५ जेठ, स्याङ्जा । एमालेले विजय हासिल गरेको उपलक्ष्यमा बिरुवा गाँउपालिका मेथाभूरुङमा आयोजित भोजमा बाजा बजाउन बोलाइएका दलितमाथि एमाले कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् ।
भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा विजयी एमालेबाट पालिका अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवरद्धारा आयोजित विजय भोजमा बाजागाजा गर्न बोलाइएका वडा नं. ८ का दमाईमाथि कांग्रेसलाई भोट हालेको निहुँमा कुटपिट भएको पीडित मध्यका एक ढालबहादुर परियार ‘जुठे’ले नेपालबहसलाई जानकारी दिए ।
हिजो मंगलबार साँझ अध्यक्षमा निर्वाचित कुँवरको घर मेथाभूरुङमा आयोजना गरिएको भोजमा बाजा बजाउन निम्त्याइएका जुठे भनिने ढालबहादुर परियार, काजी परियार र ताराबहादुर परियारमाथि सत्ताउन्मादमा उम्लिएका एमाले कार्यकर्ताहरु मालमुलका भालु भनेर चिनिने व्यक्ति, बिरुवा बजारका नशिप मिया र टोड्के मुलाबारीका शिशिर गुरुङले हातपात गर्दै मुक्का प्रहार गरेका थिए ।
सो आक्रमणबाट तारा परियारको मुखमा गम्भीर चोटपटक लागेको छ भने काजी परियारलाई पनि अनुहारमा सिसाले हानेर रगताम्य बनाइएको तथा अन्यलाई धम्की दिइएको बताइएको छ । पीडितहरु यतिबेला सो घटनाको उजुरी गर्न प्रहरीको जान लागेको बताइएको छ । बिरुवा गाँउपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेले थोरै मतान्तरले मात्र जित हात पारेको छ । घटना बारे अध्यक्ष कुँवरसँग जानकारी लिन नेपालबहसले सर्म्पक गर्दा उनको फोन उठेन ।
दलितमाथि भएको यो गम्भीर घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्न नेपाली कांग्रेसका यूवा नेता एवं महाधिवेशन प्रतिनिधि इन्द्र बहादुर रिजालले माग गरेका छन् । घटनाको प्रहरी प्रशासनले यर्थाथता छानविन गर्नुपर्ने, कांग्रेसलाई भोट हालेकै निहुँमा बाजा बजाउन बोलाएर किन कांग्रेसलाई भोट हालिस् भन्दै थर्काउने र कुटपिट गर्नु सत्ताउन्मादको पराकाष्टा भएको यूवानेता रिजालले बताए ।
यस्तै दलित नेता एवं नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाका सदस्य कृष्ण बस्यालले सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै “दलितहरु नेपाली कांग्रेस हुन नहुने हो ?” भन्ने प्रश्न उठाएका छन् । उनले बिरुवा गाऊँपालिकाका नवनिर्वाचित अध्यक्ष सुर्य कुँवरको घरमा बाजा बजाउन लगेर कुटपिट भएको जानकारी हुन आएको बताउँदै दलित देखेर हेप्ने कम्युनिष्टको यो संस्कार कहिलेसम्म ? भन्ने प्रश्न गरेका छन् । अब नेपाली कांग्रेसले यसको समीक्षा गर्न जरुरी छ र अब कसरी अगाडी बढ्नु पर्छ हामीलाई थाहा छ, उनले भनेका छन् ।
त्यस्तै नेपाली कांग्रेस स्याङ्जाका अर्का जिल्ला सदस्य चन्द्रकान्त पोखरेलले पनि साच्चै नै कांग्रेस भएकै नाउँमा दलितलाई कुट्पिट गरिएकै हो भने साहनुभुतिले मात्रै पुग्दैन, जित्ने बित्तिकै सत्ताको उन्माद लागेकै हो भने हामी गाउँपालिकामै कार्यकक्ष नै गएर बदला लिनु पर्छ । बिरुवा कांग्रेस कमजोर छैन, यसको बदला लिएर छाड्नु पर्छ भनेका छन् ।