२२ मंसिर २०७८, बुधबार

नेपाल आफ्नो बजार गुमाउँदै, भारतको बजारले जनता चरम मारमा

प्रकाशित मिति :  ४ मंसिर २०७८, शनिबार १७:०४


नेपाल अहिले उपभोग्य वस्तुमा पनि आत्मनिर्भर हुन छाडेको छ । मेसिनरी सामग्री त नेपालमा उत्पादन हुँदैन नै कृषि क्षेत्रबाट उत्पादन हुने दैनि उपयोग्य वस्तु पनि आवश्यकता पूरा हुन सक्ने अवस्था छैन । अहिले नेपालमा उत्पादन हुने चामलले आन्तरिक माग पूरा गर्न सक्दैन । चामल भारतबाट आयात भइरहेको छ ।

वर्षेनी करोडौंको चामल आयात भइरहेको छ । चामल मात्रै होइन दैनिक उपभोग हुने हरियो तरकारी पनि नेपालले पुर्याउन सकेको छैन । नेपालमा उत्पादनै भए पनि भारतबाट अत्यधिक आयात हुनाले नेपाली बजारमा भारतीय सामग्रीले नै प्राथमिकता पाउँदै आएको छ । बेमौसमी वर्षाको कारण देखाउँदै व्यापारीले उपभोग्य सामग्रीको मूल्य बढाएका छन् र भारतीय सामग्री बेच्नमै प्राथमिकता दिइरहेका छन् ।

चाडबाड सिद्धिन नपाउँदै उपभोग्य सामग्रीको बजार भाउ आकाशिएको छ । अहिले हरेक सामानको मूल्य तीन गुणाले बढेको छ । उपभोक्ताहरुलाई आफ्नो चुल्होमा चाहिने सामान आकाशिएको आभास भइसकेको छ । बजारमा व्यापारीहरुले मनलाग्दी सामानको मूल्य तोकेर जनतालाई ठगिरहे पनि यसको अनुगमन सरकारले गरेको छैन ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा पनि हरियो तरकारी र फलफूल छोइनसक्नु भएको छ । तीनकुने र धुम्बाराहीका व्यापारीले पनि तरकारीको मूल्य ह्वात्तै बढाएका छन् । किसानसँग बिचौलियाले सस्तोमा तरकारी उठाउँछन्, उपभोक्तालाई भने चर्को मूल्य लिने गरेका छन् ।

सर्वसाधारण व्यापारीको कृतिम मूल्यवृद्धिबाट आजित बन्दै आएका छन् । उपभोक्ताका साथै नेपाली उत्पादक पनि ठगिँदै आएका छन् । तरकारीका होलसेल व्यापारीहरु मुलुकमा फलेको तरकारी पानीले बिगारेको र बाहिरबाट आयात गर्न परेकाले मँहगो भएको बताउँछन् । उता तरकारी कृषकबाट सस्तोमा लिने गरेका छन् । भारतीय उत्पादनको ठूलो आयातका कारण विभिन्न निहुँमा कृषकलाई मूल्यमा ठग्ने र त्यसैगरी उपभोक्तलाई ठग्ने गरेका छन् । नेपालको बजारको अवस्थालाई हेर्दा लाग्छ नेपाल नेपालको आफ्नो उत्पादनको बजार नभएर भारतीय उत्पादनको बजार हो ।

सरकारले नेपालमा कुन सामग्री कति उत्पादन हुन्छ, नभएका सामग्री कहाँबाट आयात गरिन्छ ? मूल्य कति छ ? अन्तर्राष्ट्र्यि बजार भाउ कति छ ? तुलनात्मक रुपमा कहाँबाट आयात गर्दा सस्तो पर्छ भन्ने कुरा ख्याल गरेको देखिन्न । सुशासन भनेको बजार व्यवस्थापन पनि हो । त्यतातिर कुनै पनि सरकारले ध्यान दिने गरेका छैनन् । कहिलेकाहीं बजार अनुगमन गर्ने घोषणा गर्छ, केही स्थानमा छापा मारेको पनि बताउँछ तर बजारमा कहिल्यै पनि सुधार आएको छैन ।

व्यापारीहरुले जहिले पनि जतिबेला पनि मूल्य बढाउने, सरकारले बेवास्ता गर्ने भए पनि उपभोक्ता संरक्षण अभियानकर्ताहरु पनि मौन देखिएका छन् । सरकारलाई यस विषयमा दह्रो दबाब नदिएसम्म नेपालको बजार सुध्रिने छैन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा