३० आश्विन २०७८, शनिबार

श्रम बेच्न अब विदेश जानु पर्दैन : मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १४:०२


२४ असोज, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम बेच्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् ।

शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेकाले सबै क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्दै आत्मस्वाभिमानका साथ काम गर्ने वातावरण तयार पारिने बताए ।

कोभिड–१९ महामारीले उद्योग धरासायी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “श्रमिकहरुले रोजगारी गुमाएका छन्, पछिल्लो तथ्याङ्क अनुसार १५ लाखले रोजगारी गुमाएका छन्, त्यसमध्ये पनि ५३ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्नेछन् ।” उनले रोजगारउन्मुख सीपमूलक एवं व्यावसायिक तालिम, नीति, ट्रेड युनियनसम्बन्धी एकीकृत कानून र नियमन, बालश्रम निवारणसम्बन्धी नीति तथा कानून निर्माणका लागि ठोस योजना बनाइने बताए ।

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलगायत । तस्वीर : कृष्ण न्यौपाने

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले उद्योगमैत्री नीति निर्माणका लागि सरकार प्रतिबद्ध रहेको जनाए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना महामारीका कारण उद्योग क्षेत्र धरासायी भएकाले सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा