१३ असार २०७९, सोमबार
राजनीति

तीन महिला प्रमुखमा उम्मेदवारी, तीनै पराजित

प्रकाशित मिति :  ५ जेष्ठ २०७९, बिहीबार १६:२९


५ जेठ , वालिङ । स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन्।

पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएकी थिईन । नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिईन । विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गरेकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित भएकी छिन् ।

नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेकी रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित भएका छन् । भने पराजित भएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरेकी छिन् ।त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित भएकी छिन् ।

गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी गुरुङले तीन हजार ३४७ मत ल्याएकी थिईन । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिईन ।त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित भएकी हुन । अध्यक्षमा विजयी भएका थापा छ हजार ७०० मत ल्याएर विजयी हुँदै गर्दा राना पाँच हजार ५५ मत ल्याएर पराजित भएकी हुन ।

विसं २०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । यो उनको दोस्रो कार्यकाल हो । यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्रीमात्रै एकल महिला उम्मेदवार बनी विजयी भए पनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जना थिए तर तीनै जना अनुमोदित हुन सकेनन्।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा