६ माघ २०७८, बिहीबार

कालीकोटमा कोरोना संक्रमणको जोखिम बढ्दो

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १६:२०


३० पुस, मान्म । कालीकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो ।

कालीकोटमा आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

जिल्लामा कोभिड–१९ संक्रमण तीव्ररुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए । “पछिल्लो चरणमा कोभिड–१९ बाट संक्रमितमध्ये छ महिला र सात पुरुष रहेका छन्”, उनले भने, “विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहर भयावहरुपमा लिएको छ ।”

कोभिड–१९ का सङ्क्रमित विभिन्न होमआइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिए । जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । हालसम्म कालीकोटमा कूल जनसङ्ख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसङ्ख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएको निमिक्त प्रमुख महतले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा