१३ माघ २०७८, बिहीबार
एमसीसी
राजनीति

देउवालाई छलेर गठबन्धनका तीन नेताहरुबीच एमसीसीबारे छलफल

प्रकाशित मिति :  २२ मंसिर २०७८, बुधबार १९:३३


२२ मंसिर, काठमाडौं । सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलेर छुट्टै बैठक गरेका छन् । प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबुल गर्ने जनाएपछि सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताहरुले छुट्टै छलफल गरेका हुन् ।

२८ मंसिरदेखि संसदको बैठक बोलाइएको, न्यायालयभित्रको विवाद थाती रहेको र आगामी माघ १२ मा राष्ट्रियसभा चुनावलगायतका विषयमा दलहरुबीच आन्तरिक छलफल भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भटटराईबीच भेटघाट भएको हाे ।

बुधबार साँझ सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार तीन नेताका बीचमा भेटवार्ता धेरै लामो नभए पनि संसदमा एमसीसी पेश भए के गर्ने भन्ने बारेमा छलफल भएको थियो ।

छलफलका विषय र भेटघाटबारे नेताहरुले कही कतै औपचारिक जानकारी गराएका छैनन् । सत्ता गठबन्धन दलकै अर्काे मुख्य घटक कांग्रेसको महाधिवेशन तयारी चलिरहेको र माओवादी केन्द्रले पनि राष्ट्रिय सम्मेलनको तयारीका लागि अध्यक्ष प्रचण्ड दस्तावेज लेखनमा लागिरहेका बेला माधव नेपाल, प्रचण्ड र बाबुराम भटटराईका बीचमा भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटवार्तामा दलहरुबीचको आगामी सहकार्य र एकताका विषयमा पनि केन्द्रित रहेर कुराकानी भएको बताइएको स्रोतले जनाए पनि त्यो विषय अनुमान मात्रै भएको अन्य दलका नेताहरुले नेपालबहस डटकमलाई बताएका छन् ।

‘आजको भेट एमसीसीबारे केन्द्रित भएको हो प्रधानमन्त्रीले एमसीसी संसदमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई निर्देशन दिएका छन् तर उनले मानेका छैनन् । यहाँनिर समस्या आउनसक्छ भन्दै नेताहरुबीच सघन रुपमा छलफल भएको हो’, स्रोतले नेपालबहस डटकमसँगकाे कुराकानीमा भन्यो । प्रधानमन्त्री देउवाले जसरी पनि संसदमा एमसीसी पेश गर्ने जनाएका छन् भने प्रचण्ड र माधव नेपालले परिमार्जनसहित पेश गर्नुपर्ने धारण सार्वजनिक गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा