४ जेठ, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिकामा नेपाली कांग्रेसको सम्पूर्ण प्यानल विजयी भएको छ । बुधबार साँझ सम्पन्न गाउँपालिकाको मतगणनाको अन्तिम परिणाम आउँदा अध्यक्ष, उपाध्यक्ष र पाँच वटै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकामा दुईजना खुला सदस्य र एकजना दलित महिला सदस्य बाहेकका सम्पूर्ण सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय पकाहामैनपुर गाउँपालिकाले जनाएको छ । खुला र महिला सदस्यमा जसपाका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा सुरेश प्रसाद मेहता निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल ‘जसपा’ का उम्मेदवार एवम् निवर्तमान अध्यक्ष विजयकुमार चौरसियालाई २ हजार १ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै मेहता अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत कृष्णाप्रसाद देवकोटाले जानकारी दिए ।
मेहताले ४ हजार ६ सय ८५ मत ल्याउँदा चौरसियाले मात्र २ हजार ५ सय २९ ल्याएका छन् । त्यस्तै नेकपा एमालेका राजेश सहनी १ हजार २ सय १७ मात्र मत प्राप्त गरेर तेस्रो भएका छन् । उपाध्यक्षमा कांग्रेसकी सरफुन नेशा निर्वाचित भएकी छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी निर्मला कुमारी चौरसियालाई २ हजार २ सय ६९ मतको ठूलो अन्तरले पराजित गर्दै नेशा निर्वाचित भएको निर्वाचन अधिकृत देवकोटाले बताए ।
नेशाले ४ हजार १ सय ४१ मत ल्याएकी छन भने चौरसियाले १ हजार ८ सय ७२ मत प्राप्त गरेकी छन् । जसपाकी जैबुन नेशा १ हजार ५ सय ७९ मत ल्याएर तेस्रो भएकी छन् छन् ।
पकाहामैनपुर वडा नम्बर १ मा कांग्रेसका विनोद महेता ९१०७३०, वडा नम्बर २ मा मुकुट प्रसाद चौहान ९४५९०, वडा नम्बर ३ मा सञ्जय प्रसाद चौहान ९८१९०, वडा नम्बर ४ मा ढेडी प्रसाद याद ९६७३० र वडा नम्बर ५ मा वलिराम प्रसाद वरै ९६८२० मत ल्याएर निर्वाचित भएका छन् ।