२७ वैशाख, हेटौंडा । नेकपा माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसिएल मकवानपुरले स्थानीय तह निर्वाचनमा निर्वाचन बुथहरूको सुरक्षाको लागि वाइसीएल खटाउने भएको छ ।
निर्वाचनलाई भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्न वाइसिएल खटाउन लागेको वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले बताए ।
प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधि छान्ने अधिकारको सुरक्षा गर्न वाइसीएल नेपाल लागि पर्ने उनी बताउँछन् । जिल्लामा रहेको एक सय ६५ मतदान स्थलहरूमा करिब ६ हजारको हाराहारीमा वाइसीएल खटिने उनले बताए ।
जिल्लामा ‘एक बुथ २५’ युथ भन्ने नारासहित वाइसिएल सुरक्षामा खट्न लागेको उनले बताए । जिल्लामा रहेका संवेदनशिल स्थानहमा भने ५० देखि ६० जनासम्म खटाइने उनको भनाइ छ ।
बुथको सुरक्षा सरकारले गर्छ : निर्वाचन अधिकृत
जिल्लाका बुथहरूमा वाइसीएल खटाएमा कारवाही गरिने मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन् । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारले नै सुरक्षाकर्मी खटाएको उनको भनाइ छ ।
‘त्यसरी जो बस्न मन लाग्यो त्यसले सुरक्षा गर्न पाउने भए किन राज्यको अर्बौ खर्च गर्नुपर्थ्यो र ? ’ उनले भने ‘मकवानपुरमा त के अन्त पनि यस्तो व्यवस्था लागु हुँदैन । अटेरी गरेमा कारवाही गर्छौं ।’