्यसैको ऐना हो । खुलेर यौनका कुरा गर्ने वातावरण नबनेसम्म खुलेर लेख्ने वातावरण बनाउन गाह्राे छ । लेख्नेलाई पनि राम्रो दृष्टिकोणले हेरिएको जस्तो लाग्दैन ।

साहित्यको लेन्सबाट हेर्दा सम्बन्ध के हो ? जिन्दगी के हो ?
साहित्यको लेन्सबाट हेर्दा जिन्दगी नै सम्बन्ध हो, सम्बन्धहरु नै जिन्दगी हो । सम्बन्धहरुबीनाको जीवन नै कहाँ सम्भव छ र यो त सम्बन्धहरुको जन्जाल हो । जति पनि साहित्यिक कृतिहरु लेखिन्छन्, सम्बन्धहरुकै गहिराई, यसकै सतहीपन, माया ममता, दुश्मनी, यसकै ईमान्दारिता र बेईमानीका बारेमा लेखिन्छन् । अझ भनौं कालजयी बन्ने कृतिहरु नै यस्तै हुन्छन् । जिन्दगीलाई म चाँहि सम्बन्धबाट अलग्याएर हेर्नै सक्दिन ।

तपाईंको सबै सपनाहरू/लक्ष्यहरु पूरा भयो भने त्यसपछी के गर्नुहुन्छ ?
मेरा सबै सपनाहरु छिट्टै पूरा हुने छाँटकाँट छैन । मेरो त बल्ल सुरुवात भएको छ । धेरै लामो बाटो हिँड्नु छ । कथंकदाचित लक्ष्यहरु पूरा भयो भने फेरि अर्को नवीन लक्ष्य निर्धारण गर्नेछु र्अनि त्यसमै लागी पर्नेछु । मेरो हात बाँधेर चाँहि बस्ने बानी छैन ।

तपाईंको पहिलो कृति “निती” को बारेमा पाठकलाई के भन्नुहुन्छ ?
“निती” मेरो प्रथम कृति हो । यो मलाई मेरो सन्तानजत्तिकै प्रिय छ । यसमा मैले हाम्रो समाजमा शिक्षित नारीहरुले भोग्नुपरेका समस्याहरुलाई शब्दमा उतार्न खाजेकी छु । यो उपन्यासमा मैले कतिपय चरित्रवान परुुषहरु र सघंर्षशील नारीहरुको कथालाई एउटै मालामा उन्ने प्रयास गरेको छु । सामाजिक सजांलले निम्त्याएका विकृतिले परिवारहरु बिखण्डन हुँदै छन् । सम्बन्धहरु नाजुक धागोजस्तै हुन्, यसमा गाँठो पार्ने काम सामाजिक सजांलको दुरुपयोगले गरेको छ । सम्बन्धमा गाँठो पर्नु अगावै सचेतता अपनाउनु जरुरी छ । त्यस्तै यो उपन्यासमा बैवाहिक सम्बन्धमा धेरैजसो महिलाहरुले नै सम्झौता गर्नुपरेको तथ्यलाई उजागर गरेकी छु ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा