३० आश्विन २०७८, शनिबार

विज्ञापन सोझै संचार गृहलाई दिनुपर्नेमा सरोकारवालाको जोड

प्रकाशित मिति :  १९ आश्विन २०७८, मंगलवार ११:०७


१९ असोज, काठमाडौं । विज्ञापन एजेन्सी अथवा कुनैपनि एजेन्टलाई नदिएर सोझै संचार माध्यमलाई दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने भन्दै सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार आयोजित सूचना तथा सञ्चारसँग सम्बन्धित सरोकारवाला व्यक्तिसँग अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीले मन्त्रालयले पत्रकारको वृत्ति विकासका लागि आवश्यक कानुन निर्माण गरी कार्य गर्न आग्रह गरेका छन् ।

आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलावल्लभ अधिकारीले जनताप्रति उत्तरदायित्व बनाउन सञ्चारकर्मीले स्वस्थ्य रुपमा आलोचना गर्न आग्रह गरे । उनले सञ्चार क्षेत्रलाई मजवुत र मन्त्रालयको कामलाई पारदर्शी बनाउन महासङ्घसँगको सहकार्यमा आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विज्ञापनको कमिशनलाई अन्त्य गर्न सञ्चार गृहलाई सोझै विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाबाट ज्यान गुमाएका दुई सञ्चारकर्मीलाई रु ५०/५० हजार तथा कोरोना सङ्क्रमित सात जनालाई रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको सो अवसरमा जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का सभापति लिलावल्लभ घिमिरेले पत्रकारका समस्या र यसका समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै ३० दैनिक, ११० एफ एम, ५८ साप्ताहिक पत्रपत्रिका, २०० अनलाइन, सात टेलिभिजन र एक हजार ६१० पत्रकार कार्यरत रहेको जानकारी दिए । मन्त्रालयका उपसचिव कमल थापा, वरिष्ठ पत्रकार मोहन भण्डारी, प्रदेश पत्रकार महासङ्घका निर्वतमान सभापति विक्रम लुईँटेल, मोरङका सभापति सञ्जिव खनाल, सञ्चारिका समूह प्रदेश १ का अध्यक्ष इन्दिरा भट्टराई र अनन्त न्यौपानेले श्रमजीवी पत्रकारलाई सूचनामा पहुँच सहज बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा मोरङ जिल्लामा कार्यरत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारको सहभागिता थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा