२३ मंसिर २०७८, बिहीबार

हुम्लाको लिमीमा ८० प्रतिशत जनगणना सम्पन्न

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार ११:१७


७ मंसिर, सिमकोट । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मंसिर ९ गते सकिँदैछ ।

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण संकलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण संकलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मंसिर २५ गतेदेखि विवरण संकलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण संकलन भएको छ ।

जडीबुटी संकलनले गणकलाई फारम भर्न समस्या

जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी संकलन गर्न गएका छन् । यसले उनीहरुको विवरण संकलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताए । “अधिकांश नागरिक जडीबुटी संकलनका लागि वनपाखातिर गएका छन्”, उनले भने ।

जडीबुटी संकलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चङ्खेली गाउँपालिका–५ का बासिन्दा यतिबेला जडीबुटी संकलन गर्न वन गएका छन् । उनीहरु पुसपछि मात्रै घर फर्किन्छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा