१६ असार २०७९, बिहीबार

महङ्गोमा धानको बीउ वितरण गर्ने सहकारीले मुल्य फिर्ता गर्ने

प्रकाशित मिति :  २७ जेष्ठ २०७९, शुक्रबार २१:५८


२७ जेठ, रामपुर ‘पाल्पा’ । अनुदानको धानको बीउ खरिद गरी महङ्गो मुल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ । सहकारीले प्रतिकिलो रु ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बीउ रु ४५ मा किसानलाई बिक्री गरेको थियो ।

‘अनुदानको धानको बीउ महङ्गो मुल्यमा किसानलाई वितरण’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि सहकारीको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले विविध कारणले गर्दा उठाइएको रकम फिर्ता दिने निर्णय गरिएको छ ।

प्रतिकिलो रु दुई ढुवानी खर्च मात्रै लिने, धान वितरणमा परिचालित कर्मचारी खाजा खर्च, भण्डारण खर्च सबै सहकारीले व्यहोर्ने गरी चार रुपैयाँ फिर्ता गर्ने निर्णय भएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताए । उनी भन्छन्, “प्रतिकिलो रु ३९ मा अनुदानमा खरिद गरेर ल्याइएको बीउ रु ४५ मा सहकारीले विक्री गरेका हौँ, समितिको बैठक बसेर रु दुई मात्रै लिने र बाँकी प्रतिकिलोमा रु चार किसानको खातामा नै सहकारीले जम्मा गर्ने निर्णय भएको छ” ।

सहकारीले ढुवानी, भण्डारण खर्च, धान वितरणमा परिचालित जनशक्तिलाई खाजा खर्च, खुल्ला धान विक्री गर्दा पैसा फिर्ता गर्न झण्झटजस्ता कारण देखाउँदै प्रतिकिलोमै रु छ नाफा लिएर बीउ वितरण गरेको हो ।

किसानलाई सहुलियतमा वितरण गर्न ल्याइएको अनुदानको बीउ बढी मुल्यमा बिक्री गरेको थाहा पाएपछि रामपुर नगरपालिकाले लिखित पत्र सहकारीलाई बुझाए पश्चात् रकम फिर्ता दिने भएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउछन्।

रामपुर नगरपालिकाले नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समुह र कृषकलाई वितरण गरेको जनाइएको छ । सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिव २६ टन बीउ वितरण गरिएको छ ।


546
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता