६ माघ २०७८, बिहीबार
कारबाही
खोज / विशेष

दाहाल र बतास समूहलाई कारवाही गर्न अख्तियार र प्रहरीलाई पत्राचार

प्रकाशित मिति :  २८ पुष २०७८, बुधबार २२:३४


२८ पुस, काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने विषयमा राजनीतिक दलका नेताहरुलाई जोगाएर बनाएको प्रतिवेदनलाई पर्यटन मन्त्रालयले कार्यान्वयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित बतास समूहको बी म्यानेजेन्टका संचालकलाई सार्वजनिक सम्पदा विरुद्धको कसुर गरेको भन्दै कारबाही गर्न प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको हो ।

‘तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराई र सचिव यादव कोइरालाई दोषी नदेखाई तयार गरेको प्रतिवेदन कार्यान्यन गर्न प्रहरी र अख्तियारलाई पठाइएको छ’, मन्त्रालय स्रोतले भन्यो । तर मन्त्रालयका प्रवक्ता डा.टोकराज पाण्डेका अनुसार कार्यदलले बुझाएको प्रतिवेदन अनुसार कारवाहीका लागि पठाइएको हो ।

बुधबार मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाही गर्न आग्रहसहितको पत्र प्रहरी प्रधान कार्यालय र अख्तियारमा पठाएको हो ।

प्रवक्ता पाण्डेका अनुसार, नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिनर क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले प्रहरी प्रधान कार्यालय र अख्तियारलाई पत्र पठाएको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १४७ ले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृती बिना अतिक्रमण, भोगचलन गर्न नपाइने भनेको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ब्यवस्था छ ।

मन्त्रालयले प्रहरीलाई निवर्तमान कार्यकारी निर्देशक दाहालले सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेकाले’ कारबाही गर्न पत्र पठाएको छ । उक्त पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बी म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको भन्दै कारवाहीको लागि पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको हो ।

पयर्टनमन्त्री प्रेम आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय मंगलबार दिउँसो गरेर बेलुकी कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नती कार्यक्रमका लागि धनगढीतर्फ लागेका थिए । व्यापारिक घराना बतास समूहसँग मिलेमतोमा क्याफे सञ्चालनको सम्झौता गरेको सहसचिवस्तरीय छानबिन समितिबाट देखिएपछि मंगलबार नाराणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका थिए ।

विवादमा तानिएको बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको थियो । अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । उनको विज्ञप्ति आउनुअघि नै मन्त्रालयले कारवाहीका लागि पठाएको जनाएको छ ।

पोखराको बतास समूह अन्र्तगतको बी म्यानेजमेन्ट प्रालिलाई समितिले तीन वर्षका लागि संचालन गर्न ७ हजार ९ सय २६ वर्गफिट (१ रोपनी ७ आना) जग्गा तथा क्यान्टिन घर बहालमा दिएको थियो । बी म्यानेजमेन्टले प्रति वर्गफिटको १ सय ५ रुपैयाँका दरले खाली जग्गा क्यान्टीन घर मासिक २ लाख २१ हजार रुपैयाँमा बहाल दिने सर्तमा लिएपछि विवाद उत्पन्न भई मन्त्रालयले छानवीन समिति गठन गरी वतास समूह र दाहाललाई दोषी देखाएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा