४ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका निवर्तमान आईजीपी पुष्पराम केसीले संग्राहलय बनाउने नाममा ३० लाख भन्दा बढी अनियमितता गरेको आराेप लागेकाे छ । ३२ बर्षे कार्यकाल बनाउन घरजाने अन्तिम दिनसम्म पनि जोडबल गरेका सशस्त्र प्रहरी बलका निवर्तमान आईजीपी केसीले संग्रहालय बनाउने नाममा झण्डै ३० लाख रुपैयाँ खर्च गरेको रहस्य खुलेको हो ।
१९ दिन आईजीपी हुँदा व्यापक मात्रामा संगठन सुधारको सस्तो प्रचार गरेका उनले बिना टेण्डर र बिना कोटेशन मनमौजी ढंगले रकम दुरुपयोग गरेकाे आराेप सशस्त्र प्रहरी भित्र चर्चा हुने गरेकाे छ । संग्रहालय बनाउने भन्दै प्रहरीको प्राविधिक सईबाट डीआईजी बनेका कालिदास धौबजीले समेत रकम दुरुपयोग गरेकाे बताइन्छ । संग्राहलयमा केही पूर्व आईजीपीका ड्रेस र दुई चार थान फोटो झुन्ड्याइएको छ । त्यतिको लागि जाँदाजादै लाखौं रुपैयाँ दुरुपयोग भएको हाे ।
यता आफ्नै पिए बिनोद कार्की र उमेश थापाको ब्यक्तिगत ल्यापटपमा १९ दिन विभाग चलाएका केसीले अनुगमन ईकाइ गठनको नाममा मातहत ईकाइमा आतंकनै मच्चाएका थिए । कार्य र मानवश्रोत बिभागलाई निस्तेज पार्दै सोही ईकाइले देशभरबाट पिटी र रोलकल हाजिर पठाउन लगाएर विभागीय काम कारबाही नै प्रभावित पारिएको थियो ।
त्यति मात्र होइन एकेडेमी बस्दा राशनको पैसामा मस्ती गरेका केसीले हरेक दिन देशभरिका युनिटको राशन हिसाब मागेर आतंक सृजना गरेको श्रोत बताउछ । यता नयाँ बढुवा भएका डीएसपीहरुको पदस्थापन समेत ब्यक्ति ब्यक्तिलाई सोधेर दुई जना पिएले मिलाउने प्रयास गरेका थिए तर त्यो सम्भब नभएपछि केसी पदस्थापन गर्न समेत असफल भए । उनले डीएसपी बढुवामा समेत आफ्नै पिए कार्कीलाई एक नम्बरमा ल्याएका थिए । आईजीपी सचिवालयमा रहेको बाङ्केट हल समेत मासेर संग्रहालयको नाममा रकम दुरुपयोग हुँदा सचिवालयमा हुने सामान्य कार्यक्रममा चिया खाने ठाउँसम्म नभएको श्रोतले जनाएको छ ।
यता केसी घर जाने दिनमा सरकारी निवासबाट समेत थुप्रै सामान हराएको श्रोत जनाएको छ । आईजीपी चढ्ने तीन तारे गाडी २४ घण्टा सचिवालय अगाडि राखेर केसी चाहिँ प्राइभेट गाडीमा हिंड्ने गरेका थिए । कहिले भिभान्ता त कहिले एभरेस्ट होटलमा बसेर ३२ बर्षको लबिङमा लागेका उनले यसमा डीआईजी सीपी गौतम, अभि खत्री, एसएसपी युवराज अर्याल र एसपी होम ज्ञवालीलाई परिचालन गरेका थिए ।
सचिवाललाई समेत बाइपास गरेर २ वटा ल्यापटपमा संगठन चलेको श्रोत बताउछ । त्यसबेला बेलुका ५ बजेपछि सचिवालय चलायमान हुने गरेको र रात परेपछि गौतम, अर्याल र ज्ञवाली लगायतको इन्ट्री हुने गरेको थियो ।
१९ दिन आईजीपी हुँदा केसीले एसएसपी भन्दा माथिको दर्जाले प्रयोग गर्ने हरियो मसि समेत गृहका केही ब्यक्तिलाई खुशी पार्न हटाएका छन् भने सिन्धुपाल्चोकको गण हटाएर आफ्नै जिल्ला नुवाकोटमा सार्ने प्रयास समेत गरेका थिए । त्यतिमात्र होइन हुम्ला, जुम्ला, पर्वतको गणलाई पनि हटाउन सिफरिस गरेका थिए । त्यो सिफरिस अहिले गृहमा अड्किएको छ ।