१३ माघ २०७८, बिहीबार
बढुवा
सशस्त्र प्रहरी

सशस्त्रको एसएसपी बढुवामा देउवाकाे अवरोध हट्यो, यसरी भयाे ११ जनाको बढुवा

प्रकाशित मिति :  २१ मंसिर २०७८, मंगलवार ११:०२


२१ मंसिर, काठमाडौं । लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

एसएसपी भोजराज शाहको अवकाशसँगै एसएसपी बढुवाको बाटो खुलेको थियो । लामो समयदेखि रिक्त रहेको एसएसपीमा प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईका कारण रोकिएको बढुवामा यसपटक भने उनी आफै पर्ने भएपछि उनले अवरोध गरेका थिएनन् ।

एसएसपीमा बढुवा हुने एसपीहरु प्रविण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिमिल्सिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल र दीपेन्द्र कुँवर (ख) रहेका छन् । यसअघि २५ पद खाली हुँदा १५ पदका लागि मात्रै एसएसपीमा बढुवा निकालिएको थियो । त्यसबेला सबै पदमा बढुवा निकाल्न खोज्दा ११ औं नम्बरमा रहेका कुँवर नपर्ने भएपछि देउवको सोर्सले बढुवा रोकेका थिए ।

त्यतिबेला एसपीद्वय उद्धव न्यौपाने र दीपेन्द्र कुँवर (ख) का कारण कामु एसएसपीको बढुवा रोकिएको थियो । न्यौपाने हाल प्रधानमन्त्री कार्यालय तथा यसअघि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेका दाजुभाइ हुन् । कुँवर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई हुन् । न्यौपाने र कुँवर सिंसं २ नम्बरका एसपी हुन् । हाल न्यौपाने भक्तपुर गणमा कार्यरत रहेका छन् । सशस्त्र प्रहरीमा सबैभन्दा बढी कमाण्ड गर्ने न्यौपानेले तत्कालीन गृहसचिव न्यौपानेको सोर्समा सशस्त्र प्रहरीको बढुवा रोकेका थिए । हाल कुँवर पर्ने भएपछि उनको केही जोड चलेन ।

उनीहरुको ब्याचमा कुँवर ११ नम्बरका एसपी हुन् भने न्यौपाने १२ औँ नम्बरका हुन् । आजीपी शैलेन्द्र खनाल, गृहसचिव न्यौपाने र भानु देउवामार्फत दबाब दिएर कामु एसएसपी बनाउनबाट रोक्दा १० वरिष्ठ एसपीको वृत्ति विकासमा असर परेको थियो । अहिले कुँवर बढुवामा पर्ने भएपछि मात्रै बढुवामा सिफरिस गरिएको छ । सशस्त्रमा कामु एसपी बनाउँदा वरिष्ठता मिच्न पाइँदैन ।

कामु एसएसपी बनाएमा आफूहरु छुट्ने र पछिल्लो ब्याचमा पर्ने भएकाले नियमित बढुवामा अघिल्लो नम्बरमा पर्ने र भावी नेतृत्वमा पुग्ने दाउमा कुँवर र न्यौपाने लागेका थिए । तर न्यौपाने भने परेनन् । उनीहरुको स्वार्थका लागि १० पद खाली हुने अवस्था हुँदाहुँदै दबाबमा विगत एक वर्षदेखि बढुवा रोकिएको थियो । कुँवरले भानु देउवाकै सोर्सकै आधारमा आर्मीको स्टाफ कलेजमा तालिम गरेका छन् । उनले सशस्त्र प्रहरीको स्टाफ कोर्समा नाम निकाल्न सकेका थिएनन् । अकुत कमाइसकेका एसपी उद्धव न्यौपाने पनि कमाण्डबिना बस्न नसक्ने अधिकृतका रुपमा चिनिन्छन् ।

बदनाम गर्नेलाई पुरस्कार

बाँकेको ब्यारेकमा झण्डै डेढ दशकअघि भएको विद्रोहका मुख्य कारक मानिएका हालका डीएसपी शेरबहादुर अधिकारीलाई संगठनले पुरस्कार दिएको छ । हाल बढुवाका लागि चलखेल गरिरहेका अधिकारीलाई यसपटक तक्मा दिइएको हाे ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आइसकेपछि बाँकेको शमशेरगञ्ज गणमा सिपाहीले पहिलो विद्रोह गरेका थिए । त्यतिबेला अधिकारी त्यहाँको क्वार्टर मास्टर्स थिए । उनी राशन व्यवस्थापनको कमाण्डर इन्सपेक्टर थिए । त्यतिबेलाको सिपाही विद्रोह नै कमसल रासनको कारण भएको भन्ने गरिएको छ । उनको कमाण्ड रहेको बेला कमसल राशन दिएपछि सिपाहीले विद्रोह गरेका हुन् ।

कम गुणस्तरको रासन खुवाएको गुनासोलाई सम्बोधन नगरेपछि सिपाहीले विद्रोह गरेर कमाण्डेण्ट एसपी हरिशंकर बुढाथोकीलाई निर्घात कुटेका थिए । उक्त घटनामा धेरैको जागिर गएको थियो । बाँकेमा उक्त काण्ड हुँदा अधिकारी भने भागेका थिए । सशस्त्रले त्यसपछि उनलाई ५ वर्ष बढुवा रोक्का गरेको थियो । अनेक दाउ लगाउँदै अधिकारीको बढुवा रोक्का पछि फुकुवा भएको हो ।

अहिले उनी डीएसपी भएका छन् भने जासुसी गर्ने टीम इन्टेलिजेन्सको इञ्चार्ज भएका छन् । विना भरपाई लाख लाख खर्च गर्न र छुट्टै लेखाअधिकृत राखेर रकम सञ्चालन गर्ने त्यो विभागमा कार्यरत अन्य कर्मचारीहरु भने खाजा खान नपाएर भौतारिदा पनि उनी त्यही बसेर हाकिमको चाकडीमा रमाउने गरेका छन् । विभिन्न पत्रपत्रिकामा आएका समाचारलाई सँगालेर सूचना तयार पारी दिन कटाउने मात्रै उनको काम रहेको छ । उनी अहिले जसरी पनि बढुवा हुनुपर्छ भन्दै शक्तिकेन्द्र धाइरहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा