३० आश्विन २०७८, शनिबार
मोतीपूर तनाबग्रस्त
लुम्बिनी प्रदेश

सुकुम्बासी समूह र प्रहरीबीचकाे झडपपछि रुपन्देहीमा कर्फ्यु

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १६:५०


२४ असोज, काठमाडौं । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।  जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकामा स्थिति नियन्त्रणभन्दा बाहिर जाने संभावना साथै सर्वसाधारणको शान्ति, सुरक्षाका लागि कर्फ्यू लगाइएको उल्लेख छ ।

प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपममहानगरपालिका-१७ शिवनगरदेखि वडा-१८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ‘बुटवल उपमहानगरपालिका-१७’ उत्तर शिवनगर बस्ती बुटवल उपमहानगरपालिका-१७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको अमिन ‘धन्दापुर मौरहियासम्म’लाई चार किल्ला तोकेको छ ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह, प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट तीन जना स्थानीय र तीन जना सशस्त्र प्रहरी गरी छ जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

औद्योगिक क्षेत्रको करिब साढे ८०० बिघा जग्गामध्ये ४०० बिघा जग्गा अतिक्रमण भएको छ । आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो ।

बुटवल वडा १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि राति टहराहरू भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा