३० आश्विन २०७८, शनिबार
गैह्रआवासीय नेपाली संघ

एनआरएनए निर्वाचनः बद्री केसीलाई अन्तिम समयमा धक्का, आचार्यको टीममा आए श्रेष्ठ र दाहाल

प्रकाशित मिति :  १९ आश्विन २०७८, मंगलवार १३:३८


१९ असोज, काठमाडौं । गैह्रआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबदल हुन थालेको छ । केही उम्मेदवारहरुले टीम नै परिवर्तन गर्न थालेका छन् । अध्यक्षका प्रत्यासी बद्री केसीको टीममा रहेका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका हुन् ।

केसीको टीमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम)ले केसीको साथ छाडेका हुन् । उनीहरु दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टीमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आईसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन् ।

केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफू पक्षीय उम्मेदवारहरुको सूचीमा श्रेष्ठ र दाहालको नाम एवं तस्वीर समावेश गरेका थिए ।केसीको साथ छाडेर आचार्यको टीममा समावेश भएका श्रेष्ठ र दाहालले अब आचार्य नेतृत्वको टीमबाट उम्मेदवारी दिनेछन् । श्रेष्ठले आईसीसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान उपाध्यक्ष बद्री केसीले आज मंगलबार साँझ उम्मेदवारी घोषणा गदैंछन् ।

उम्मेदवारी घोषणा गर्नु भन्दा ठीक एक दिनअघि उपाध्यक्ष केसीलाई दुई महत्वपूर्ण पदाधिकारीले साथ छाडेका छन् । श्रेष्ठ र दाहालले केसीको साथ छाडेसँगै आचार्यको पल्लाभारी देखिएको छ । आइतबार साँझ आयोजित डबली संवाद (भर्चुअल कार्यक्रम)मा सहभागी हुँदै दाहालले आचार्यले अघि सारेका एजेण्डा तथा आचार्यले व्यक्त गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताए ।

नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रुपमा परिचित छन् । कुलजीले अघि सारेका एजेण्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु, दाहालले भने । उनी बेल्जियमबाट अहिले काठमाडौं आइपुगेका छन् ।

त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेका महेश श्रेष्ठले पनि आचार्यका प्रतिबद्धता र एजेण्डालाई समर्थन गर्दै आचार्यकै टीमबाट निर्वाचनमा सहभागी हुने बताएका छन् । हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार केसीले आफ्नो नाम पनि उम्मेदवारहरुको सूचीमा राखेको प्रति असहमति जनाए । म बद्री केसीको टीममा छैन, मेरो समर्थन कुल आचार्यलाई छ, श्रेष्ठले भनेका छन् ।

आचार्यको टीमबाट महासचिवमा डा. केशव पौडेल (अमेरिका) र महिला उपाध्यक्षमा जानकी गुरुङ्ग(बेल्जियम)ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ ।

विचार मिल्नेहरुको सहकार्य: आचार्य

यसैबीच, अध्यक्षका उम्मेदवार कुल आचार्यले आफूले कुनै प्यानल नबनाएको स्पष्ट पारेका छन् । संघको विधान अनुसार प्यानल बनाएर निर्वाचनमा सहभागी हुन नपाइने प्रावधानप्रति आफू सचेत रहेको बताउँदै विचार र एजेण्डा मिल्नेहरुको सहकार्य मात्रै भएको बताए । भावना र एजेण्डा मिल्नेहरुका बीचमा सहकार्य गरेका छौं, आचार्यले भने, कसैले प्यानल बनायो भन्यो भने गलत हुन्छ ।

गैह्रआवासीय नेपाली संघको साख र मर्यादालाई उच्च बनाउन चाहनेहरु एकजुट हुनुपर्ने अवस्था आएको आचार्यले बताए । आचार्यले तोकिएको समयमा नै एनआरएनएको निर्वाचन हुनेमा आशंका बढेको बताउँदै समयमा नै विवाद समाधान गरेर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए ।

सदस्यता तथा डेलिगेट्स चयनमा विवाद देखिएको बाहनामा निर्वाचन नै पर सार्ने खेल हुन थालेको छ, आचार्यले भने, समयमै विवाद सुल्झाएर तोकिएकै मितिमा चुनाव हुनुपर्छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा