२३ जेठ, काठमाडौंं । नेपाली राजनीतिको ऐतिहासिक परिवेशमा आधारित लेखक विश्वराज ढुंगानाको एकांकी संग्रह ‘परलोकको विमर्श’ को विमोचन गरिएको छ ।
उदयपुरको इमानेका जन्मिएर पंचावतीमा माविमा लामो समय शिक्षण गरी अवकाशप्राप्त ढुंंगानाका यसअघि बाल साहित्य, अनुवाद, खण्डकाव्य, उपन्यास तथा पाठ्यक्रममा आधारित पुस्तकहरू प्रकाशित छन् । पंचवती सद्भाव समाज र कटारी विद्यार्थी समाजद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा माधवप्रसाद पोखरेलले ‘परलोकको विमर्श’ विमोचन गरे ।
डा पोखरेलले ढुंंगानामा इतिहासका पात्राहरूलाई गहन अध्ययनसहित यथार्थ नाट्य र रोचकरूपमा प्रस्तुत गर्ने सीप भएको बताए । इतिहासकार डा सुरेन्द्र केसी, प्राज्ञ दिनेशराज पन्त, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली, वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले नेपाली राष्ट्रियताबारे नयाँ पुस्ता उदासिन हुँदै गएको अवस्थामा कृतिको महत्व र सान्दर्भिकताबारे प्रकाश पारेका थिए ।
सो एकांकीमा बौद्ध धर्मको पुनःजागरणकर्ता अमृतानन्ददेखि वामपन्थी पार्टीका भूमिगत नेताकार्यकर्तासमेतलाई जीवित पात्र बनाइ उनीहरूका माध्यमबाट इतिहासको अभिलेख गराइएको छ । कार्यक्रममा उनको कृति ‘नेपाल दर्शन’ को समीक्षा पनि गरिएको थियो ।