पचास प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २०:४३:६
♦ राजु विश्वकर्मा
६ माघ, जनकपुर । मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण ‘दोस्रो मात्रा’ खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बढ्दै गएको कोरोना संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो । गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झले जानकारी दिए ।
उनका अनुसार पूर्ण खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ । यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा मत्र खोप लगाउनेको सङ्ख्या भने करिब ५९ प्रतिशत छ ।
त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताए । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहका भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउनेको सङ्ख्या बढी छ । निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुई प्रतिशतले खोप लगाइसकेका छन् । “यो सङ्ख्या प्रदेशगत हिसाबले तेस्रो हो”, उनले भने, “यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउनेमा तेस्रो प्रदेश भएका हौँ । यसलाई अझै गति दिन निरन्तर प्रयास भइरहेको छ । ”
सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन नसके पनि विगतको भन्दा अहिले खोप लगाउनेको दरमा वृद्धि भएको जनाइएको छ ।
यस्तै पुसको दोस्रो सातादेखि संक्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिमी बढेको देखिएको हो । प्रदेशको आठवटै जिल्लामा हिजो एकै दिन २०० नयाँ संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनको अवधिमा प्रदेशमा ४०७ नयाँ संक्रमित थपिएका छन् । हिजो एकैदिन प्रदेशभरि २०७ नयाँ सक्रमित थपिँदा धनुषामा ९१, सप्तरीमा ६५, सिरहामा २६, सर्लाहीमा आठ, बारामा १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसअघि अस्ति मंगलबार एकै दिन सप्तरीमा ६३, धनुषामा ५१, सिरहामा ३३, बारामा १६, सर्लाहीमा दुई र सबैभन्दा कम पर्सामा एकजना गरी २०० नयाँ संक्रमित थपिएका थिए ।
योसँगै प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या करिब ८९० पुगेको छ । संक्रमितमध्ये तीन जनाको पर्सा जिल्ला अस्पतालको आइसीयूमा र दुई जनाको सिरहा अस्पतालमा उपचार भइरहेको तथा बाँकी संक्रमित एकान्त बासमा रहेको निर्देशक झाले बताए । पछिल्लो तीन दिनमा कोरोना संक्रमणका कारण धनुषा र सप्तरीमा एक–एक महिलाको मृत्यु भएकोे थियो ।
यस्तै कोरोना महामारी सुरु भएयता यस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ३९ हजार ५६८ संक्रमित हुँदा उपचारपश्चात ३७ हजार ६३६ घर फर्किएका छन् भने एक हजार ४२ को मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । कोरोना संक्रमणको ग्राफ पहिलो र दोस्रो लहरकै झै बढ्दै गए पनि संक्रमितमा अघिल्लो संक्रमणको जस्तो स्वास्थ्य जटिलता भने नदेखिएको चिकित्सकले बताएका छन् ।
“मंसिरको अन्तिमदेखि पुसको दोस्रो सातासम्म कोरोना संक्रमणदर स्थिर थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका डा रञ्जितकुमार झाले भने, “तर पछिल्लो केही सातादेखि दैनिक कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो तर अहिलेसम्म धेरैमा त्यस्तो जटिलता देखिएको छैन तर स्वास्थ्य मापदण्ड पालना नगरेमा कोरोना संक्रमण अझै फैलिन सक्ने तथा ठूलै समस्या उत्पन्न हुनसक्ने सम्भावना छ।”
“एकातिर छिमेकी मुलुक भारतमा तीव्रगतिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ भने अर्कोतर्फ उताबाट दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू घर फर्किरहेकाले कोरोना संक्रमण भयावह हुनसक्छ”, डा झाले भने, “यस्तो दयनीय अवस्था आउन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले नाकामा निगरानी र स्वास्थ्य परीक्षणमा कडाइ गर्नु जरुरी छ ।”
साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन र खोपलाई तीव्रता दिनु आवश्यक छ । यता कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी धनुषा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले स्वास्थ्य सर्तकतामा कडाइ गर्ने निर्णय गरेको छ । भारतीय सीमासँगै जोडिएको सीमानाकामा हेल्थ डेक्स स्थापना गरी एन्टिजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
जिल्लाको जनकनन्दनी गाउँपालिकाको इनर्वा, खजुरी गाउँपालिकाको महुवास्थित भारतीय सीमानाकामा हेल्थ डेक्स स्थापना गरिसकेको र नगराइन गाउँपालिकाको जटहीमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ थियो । यसबाहेक अग्रपङ्क्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतलाई बुस्टर डोज खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै प्रजिअ पौडेलले माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य लागू गराउन जिल्लास्थित सबै निकायलाई पत्राचार गरिसकेको जानकारी दिए ।
मधेश प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि १५ शय्या, अस्पतालमा ३४६ आइसोलेशन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयू शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ थान अक्सिजन सिलिन्डर मौज्दात रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभर१२ वटा पीसीआर परीक्षण उपकरणबाट कोभिड–१९ जाँच हुँदै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार