३० आश्विन २०७८, शनिबार
कांग्रेस महाधिवेशन

कांग्रेसको आन्तरिक शुद्धीकरण तथा सुदृढीकरणका लागि ८ सुत्र

कांग्रेसका सुधारवादी तथा नेतृत्व परिवर्तनकारीहरूको साझा अवधारणा

प्रकाशित मिति :  १७ आश्विन २०७८, आईतवार १३:०५


नेपाली कांग्रेस पार्टी हो, संहिताविहिन वा अनुशासनहिन मनपरि होइन । सभा (Congress) हो, भीड (Crowed) होइन, सभातन्त्र (Congressocracy) हो, भीडतन्त्र (Mobocracy) होइन । इतिहास वा भावी पुस्ताले, मुलुकको बृहत्तर हितविपरीत कम्युनिस्ट मनपरिले भन्दा कांग्रेसको मौनता र परिस्थिति उचित प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेकोमा दोष, चारैतिरबाट कांग्रेसतिर वर्षिरहेको छ ।

तसर्थ, कुनै गुट वा व्यक्तिको मोलाहिजामा नलागी नेपाली कांग्रेस संस्थाको मानिस भएर निष्पक्ष रुपमा विश्लेषण गर्ने र यथास्थितिबाट पार्टीले आजको चुनौती सामना गर्न नसक्ने र पार्टीभित्र आमूल सुधार आजको वास्तविकता आवश्यकता हो ।

कम्युनिस्टहरू कांग्रेसमाथि हावी भएर वा कांग्रेसलाई आफ्नो पछाडि हिंडाएर वा कांग्रेसलाई आफ्ना एजेन्डाको भारी बोकाएर वा सत्तामा बसेर वा राष्ट्रिय राजनीतिको एउटा धार बनेर लोकतन्त्रघाती जुन काम गरिरहेका छन्, त्यो लोकतन्त्रको कुनै विधि, नीति, संस्कार, नैतिकता अनुरुप छैन ।

तर कांग्रेस पनि राष्ट्रिय राजनीतिमा लोकतन्त्रको उदाहरणीय पार्टी वा जनताको भरोसायोग्य संस्था हुन सकेको छैन । यसो हुनाको मूल दोष आधिकारिक नेतृत्वकै हो । दोषी नेतृत्व भन्ने जान्दाजान्दै पनि निज नै निर्वाचित हुन्छन् भने निज निर्वाचित हुनु दोषी होइन, निर्वाचन गर्नेहरू दोषी हुन्छन् भन्ने कुरा बुझाउनुपर्ने खाँचो छ ।

पार्टीमा वैचारिक र नैतिकताको राजनीति मर्दै गएको छ । अग्रज वा संस्थापक नेताहरूले राखेको नैतिक संस्कार मर्दै गएको र विधि तथा प्रक्रियालाई बाधक ठान्न थालिएको छ । पार्टीको विधान, आचारसंहिता, घोषणापत्र जस्ता मार्गदर्शनहरू निष्कृय बन्दै गएका छन् । नेतृत्वमा गहिरो अध्ययन र बुझाईको चरम अभाव देखापर्न थालेको छ ।

कांग्रेसमा देखिएका केही प्रवृत्तिगत र पार्टी प्रतिकूलका खराब गतिविधि

१. नीति, नेता र संगठन राजनीतिक प्रक्रियाका विभिन्न तर अभिन्न अङ्ग हुन् । नीतिगत अस्पष्टता, नेतृत्व र तदनुरुपको संगठनको अभावमा पार्टी प्रकारान्तरले गफगाफ मण्डली (Talking Club) मा संकुचित हुन्छ । लोकतन्त्रका दिनमा लोकतन्त्रकै जननी पार्टी खुम्चिनु, पराजित हुनु, अनिर्णय र विवशताको बन्दी हुनु, परमुखापेक्षी हुनु, निश्चित रुपमा नैतिक संकटको द्योतक हो । लोकतान्त्रिक पार्टीमा जमिनदारी चरित्र र गिरोहतन्त्र (Oligarchy) हावी हुन्छ । त्यस्तै आज पार्टीका सारा संस्था, विधान र आचार–संहिता मरणासन्न भएका छन् । यसका लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा जिम्मेवार छन् ।

२. कांग्रेस अहिले पनि जनाधारमा बलियो छ, तर सङ्गठनमा कमजोर छ । नेतृत्वले पार्टीको सारा शक्ति समेटेर संगठित बनाउनु जरुरी छ । यसका लागि सर्वप्रथम नीतिगत स्पष्टता र निर्णयमा दृढता हुनुपर्छ । कम्युनिस्टहरूको अलोकतान्त्रिक चरित्रको विरोध गर्न, कांग्रेसको ‘आन्तरिक विपक्ष’ (Internal Opposition)  जस्तो भएर सभापति शेरबहादुर देउवाको विरोध गर्नमा मात्र सीमित हुँदैमा कसैको पनि जिम्मेवारी पूरा हुँदैन । लोकतन्त्रलाई जोगाउन (Save the Democracy) का लागि कम्युनिस्टको एकदलीय अधिनायकवाद तथा दक्षिणपन्थी तत्वको पुनरुत्थानवादको विरुद्ध लोकतन्त्रको सम्पोषण (Serve the Democracy) का लागि देउवाको न्यायोचित विकल्प प्रस्तुत गर्नु तत्कालको वास्तविक समाधान एवं आवश्यकता हो । जनस्तरसम्म नै यो निर्विवाद आवश्यकताबारे ब्यापक र निर्णायक जनमत बनाउनु बाञ्छनीय छ ।

३. नीतिगत स्पष्ट धारणापछि आजसम्म कांग्रेसले लिएका नीति, विधि, प्रक्रिया, अडान, पद्धतिका बारेमा कार्यकर्तालाई स्पष्ट पार्ने, जनता र पार्टी कार्यकर्ताहरूमा खराब नेतृत्व विरुद्ध ऐक्यबद्धताको सन्देश दिने, प्रत्येकले र सबैले भए–गरिएका गल्तीहरूको इमानदारीपूर्ण स्वीकार गर्ने र सनातनी तरिकाले पार्टी चल्दैन, जनविश्वास मिल्दैन भन्ने यथार्थवोध (Realization) भएको विश्वास, व्यवहारद्वारा पुष्टि गर्ने र चौधौं महाधिवेशनलाई पार्टीको सुसंगठित र ऐक्यबद्ध महाधिवेशनका रुपमा सम्पन्न गर्ने अभिभाराका लागि पार्टीभित्र सुधारवादी तथा वैचारिक आन्दोलन एकदमै जरुरी छ ।

४. उक्त अभिभारा पूरा गर्न कांग्रेसका जिम्मेवार नेताहरूको केही तात्कालिक सामुहिक तथा संगठनात्मक प्रयासको जरुरी छ । त्यसका लागि केन्द्रीय स्तरमा अधिकतम ७ देखि ९ जना जतिको एउटा नेपाली कांग्रेस आन्तरिक संगठन सुदृढीकरण तथा वैचारिक पुनर्जागरण आन्तरिक अभियान कार्य सञ्चालन तदर्थ समिति (Steering committee) गठन हुनुपर्ने देखिन्छ । चुनाव लड्ने लक्षले मात्र होइन, महाधिवेशनलाई वैचारिक र बहसपूर्ण पनि बनाउनमा रणनीति तय गर्ने काम पनि यो अभियानले गर्नु आवश्यक छ ।

५. प्रत्येक जिल्लामा निष्ठावान र नेतृत्व परिवर्तनको पक्षधर नेता तथा कार्यकर्ताहरू बीच देखापरेको विवादलाई संयोजन गर्न केन्द्रीय निर्देशन समितिले जिल्ला तोकेर निश्चित व्यक्तिहरूलाई अभिभारा सुम्पिनुपर्छ र हरेक ७ दिनमा वस्तुस्थितिबारे जानकारी दिइने व्यवस्था गर्नुपर्छ । सुधारवादी (परिवर्तन) पक्षधरले सार्वजनिक रुपमा बोल्दा पार्टी सभापतिको लागि जो भएपनि समग्रबाट एकजना उम्मेद्वार हुने भन्ने स्पष्ट भन्न सक्नुपर्छ । अपुङ्गी राजाको जस्तो आफ्नै मात्र महत्व खोजेर व्यक्तिवादी चरित्रको उम्मेद्वारी होइन, उद्देश्यमूलक तथा पार्टी सुधार गर्ने स्पष्ट योजना, कार्यक्रम र खाका बोकेर आउनुपर्छ । सभापतिमा मात्र होइन, पदाधिकारी, सम्पूर्ण केन्द्रीय समिति र प्रदेश स्तरीय समिति निर्माण गर्दा आमनागरिकको पहिचान र विचार दुबैको भरपर्दाे प्रतिनिधित्व हुने ब्यबस्था सामुहिक रुपमा गर्न सक्नुपर्छ ।

६. यस अतिरिक्त केन्द्रीय स्तरमा केन्द्रीय समिति सदस्यको संयोजकत्वमा ३ जनाको जरुरी विषयगत समिति (Thematic Committee) गठन गर्नुपर्छ । विषयगत समिति गठन भएपछि केन्द्रीय कार्यसञ्चालन समितिले जुनसुकै निर्णय गर्दा सो समितिको राय वा सिफारिश लिनुपर्छ ।

७. सातवटै प्रदेशमा सोही प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा वा निर्वाचित, सो सम्भव नभए कुनै केन्द्रीय सदस्यको संयोजकत्वमा, प्रदेशको भौगोलिक तथा सामाजिक स्थिति, जनघनत्व, जनसमुदायको अनेकताका आधारमा १३ देखि १९ जनासम्म अभियानको प्रदेश तदर्थ समिति गठन गर्ने । यसमा अनुकुलको बहालवाला जिल्ला सभापति अनिवार्य रहने, सो सम्भव नभएमा सभापतिको उम्मेद्वार वा उपसभापति तथा सो प्रदेशका सांसद, पूर्व केन्द्रीय कार्यसमितिका सदस्यहरू भातृसंस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पार्टीलाई योगदान पुर्याएका हाम्रा भरोसा योग्य प्रभावशाली व्यक्तिहरू, बुद्धिजीवी मध्येबाट उक्त संगठन सुदृढीकरण तथा वैचारिक पुनर्जागरण आन्तरिक अभियान प्रदेश समितिमा समावेश गर्नुपर्छ । यसको निरन्तर अनुगमनको काम केन्द्रीय अभियान समितिबाट हुनुपर्छ ।

८. भागबण्डाका आधारमा होइन, विधान, विधि, नीति, लोकतान्त्रिक प्रक्रियामा सम्पूर्ण निर्णय गर्ने प्रतिबद्धता हुनुपर्छ । समितिहरूलाई आफ्नो कार्यक्षेत्र भित्र पूर्ण प्रभावकारी बनाउनु र जिम्मेवारी सुम्पिनु पर्छ । व्यवस्थित तरिकाले भरोसायोग्य तरिकाले काम गर्ने नै हो भने सुधारवादी वा नेतृत्व परिवर्तनका पक्षधरहरूले आचारसंहिता तयार गरी लागु गर्नुपर्छ ।

कांग्रेसमा ऐंजेरु सावित भएको नालायक नेतृत्वलाई निर्ममतापूर्वक हटाएर पार्टीप्रति समर्पित, गतिशील, सिद्धान्तवादी र नैतिकवान् नेतृत्वको स्थापना आज प्रत्येक निष्ठावान् र स्वाभिमानी कार्यकर्ताको आवाज हो । तर यो आवाजको दुरुपयोग हुने किसिमले कोही पदको लिप्साबाट ग्रसित भएर, बाबुबाजेको नामको ब्याज खाने नियतबाट अनुहार देखाएको भरमा कार्यकर्ताको सच्चा नेता हुन सक्दैन र हुन दिनु पनि हुँदैन ।

यस दृष्टिकोणका आधारमा आसन्न चौधौं महाधिवेशन नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण कोशेढङ्गा हुनसक्छ । तर एउटा नालायक नेता फालेर अर्को नालायक नेतालाई विराजमान गराउने अभिशप्त अवसर भयो भने त्यो असह्य दुखदायी र खेदजनक हुनेछ । चेतना भया । जय नेपाल ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा