१६ मंसिर २०७८, बिहीबार
नेपाल प्रहरी

गृहमन्त्रीको ठाडो निर्देशनमा ‘उत्कृष्ट पुरस्कार’ को भोलिपल्टै डीएसपीको सरुवा

प्रकाशित मिति :  ८ कार्तिक २०७८, सोमबार ०८:१३


८ कार्तिक, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ‘डीएसपी’ मदन कुँवरको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाकाे ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो । तर, कुँवर प्रमाणपत्र बुझेको २४ घन्टा नबित्दै सरुवा परेका हुन् । उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए ।

डीएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ ।

कुँवरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ । प्रहरी स्रोतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन् । रुपन्देही खाँणको गृहजिल्ला हो ।

मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन । यही प्रकरणमा भएकाे आन्दोलनमा गृहमन्त्रीको आलोचना भएपछि कांग्रेस नेताहरु कुँवरसँग रुष्ट बनेका थिए । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए ।

यस्तै महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएको छ । पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा