२३ मंसिर २०७८, बिहीबार
युरोपमा कोभिड संक्रमण पुनः तीव्र

कोभिडबाट मार्चसम्म युरोप र एसियामा थप ७ लाखको मृत्यु हुने डब्लूएचओको चेतावनी

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार ०८:२३


८ मंसिर, काठमाडौं । कोभिड १९ बाट युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका बिरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ । कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः तीव्र देखिएको छ । कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरुले प्रतिबन्धात्मक उपायहरु लागू गरेका छन् ।

सरकारले लगाएका प्रतिबन्धात्मक व्यवस्थाको विभिन्न देशमा विरोध भइरहेको छ । आंशिक लकडाउन जारी भएपछि नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन भएका छन् । फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् ।

युरोपमा ठूलो संख्यामा मानिसको मृत्युको मुख्य कारण कोभिड भएको डब्लूएचओले ठहर गरेको छ । युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २०० नाघेको डब्लूचएओले जनाएको छ । रसियामा कोभिडबाट दैनिक १२ सय जनाको मृत्यु हुने गरेको छ ।

अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुग्ले खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा