३० आश्विन २०७८, शनिबार

कोहलपुरमा सुनिए कवि वि.पि. अस्तु र सुनिता खनाल !

प्रकाशित मिति :  १७ आश्विन २०७८, आईतवार ०७:५७


१७ असोज, काठमाडौं । पछिल्लो समयका बलशाली कवि वि.पि.अस्तु र सुनिता खनालका कविताले कोहलपुरका साहित्य पारखीको माहौल तातिएको छ । शानिबार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरद्वारा आयोजित स्रष्टा सम्मान, कृति विमोचन तथा कविता वाचन कार्यक्रममा २ कविले आफ्ना शक्तिशाली कविता वाचन गरेपछि माहौल एकाएक तातियो ।

सामान्य जनजीवन र दु:खका  कविता वाचन गरेका कवि वि.पि. अस्तु र सुनिता खनालका कविताले दर्शकका आँखा रसाए । कवि अस्तु र खनालले ८र८ वटा कविता वाचन गरेका थिएँ ।

कार्यक्रममा बद्री ढकालको ‘ठ्यौको’ हाइकु संग्रह, छबिलाल खड्काको ‘बिरौटो’ साइनो संग्रह विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि हरि तिमिल्सिनाले कोहलपुर साहित्यको माहौल पश्चिम् नेपालमै लोभलाग्दो भएको बताए ।

उनले समग्र कार्यक्रम तथा संस्था चर्चा गर्दै अन्य साहित्यिक संघसंस्थाहरुले पूर्णिमाबाट धेरै कुरा सिक्न सक्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि एवं लुम्बिनी प्रदेश सभाका सदस्य माननीय पार्वती पुन ‘उषा’ ले कविता वाचन गर्दै संस्थाको भवन निर्माणका लागि आफुले पाउने सांसद कोषबाट आगामी दिनमा रकम उपलब्ध गराउने र मन्त्रालय लगायतमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रममा नेपालगन्जका उर्दु शायर अब्दुल लतिफ शौकलाई नेपाली तथा उर्दु साहित्यमा लामो योगदान दिए बापत रु। ७ हजार ७ सय ७७ रकमको ‘तुलसीराम स्मृति पुरस्कार-०७७’ ले सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष कपिल अन्जानले आगामी दिनमा संस्थाको थिएटर हल बनाउने सपनालाई पूरा गर्न सबैले सक्दो आर्थिक तथा रचनात्मक सहयोग गरिदिन अनुरोध पनि गरे ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रवीन्द्र खनाल, कोहलपुर नगरपालिका वडा नं.१० का वडाध्यक्ष निम बहादुर चलाउने निरज, साहित्यकार इन्द्र भण्डारी, मणि अर्याल, शुक्रॠषि चौलागाईं, सुमित्रा न्यौपाने, अन्जु न्यौपाने, हेमप्रकाश मंजील लगायत १५० भन्दा बढीको उपस्थिति रहेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा