१६ मंसिर २०७८, बिहीबार
गृहमन्त्रीको ठाडो आदेश
सशस्त्र प्रहरी

चारपटक इन्चार्ज पाउने भाग्यमानी एसपीको सर्लाहीमा काज सरुवा

प्रकाशित मिति :  ७ कार्तिक २०७८, आईतवार २१:४१


७ असोज, काठमाडौं । गृहमन्त्रीको ठाडो आदेशमा सशस्त्र प्रहरीका एसपी भरत खनियाँले सर्लाही जिल्लाको कमाण्ड पाएका छन् । सधै इन्चार्ज हुँदै आएका खनियाँ ६ महिना मात्रै भएकाे थियाे खाली रहेको । तर अहिले मन्त्रीकै आदेशमा पुन जिल्ला इन्चार्ज पाएका छन् । सधै शक्तिको वरिपरीमात्रै बसिरहने खनियाँलाई गृहमन्त्रालयको आदेशमा गंगाराम श्रेष्ठलाई तानेपछि खनियाँलाई जिल्ला इन्चार्ज बनाइएको हो ।

‘उहाँ सधै शक्तिको आडमा इन्चार्ज हुने एसपी हुन, आज पनि गृहमन्त्रालयको आदेशमा सर्लाहीको कमाण्ड सम्हाल्ने मौका पाए’, सशस्त्र मूख्यालयका एक अधिकारीले भने । गत लकडाउनका बेला एसपी खनियाँ २६ नम्बर गण, पश्चिम नवलपरासीको प्रमुख थिए । त्यहाँ पैसा लिएर तस्करलाई छाडिरहेको गुनासो तीब्र थियो ।

त्यहीबेला खनियाँकै गणका एक सशस्त्र प्रहरी जवान घुस लिएको रकमसहित समातिएका थिए । एसपी खनियाँविरुद्ध पनि गुनासो आएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिनका लागि प्रदेश ५ कार्यालयमा कार्यरत एसपी तीर्थ पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले एसपी खनियाँमाथि कारबाही गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाए पनि उनीमाथि कारबाही अघि बढेन ।

डोटीमा दरबन्दी हुँदाहुँदै उनी रूपन्देहीको गण प्रमुख बनेर आउँदा पनि कारबाही गर्नुपर्ने कुरा उठेको थियो । इन्चार्ज हुँदाहुँदै संगठनको ‘चेन अफ कमाण्ड’लाई अस्वीकार गरी शक्तिकेन्द्र रिझाएर पुनः अर्को ठाउँमा इन्चार्ज हुन खोजेको भन्दै सशस्त्र प्रहरी हेडक्वार्टरले नै एक्सन लिन खोजे पनि उनी शक्तिकेन्द्रकै दबाबमा कारबाही रोक्न सफल भएका थिए । ‘

गत चैतमा गृहमन्त्रालयले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ‘सीडीओ’ पिताम्बर घिमिरेलाई त्यहाँबाट हटाएर पर्साको प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दा सशस्त्र प्रहरीका प्रमुखलाई पनि सरुवा गरिएको थियो । त्यहाँ शुरुमा शंकर खनाललाई पठाएको भएपनि शक्ति केन्द्रको आडमा उनको सरुवा भएको थियो । यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयले २७ नम्बर गण रूपन्देहीका गणपति, एसपी भरत खनियाँलाई हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी राजु सुवेदीलाई पठाएको थियो ।

त्यतिबेला सशस्त्रका एसपी खनियाँ भने तत्कालिन अर्थमन्त्री विष्णु पौडललाई रिझाएर आकर्षक ठाउँको जिम्मेवारी पाएका थिए । पटक–पटक विवादमा परेका र सशस्त्र प्रहरी हेडक्वार्टरले कारबाही गर्न खोज्दा शक्तिकेन्द्रसँगको पहुँचका कारण जोगिँदै आएका खनियाँको इन्चार्जको जिम्मेवारीमा ह्याट्रिक गरिरहेका छन् ।

गत पुस ५ गते सशस्त्र प्रहरी प्रधान कार्यालयले दुईजना एसपीको काज सरुवाको सूची निकाल्दा पनि उनी पनि परे । २७ नम्बर गण रूपन्देहीमा कार्यरत एसपी तेजप्रसाद पोखरेलको एक वर्ष पुगेकाले उनको ठाउँमा सशस्त्र प्रहरी बलको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंमा कार्यरत एसपी शंकर खनालको सरुवा सूची निकालिएको थियो ।

सिसं ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम सकेर तीन सातापछि सरुवा भएको ठाउँ रूपन्देही जान एसपी खनालले हवाई टिकट समेत लिइसकेका थिए । त्यसको दुई घण्टा अघि नै हेडक्वार्टरले एसपी खनाललाई तत्काल रूपन्देही नजान भन्यो । हेडक्वार्टरको आदेशपछि उनी रोकिए । एसपी खनाल रोकिनुको कारण भने उनकै ब्याची, एसपी भरत खनियाँले त्यहाँ इन्चार्ज पाएका थिए ।

भारतीय सीमासँग जोडिएका तराईका जिल्लालाई ‘पोस्टिङ’का लागि आकर्षक मानिन्छ । कारण हो, सीमाक्षेत्रमा हुने सक्ने ‘कमाई’को आकर्षण। त्यही आकर्षणकै कारण एसपी खनियाँले चलखेल गरेर खनाललाई पन्छाए र २७ नम्बर गण रूपन्देहीको इन्चार्ज बने । त्यसअघि उनी ३६ नम्बर गण डोटीको प्रमुख भइसकेका थिए ।

डोटीमा गण प्रमुख भएकै बेला अर्थमन्त्री विष्णु पौडेलको निकट मानिएका उनी त्यहाँबाट पौडेलकै गृहजिल्ला रूपन्देही पुगेका थिए । जबकि एसपी खनियाँको दरबन्दी त्यतिबेला डोटीमै थियो । सशस्त्र प्रहरी बलमा सामान्यतया ‘इन्चार्ज टु इन्चार्ज’ सरुवा नहुने अभ्यास छ । अर्को व्यक्तिले इन्चार्ज नपाएको अवस्था छ भने सामान्यतया इन्चार्जबाट इन्चार्जमै सरुवा गरिदैन । तर उनी एसपीकै कार्यकालमा चार पटक इन्चार्ज पाउने भाग्यमानी हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा