५ जेष्ठ २०७९, बिहीबार

तुलसीपुर १७ मा जेठ ३ गते मतदान हुने

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार २०:१६


२७ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सन्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही उपचारको क्रममा उनको निधन भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि स्थानीय निर्वाचन कार्यालयले ३० गते हुने मतदाता कार्यक्रमलाई स्थगन गरेर ३ गतेलाई तय गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।

उनले बुधवार र बिहीबार चुनावी प्रक्रियाको सबै काम पुरा गर्ने गरी कार्यतालिका प्रकाशन गरेको बताए । सम्बन्धित दलको आधिकारिक उम्मेदवारको मनोनयन हुँदै चुनाव चिन्न दिनेसम्मको काम सक्ने तयारी भएको बताए ।

‘बिहीबार ५ बजेसम्म यो काम सक्ने कार्यतालिका सार्वजनिक गरिसकेका छौ, उनले भने, ‘त्यसपछि चुनावी अभियान उम्मेदवारले गर्नुहुन्छ । अनि ३ गते मतदान हुन्छ ।’ अर्यालले वडा नम्बर १७ को मतदान नसकिँदासम्ममा अन्य वडाको मतगणना पनि नगरिने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा