३० आश्विन २०७८, शनिबार
फूलपाती

आज नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्र्याइँदै

प्रकाशित मिति :  २६ आश्विन २०७८, मंगलवार ०६:३८


२६ असोज, काठमाडौं ।आज बडादशैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

हनुमान ढोका दरवारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरवारको दशैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने सँस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरवार संग्रहालय विकास समितिले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा