योगगुरु रामदेव, आचार्य बालकृष्ण र स्याङ्जाको साइनो
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार २२:५२:४१
भारतको हरिद्वारस्थित प्रख्यात पतञ्जली योगपीठका योगगुरू रामदेव र सोही योगपीठका प्रमुख आचार्य बालकृष्ण (सुवेदी) हाल नेपाल आएका छन् । पतञ्जली योगपीठले भारतको हिन्दी टीभी च्यानल आस्था नेपालबाट नेपालीमा र पतञ्जली नेपाल टीभी च्यानल सञ्चालन गर्ने अन्तिम कार्यका लागि उनीहरू नेपाल आएका हुन् ।
थाहै होला, उनीहरुको नेपालको स्याङ्जा जिल्लासँग भावनात्मक सम्बन्ध छ । स्याङ्जाका गृहस्थ दम्पती जयवल्लभ सुवेदी र सुमित्रा सुवेदीका एक पुत्र ५५ वर्षीय बालकृष्ण सुवेदी उक्त योगपीठका महासचिव तथा पतञ्जली आयुर्वेद उत्पादनका प्रबन्ध निर्देशक छन् । वास्तबमा हरिद्वारस्थित पतञ्जली योगपीठमा रामदेवपछिका सर्वेसर्वा मुख्य अधिकारी यिनै स्याङ्जाली हुन् । पतञ्जली योगपीठ अन्तर्गतका करिब एक दर्जन संस्थाका यिनी अध्यक्ष, प्रबन्ध निर्देशक, महामन्त्री वा कुलपति रहेका छन् । यी दुईको प्रयासमा आज नेपालमा पतञ्जली योगपीठको सेवा विस्तार हुँदै गएको छ । वीरगञ्ज, बनेपा लगायतका स्थानमा पतञ्जलीका उत्पादनहरूलाई उत्पादन गर्ने उद्योग लगाइँदैछ ।
भारतीय कांग्रेस नेतृत्वको सरकारले सीबीआईलाई लगाएर योगगुरु रामदेवसँगै यिनलाई पनि साह्रै सताउने काम भयो । बालकृष्णको भारतीय नागरिकता र योग्यताको प्रमाणपत्र नक्कली हो भन्ने दोष लगाइयो, उनले अवैध पिस्तोल राखेको फत्तुर लगाइयो । ‘यो मान्छे नेपालमा अपराध गरेर फरार भई भारततिर पसेको’ भन्नेसम्मका फत्तुर कांग्रेसका नेताहरूले लगाउन भ्याए । ‘रामदेवको दाहिने हात भाँचिदिने’ रणनीतिका रुपमा दाहिने हातका रुपमा रहेका बालकृष्णलाई तारो बनाइयो । उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखियो । बालकृष्णबिनाको रामदेव पङ्गु हुन्छ भन्ने उनीहरूको निष्कर्ष रह्यो तर यस्ता सबै आरोप झुटा ठहरिए, बालकृष्ण आरोपबाट मुक्त भए । करिब ५ वर्षअघि बालकृष्णको हत्या गर्न मिठाई (पेडा) मा विष राखेर खान दिइयो । बालकृष्णले झण्डै परमधाम सिधारेका थिए । उनीमाथि आपराधिक इन्डियन कपटाचार लगाउने दाउ पाइला–पाइलामा चलिरहेको छ ।
योगगुरु रामदेव पनि विगतमा नियोजित षड्यन्त्र र हमलाको शिकार भए । उनीमाथि आफ्ना गुरु शंकरदेव सन् २००७ जुलाई १४ देखि पतञ्जली योगपीठबाट बेपत्ता हुँदा खोजी गर्न वास्ता नगरेको भनी शंका गर्दै रामदेवले नै बेपत्ता बनाएको आरोप सिर्जना गरे । यसका लागि सीबीआईलाई जिम्मा दिइयो (धेरैले यसलाई ‘पेड न्युज’ पनि भने) । यस्ता आरोपहरू र उनको ज्यान सुरक्षामाथिको खतरा उनले विगतमा निकै झेलिसकेका छन् ।
रामदेवउपर, सबभन्दा पहिले भारतीय कम्युनिस्ट नेता प्रकाश करातकी पत्नी राज्यसभाकी सदस्या, तथा भारतीय कम्युनिष्ट पार्टीको महिला संघकी अध्यक्षा वृन्दा करातले संसदमा उनीविरुद्ध आवाज उठाउँदै उनले उत्पादन गरेका औषधिमा मान्छेका गिदी, हड्डी आदि हाल्नेगरेको भनी जाँचबुझ गर्न आग्रह गरेकी थिइन् तर यो आरोप पुष्टि नभएपछि उनी आफै सेलाएकी थिइन् । त्यसपछि पनि उनीमाथिको षड्यन्त्र एकपछि अर्को गरी हुँदै आयो । खासगरी भ्रष्ट र देशद्रोहीहरूले पचासौँ खरब देशको धन विदेशमा लगेर लुकाएकोमा भारतमै फर्काउनुपर्छ भनी उनले जोड्दार आवाज उठाउन थालेको र आमजनताले समर्थन दिएपछि सत्ता र शक्तिको वृत्तमा हडकम्प मच्चिन थाल्यो । त्यसपछि उनीमाथि आफ्ना गुरु बेपत्ता बनाएको आरोप लागेको हो ।
रामदेवले लाखौँ भारतीय तथा नेपालीहरूको योग तथा प्राणायामको माध्यमबाट रोगमुक्त बनाएको र जनताको रुचि परिमार्जन गर्न लागेको हुनाले जनतामा प्रियमात्र छैनन्, उनका विरोधीहरू पनि त्यति नै छन् । खासगरी चुरोट, खैनी, बिँडी, गुट्खा, मासु, पिज्जा बर्गर आदि जंकफुड, रक्सी, बियर, कोकाकोलाजस्ता पेयपदार्थको उत्पादन तथा ब्यापारसँग संलग्न व्यक्तिहरू तथा बहुराष्ट्रिय कम्पनीहरू र भएभरका भ्रष्ट र लुटेराहरू उनीविरूद्ध खनिएका छन् । यसका लागि उनीहरूले कालोधनको ठूलो लगानी पनि गरेका छन् ।
‘कोकाकोला माने ट्वाइलेट क्लिनर’, भनी योगशिविरहरूमा प्रवचन दिने उनको शैलीले गर्दा एकताका रामदेवलाई मार्ने ठूलो प्रयास भएको थियो, जसका कारण उनी त्योबेला निकै हड्बडाएका जस्ता पनि देखिन्थे । उनले योग शिविरमै जानकारी दिने गरेका थिए, “मुझे जान से मारने का धम्की आ रहा है । धम्की देने वाले हरबार कहता है कि यह तुम्हारा अन्तिम योग शिविर होगा । यहाँ से बचकर तुम दुसरे शिविर मेँ कैसे जा पाओगे…।” करिब आठ वर्षअघि रामलीला मैदानमा आयोजना गरेको योगसहितको अनशन शिविरलाई प्रहरी लगाएर भताभुङ्ग बनाउनुका साथै उनलाई मार्न गरिएको षड्यन्त्रबाट बल्लबल्ल बच्न सफल भएका थिए । महिलाले लगाउने कुर्ता–सुरवाल लगाएर छल्दै उनी बचे ।
एकताका उनले एलोप्याथिक डाक्टरहरूको प्रवृत्तिलाई पनि योग शिविरहरूमा खुब छ्ँयास्ने गरेका थिए । यसले गर्दा ती डाक्टरहरू पनि उनीदेखि क्रुद्ध भए । कालान्तरमा कुनै उपायले डाक्टरहरूसँग उनको सम्झौता भयो । त्यसपछि उनले डाक्टरहरूलाई छ्याँस्न छोडेका हुन् ।
२०७१ सालमा भारत सरकारले ‘भारत रत्न’ पदविबाट विभूषित गर्ने निर्णय गर्दा त्यसलाई अस्वीकार गरेका रामदेव र बालकृष्णको जोडी कुनै बेला आफैले औषधि उत्पादन गरेर साइकलमा बेच्नेगरेको बेलाका साथी हुन् । त्यही क्रममा आजका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनीहरूको भेट भइरहन्थ्यो ।
हरिद्वारस्थित पतञ्जली योगपीठको औषधि उत्पादन तथा अन्य व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी बालकृष्णले सम्हालेका छन् । पतञ्जली योगपीठको बहिरंग विभाग (ओपीडी) हरेक दिन शरीर जाँचका लागि विश्वमै सबभन्दा धेरै बिमारी आउने केन्द्र हो । यो केन्द्रमा जडीबुटीका औषधि अतिरिक्त जडीबुटीका कस्मेटिक सामग्री, खाद्य सामग्री, जुस, तोरी तेल आदि करिब दुई सय थरिका सामग्री उत्पादन हुन्छन् र नेपाल तथा भारतको विशाल बजारका साथै संसारका ५५ मुलुकमा ती उत्पादन पुग्छन् । यी उत्पादनहरू अन्य उत्पादनका तुलनामा सस्तो र गुणस्तरीय छन् । किनकि अन्य उत्पादनमा हुनेगरेको भरमार विज्ञापनको खर्च रामदेवका उत्पादनहरूलाई चाहिएको छैन ।
उनको निन्दा गर्ने मानिसहरू ‘रामदेबको योगबाट कुनै लछारपाटो लाग्दैन’ भनी निन्दा गर्छन् । पहिलो कुरा त प्रचलित योग तथा प्राणायम रामदेवले आविष्कार गरेको होइन, शास्त्रमा सीमित रहेको जटिल योगलाई उनले सरलीकृत गरेर सबैले अभ्यास गर्नसक्ने बनाइदिएका हुन् । लाखौँ मानिसहरूले उनका शिक्षाबाट नयाँ जीवन नै पाएका छन् । उनलाई धुर्त र कपटी भन्नेहरूले जवाफ दिउन्, उनको कथित ‘धुर्त्याइँ’ बाट कसलाई के हानि भएको छ ?
भारतका कतिपय नेताहरू उनको विरोध गर्छन् । सोनिया गान्धी, लालुप्रसाद यादवलगायत भारतीय काँग्रेस र कम्युनिष्टहरू उनका मुख्य विरोधी हुन् । बहुराष्ट्रिय कम्पनीको मोटो रकम पाएका खाएकाहरू पनि उनका विराधी हुने नै भए । बाँकी दुनियाले उनको सधैँ प्रशंसा गरिरहेको छ । भारतका पचास सबभन्दा प्रभावशाली व्यक्तित्वमा उनको नाम पनि आउँछ भनी बहुभाषी ‘इन्डिया टुडे’ले लेखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार