२२ मंसिर २०७८, बुधबार

पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार ११:१०


९ मंसिर, काठमाडौं । चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ ।

राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गरे। ‘पाण्डा बुक कर्नर’ अन्तर्गत शिक्षा, संस्कृति, भाषा, साहित्यलगायत विधाका पुस्तक दिइएको हो ।

यस वर्ष लमजुङको बालआर्दश उच्च मावि, काठमाडौं ठमेलको सिद्धिगणेश उच्चमावि, काठमाडौंकै एलआरआई विद्यालयलगायतले ‘पाण्डा बुक कर्नर’ प्राप्त गरेका छन् ।

समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले चीन सरकारको यस प्रकारको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य जीवन्त रहने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले २१औँ शताब्दीको चुनौती सामना गर्न शिक्षाका क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा गरेको जनाउँदै गुणस्तरीय र प्रभावकारी शिक्षामा चीनसँगको सहकार्यले रोजगार सिर्जना तथा विकास र समृद्धिमा योगदान गर्ने बताए ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान र नेपाली विद्यार्थीको शैक्षिक विकासमा चिनियाँ दूतावासले उच्च महत्व दिएको बताए । राजदूत यान्छीले पाण्डा बुक कर्नर नेपालका विद्यार्थीको शैक्षिक विकासको लागि स्थापित एक महत्वपूर्ण सहकार्यको क्षेत्र रहेको बताए । उनले आउँदा दिनमा विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा पनि सहकार्य र सहयोग बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माले पाण्डा बुक कर्नरमार्फत नेपाल र चीनबीचको सांस्कृतिक र शैक्षिक सम्बन्ध जनस्तरमा थप विस्तार भएको धारणा राखे। सो अवसरमा एलआरआई विद्यालयका प्रधानाध्यापक डा देवकान्त जोशी, बालआर्दश उच्च माविका प्रधानाध्यापक रामकृष्ण भण्डारीलगायतले धारणा राखे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा