३ जेष्ठ २०७९, मंगलवार
संगठनभित्र विवाद
राजनीति

युवा संघमा जिम्मेवारी हेरफेर, असन्तुष्टका माग सम्बोधन भएनन

प्रकाशित मिति :  ५ माघ २०७८, बुधबार २०:३५


५ माघ, काठमाडौं । नेकपा (एमाले) निकट युवा संघभित्र इन्चार्ज महेश बस्नेतले पेलेरै आयोजक कमिटी बनाएका छन् । पुस २७ र २८ गते बसेको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएका हुन् । सो कमिटीमा नअटाएका कतिपय युवा संघका नेताहरुले बैठक बहिष्कार गरेको भएपनि उनीहरुलाई वेवास्था गरेर बस्नेतले आयोजक कमिटी घोषणा गरेका थिए ।

बस्नेतले बनाएको आयोजक कमिटीमा नअटाएहरुले समानान्तर कमिटी बनाउने चेतावनी दिएको भएपनि उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् । संगठनभित्र विवाद बढेपछि युवासंघले मापदण्डसहित कमिटी गठन गरिएको भन्दै स्पष्टीकरण दिएको छ । बुधबार संघले बुधबार कमिटी गठन गर्न अपनाएका ८ बुँदे मापदण्डसहित नै स्पष्ट पारेको भएपनि त्यसैमा विवाद बढेको हो ।

पोखरामा सम्पन्न सचिवालय बैठकले किरण पौडेल संयोजक र सन्जि झा तथा क्रान्ति बुर्लाकोटी सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । युवा संघका इन्चार्ज महेश बस्नेतले आयोजक कमिटी तथा केन्द्रीय कार्यालयको नाम वाचन गर्दा धेरै नेताहरुले बहिष्कार गरी हिडेका थिए ।

युवा संघले संयोजक र सहसंयोजक बाहेक अरु सबैलाई आयोजक कमिटी सदस्य बनाएको छ । पूर्व पदाधिकारीहरुलाई विभिन्न विभाग र प्रदेश इन्चार्जको जिम्मा दिइएको छ । बैठकले क्षितिज थेबेलाई संगठन विभाग, पुष्प श्रेष्ठलाई युथफोर्स विभाग, रमेश आचार्यलाई सकुल तथा नेतृत्व विकास विभाग र रामजी सापकोटालाई कार्यालय विभाग प्रमुखको जिम्मा दिएको छ ।

यस्तै सम्राट गौचन प्रकाशन विभाग,महाराज गुरुङ प्रचार विभाग, सुनिता कार्की मानव अधिकार विभाग,उर्मिला सुनुवार महिला विभाग,सीता सुवेदी पर्यटन विभाग र बिष्णुराज बिसी कानून विभाग प्रमुख बनाएका छन् । संघले राकेश लामालाई स्वयंसेवक विभाग,हिमेश केसीलाई नर्विाचन आयोग प्रमुख तोकेको छ । निर्वाचन आयोग उपप्रमुख बाबु छतकुली छन् भने दिनेश थापा अनुशासन आयोग प्रमुख र प्रकाश लामिछाने लेखा आयोग प्रमुख बनाइएको छ ।

महाधिवेशनको मुखमा युवा संघले प्रदेश इन्चार्जहरु पनि हेरफेर गरेको छ । जस अनुसार प्रदेश १ मा अन्जना अधिकारी,मधेश प्रदेशमा सत्यनारायण यदाव,वागमतीमा अमित लामा,गण्डकीमा सन्तोष रावल,लुम्बिनीमा सुमन पुरी, कर्णालीमा राजन थापा,सुदूरपश्चिममा विसनाथ चन्द र अन्तर जिल्ला इन्चार्जमा बलराम बेल्बासे तोकिएको छ । युवा संघको विवाद बढ्दै गएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधान गर्न निर्दैशन दिएपछि बस्नेतले हतार हतारमा मापदण्डकै आधारमा आयोजक कमिटी बनाइएको भन्दै मापदण्ड सार्वजनिक गरेका हुन् ।

आयोजक कमिटी बनाउदाको मापदण्ड

१) पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाईएको ।

२) उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

३) पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

४) नेतृत्वले पटकपटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

५) संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

६) महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुर्ण पालना गरिएको । जसअन्तर्गत ः–

१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला

जनजाति तर्फबाट ६ खुल्ला ४ महिला
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
उत्पिडित÷दलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला
अपांग (विशेष क्षेत्र) तर्फबाट १ खुल्ला १ महिला
विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला
खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला
कार्यालय कमिटी १० खुल्ला ३ महिला

७) नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०% मनोनीत (मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको) र ५% समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।

८) पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु ( लेखा,अनुशासन र निर्वाचन) , केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा