४ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद् योगेश भट्टराईले पेट्रोलियम पदार्थको वैकल्पिक मार्ग नखोजे देश चरम मुल्यबृद्धिमा फस्ने बताएका छन् ।
उनले यसको वैकल्पिक उपाय र मूल्य नियन्त्रणदेखि आयात कम गर्ने विषयमा सरकारको ध्यान नजानु दुखद भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले मूल्यवृद्धि नियन्त्रणदेखि पेट्रोलियम पदार्थको वैकल्पिक उपायबारे सरकारको प्राथमकितामा नपरेको बताए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै वस्तुको भाउ बढ्ने र यसले विपन्न समुदायको जीवन कष्टकर हुने भन्दै उनले पेट्रोलियम पदार्थको वैकल्पिक उपायदेखि मूल्यवृद्धि नियन्त्रणको उपाय अवलम्बन गर्नुपर्ने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशको आर्थिक संकट नियन्त्रण गर्ने उपाय अवलम्बन नगरेको भट्टराईले बताए ।
कोरोनाभाइरसको महामारीका बेला एमालेको तत्कालीन सरकारले दातृ राष्ट्र र निकायको सहयोग लिएर देशको आर्थिक अवस्थालाई बलियो बनाए पनि अहिले सरकारले देशको आर्थिक अवस्था सुधार्न प्रयास नगरेको पनि उनको आरोप छ ।
उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् ।
‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने ।
प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।